स्याउ लोकप्रिय फलफूलमध्ये एक हो। तपाईंहरूले प्रचलित भनाइ छ- An apple a day keeps the doctor away अर्थात् ‘दिनमा एउटा स्याउ खाए डाक्टरकहाँ जानु पर्दैन’ भन्ने उखान सुन्नुभएकै होला। चिकित्सकहरूलाई जिस्क्याउँदा पनि यो वाक्य निकै प्रयोग गरिन्छ।
तर स्याउ खाँदैमा सबै रोग निको हुने होइनन्, न त तपाईं डाक्टरबाट टाढै रहन सक्नुहुन्छ। बरु, स्वस्थ र सन्तुलित आहारको भागका रूपमा स्याउ खाँदा स्वास्थ्यलाई फाइदा पुग्न सक्छ र डाक्टरसँगको भेटघाट केही दिन पछाडि सर्न सक्छ!
स्याउका विभिन्न प्रजातिको आकार, रङ, बनावट र स्वाद फरक हुन्छ। कुनै स्याउ गुलियो हुन्छन् भने कुनै अमिला। यसको उत्पत्ति मध्य एसियाको क्षेत्रमा भएको मानिन्छ। पछि व्यापार, बसाइँसराइ र खेती विस्तारसँगै स्याउ विश्वका विभिन्न भागमा फैलियो।
स्याउमा सोडियम, बोसो र कोलेस्ट्रोल हुँदैन। यसमा प्रोटिनको मात्रा पनि न्यून हुन्छ। तर यो फाइबर र केही मात्रामा भिटामिन सीको राम्रो स्रोत हो। बोक्रासहितको एउटा मध्यम आकारको स्याउमा करिब २५ ग्राम कार्बोहाइड्रेट, १९ ग्राम प्राकृतिक चिनी, ४ ग्राम फाइबर र ९५–१०० किलोक्यालोरी ऊर्जा पाइन्छ। यसमा विभिन्न लाभदायक वनस्पतिजन्य यौगिक पनि हुन्छन्। वास्तविक पोषण मात्रा स्याउको आकार र प्रजातिअनुसार फरक हुन सक्छ।
स्याउमा प्रशस्त फाइबर पाइन्छ। यसको बोक्रामा पनि फाइबर र लाभदायक वनस्पतिजन्य यौगिक हुने भएकाले सम्भव भएसम्म सफा पानीले राम्ररी धोएर बोक्रासहित खानु राम्रो हुन्छ।
नेपालमा स्याउ उत्पादन हुने प्रमुख जिल्लामध्ये जुम्ला पनि एक हो। उच्च पहाडी भूगोल, चिसो हावापानी र स्थानीय उत्पादनसँग जोडिएको पहिचानका कारण जुम्लाको स्याउले नेपाली बजारमा विशेष स्थान बनाएको छ।
स्थानीय रूपमा उत्पादित स्याउले पोषण गुणस्तर र ताजापन स्वभाविक रुपमा रुपमा हुन्छ । यसका साथै स्थानीय उत्पादन रोज्नुको अर्को फाइदा भनेको किसानलाई प्रत्यक्ष सहयोग पुग्नु र कृषि उत्पादनको मूल्य स्थानीय अर्थतन्त्रमै रहनु हो।
स्याउ खानुका स्वास्थ्य लाभ
स्याउमा पाइने फाइबर, पेक्टिन (Pectin) र फ्लाभोनोइड्स (Flavonoids) जस्ता वनस्पतिजन्य यौगिकले यसको स्वास्थ्यसम्बन्धी फाइदामा योगदान पुर्याउँछन्।
१. लाभदायक वनस्पतिजन्य यौगिक
स्याउमा फाइटोकेमिकल्स (Phytochemicals), पोलिफिनोल्स (Polyphenols) र फ्लाभोनोइड्सजस्ता प्राकृतिक वनस्पतिजन्य पदार्थ पाइन्छन्। यस्ता यौगिकमध्ये केहीले शरीरमा एन्टिअक्सिडेन्टका रूपमा काम गर्छन् र कोषहरूलाई अक्सिडेटिभ क्षतिबाट जोगाउन सहयोग पुर्याउन सक्छन्।
स्याउको बोक्रामा पनि यस्ता लाभदायक यौगिक पाइने भएकाले सफा पानीले धोएर बोक्रासहित खानु उपयोगी हुन्छ।
२. पाचन प्रणाली र कब्जियतमा सहयोग
स्याउमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ। यसमा घुलनशील फाइबर पेक्टिन र अघुलनशील फाइबर दुवै पाइन्छन्।
फाइबरले दिसालाई सहज रूपमा बाहिर निकाल्न सहयोग गर्छ र कब्जियत कम गर्न मद्दत गर्न सक्छ। यसले पेट भरिएको महसुस गराउने भएकाले अनावश्यक रूपमा धेरै खाने बानी नियन्त्रण गर्न र तौल व्यवस्थापनमा पनि सहयोग पुर्याउन सक्छ।
३. मुटुको स्वास्थ्य
स्याउमा पाइने घुलनशील फाइबर, विशेषगरी पेक्टिनले रगतमा खराब कोलेस्ट्रोल (LDL) कम गर्न सहयोग पुर्याउन सक्छ। यसमा पाइने पोलिफिनोल्सजस्ता यौगिकले पनि मुटुको स्वास्थ्यमा सकारात्मक भूमिका खेल्न सक्छन्।
तर मुटु स्वस्थ राख्न स्याउ मात्रै पर्याप्त हुँदैन। सन्तुलित आहार, नियमित शारीरिक गतिविधि, धूमपानबाट टाढा रहने बानी र रक्तचाप तथा कोलेस्ट्रोलको उचित व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण छन्।
४. एन्टिअक्सिडेन्ट र क्यान्सरसम्बन्धी अनुसन्धान
स्याउमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट पाइन्छन्। प्रयोगशालामा गरिएका केही अध्ययनमा स्याउमा पाइने यौगिकले क्यान्सरका कोषहरूको वृद्धिमा प्रभाव पार्न सक्ने देखाएका छन्।
यद्यपि प्रयोगशालामा देखिएको प्रभावले मानिसमा पनि त्यस्तै परिणाम हुन्छ भन्ने प्रमाणित गर्दैन। स्याउ खाँदैमा क्यान्सरबाट बच्न वा क्यान्सर निको पार्न सकिन्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन। क्यान्सरको जोखिम घटाउन सन्तुलित आहार, स्वस्थ जीवनशैली र आवश्यक स्वास्थ्य परीक्षण महत्त्वपूर्ण छन्।
५. फोक्सो र श्वासप्रश्वासको स्वास्थ्य
केही अवलोकनात्मक अध्ययनमा स्याउ खाने बानी र फोक्सोको राम्रो कार्यक्षमता तथा दमको कम जोखिमबीच सम्बन्ध देखिएको छ। तर यस्तो सम्बन्धले स्याउ खाएकै कारण दमको जोखिम घटेको वा फोक्सोको कार्यक्षमता बढेको प्रमाणित गर्दैन। स्याउ दमको औषधिको विकल्प पनि होइन।
६. हड्डीको स्वास्थ्य
स्याउलाई सन्तुलित आहारको भाग बनाउँदा समग्र स्वास्थ्यमा सहयोग पुग्न सक्छ। तर हड्डी बलियो बनाउन क्याल्सियम, भिटामिन डी, पर्याप्त प्रोटिन र नियमित शारीरिक गतिविधि बढी महत्त्वपूर्ण हुन्छन्। स्याउ मात्रै खाएर हड्डी बलियो हुन्छ भन्ने प्रमाण पर्याप्त छैन।
७. प्रतिरक्षा प्रणालीलाई सहयोग
स्याउमा केही मात्रामा भिटामिन सी र अन्य लाभदायक वनस्पतिजन्य यौगिक पाइन्छन्। भिटामिन सीले सामान्य प्रतिरक्षा प्रणालीको कार्यमा योगदान पुर्याउँछ। तर स्याउलाई प्रतिरक्षा शक्ति बढाउने कुनै विशेष औषधिका रूपमा बुझ्नु हुँदैन।
स्याउ खाँदा ध्यान दिनुपर्ने कुरा
स्याउ सामान्यतया सुरक्षित र पौष्टिक फल हो। तर यसको सेवन गर्दा केही कुरामा ध्यान दिनुपर्छ।
१. कीटनाशकको अवशेष
स्याउ खेती गर्दा कीरा तथा रोग नियन्त्रणका लागि कीटनाशक प्रयोग गरिएको हुन सक्छ। त्यसैले खानुअघि सफा बग्ने पानीले राम्ररी धुनुपर्छ। साबुन वा डिटर्जेन्ट प्रयोग गर्नु आवश्यक छैन। कुहिएको वा बिग्रिएको भाग देखिएमा हटाउनुपर्छ।
२. स्याउको बीउ
स्याउको बीउमा एमिग्डालिन (Amygdalin) नामक पदार्थ पाइन्छ, जुन शरीरमा टुक्रिँदा साइनाइड बन्न सक्छ। विशेषगरी धेरै बीउ चपाएर वा पिसेर खाँदा विषाक्तताको जोखिम हुन्छ। गल्तीले एक-दुईवटा बीउ निल्दैमा सामान्यतया गम्भीर समस्या हुने सम्भावना कम हुन्छ। तर बीउ जानाजानी चपाएर वा धेरै मात्रामा खानु हुँदैन।
३. औषधिसँगको अन्तरक्रिया
स्याउको जुसले एलर्जीको उपचारमा प्रयोग हुने फेक्सोफेनाडिन (Fexofenadine) औषधिको शरीरमा अवशोषण घटाउन सक्छ। यसले औषधिको प्रभावकारिता कम गर्न सक्छ।
त्यसैले यो औषधि सेवन गरिरहनुभएको छ भने स्याउको जुससँग औषधि नखानुहोस्। औषधि पानीसँग सेवन गर्ने र यसको प्रयोगसम्बन्धी निर्देशन पालना गर्ने गर्नुहोस्।
४. अत्यधिक सेवन र व्यक्तिगत सहनशीलता
स्याउमा प्राकृतिक चिनी र क्यालोरी हुन्छन्। सामान्य मात्रामा पूरै स्याउ खानु अधिकांश व्यक्तिका लागि स्वस्थकर हुन्छ। तर आवश्यकताभन्दा बढी क्यालोरी सेवन गर्दा तौल बढ्न सक्छ।
केही व्यक्तिमा स्याउ खाँदा पेट फुल्ने, ग्यास हुने वा असहज महसुस हुने समस्या हुन सक्छ। यस्तो भएमा सेवनको मात्रा घटाउन सकिन्छ। मधुमेह भएका व्यक्तिले पनि स्याउ खान सक्छन्, तर मात्रा र समग्र भोजन योजनामा ध्यान दिनुपर्छ। पूरै स्याउ खानु जुस पिउनुभन्दा सामान्यतया राम्रो विकल्प हो, किनभने यसमा फाइबर बढी सुरक्षित रहन्छ।
अन्तमा
स्याउ फाइबर, केही मात्रामा भिटामिन सी र लाभदायक वनस्पतिजन्य यौगिक भएको पौष्टिक फल हो। यसलाई राम्ररी धोएर बोक्रासहित खानु, सन्तुलित आहार लिनु र नियमित शारीरिक गतिविधि गर्नु स्वस्थ जीवनशैलीका महत्त्वपूर्ण पक्ष हुन्। नेपालमा उत्पादित जुम्लालगायतका स्थानीय स्याउ रोज्दा किसान र स्थानीय अर्थतन्त्रलाई पनि सहयोग पुग्छ।
तर स्याउ कुनै रोगको उपचार होइन। नियमित स्वास्थ्य परीक्षण, आवश्यक खोप, स्वस्थ जीवनशैली र रोगअनुसारको उपचारको विकल्प स्याउ हुन सक्दैन।
त्यसैले भनाइलाई अलि परिमार्जन गरेर यसरी भन्न सकिन्छ: An apple a day keeps the doctor, just a few days away! अर्थात्, दिनमा एउटा स्याउ खाँदा डाक्टरबाट सधैँ टाढा रहन सकिँदैन, भेटघाट केही दिन पछाडि भने सर्न सक्छ!