एन्डोमेट्रियोसिसबारे हाम्रो समाजमा मात्रै होइन, स्वास्थ्य क्षेत्रमै पनि एउटा गलत बुझाइ छ- पाठेघर निकालिसकेपछि यो रोग पूर्ण रूपमा निको हुन्छ। तर वास्तविकता त्यस्तो छैन। एन्डोमेट्रियोसिस पाठेघरमा मात्रै सीमित हुने रोग होइन। यो आन्द्रा, पिसाबको नली, अण्डाशयलगायत शरीरका अन्य अंगमा पनि फैलिन सक्छ। त्यसैले पाठेघर मात्रै निकालेर एन्डोमेट्रियोसिसको उपचार पूरा हुँदैन।
मैले आफ्नो अभ्यासका क्रममा धेरै बिरामीमा यो गलत बुझाइ देखेकी छु। दुर्गम क्षेत्रबाट आउने र रोगबारे पर्याप्त जानकारी नभएका बिरामी मात्रै होइन, स्त्रीरोग विशेषज्ञबाहेक अन्य विधाका चिकित्सकसमेत एन्डोमेट्रियोसिस भएको शंका लागेपछि पाठेघर निकाल्न चाहेको भन्दै परामर्शका लागि आउने गर्नुहुन्छ। तर पाठेघर मात्रै निकालेर रोग निको नहुने र जहाँजहाँ रोग फैलिएको छ, त्यहाँको पनि उपचार गर्नुपर्ने कुरा बताउँदा कतिपयलाई आश्चर्य लाग्छ।
यसको वास्तविकता बुझाउन म एउटा बिरामीको उदाहरण प्रस्तुत गर्न चाहन्छु।
पाठेघर निकालेको पाँच वर्षपछि आन्द्रामा गम्भीर समस्या
करिब पाँच वर्षअघि एकजना बिरामीको मैले शल्यक्रिया गरेकी थिएँ। उहाँको अण्डाशयमा चकलेट सिस्ट (एन्डोमेट्रियोमा) थियो। त्यसबेला पाठेघर निकालिएको थियो भने अण्डाशय पनि जोगाइएको थियो। शल्यक्रियाका क्रममा आन्द्रामा एन्डोमेट्रियोसिस फैलिएको वा आँखाले देख्न सकिने कुनै स्पष्ट समस्या देखिएको थिएन। आन्द्रामा असामान्य रूपमा टाँसिने समस्या (एडिसन) समेत देखिएको थिएन।
तर पाँच वर्षपछि उहाँ फेरि समस्या लिएर आउनुभयो। दुई–तीन वर्षअघिदेखि नै उहाँलाई तल्लो पेट दुख्ने, पहिलेको जस्तै लक्षण दोहोरिने र दिसा गर्न कठिन हुने समस्या सुरु भएको रहेछ। दिसा सहज रूपमा ननिस्कने र पेट दुख्दा दिसासँगै रगत वा मासी जस्तो पदार्थ देखिने समस्या पनि उहाँले बताउनुभयो।
यी लक्षणलाई सामान्य रूपमा लिन मिल्दैनथ्यो। त्यसैले थप परीक्षण गरियो। आन्द्राको परीक्षण गर्दा एन्डोमेट्रियोसिसका कारण करिब १५ सेन्टिमिटर लामो भाग गम्भीर रूपमा प्रभावित भएको पाइयो। आन्द्राको सामान्य संरचना बिग्रिएको र आन्द्रा बटारिएजस्तो भएको थियो।
पाँच वर्षअघि शल्यक्रिया गर्दा आँखाले देख्न सकिने एन्डोमेट्रियोसिस नभएको आन्द्रामा पछि यति गम्भीर समस्या कसरी विकसित भयो भन्ने प्रश्न स्वाभाविक हो। त्यसबेला आँखाले नदेखिने सूक्ष्म तहको रोग बाँकी रहेको वा पछि रोग विकसित भएको हुन सक्ने सम्भावनालाई विचार गर्नुपर्छ। तर पाँच वर्षअघिको अवस्थाका आधारमा अहिलेको रोगको ठ्याक्कै कारण निश्चित गर्न सकिँदैन।
आन्द्राको १५ सेन्टिमिटर भाग निकालेर पुनः जोडियो
बिरामीको आन्द्रामा रोगले गम्भीर असर गरिसकेकाले शल्यक्रिया आवश्यक भयो। उहाँको एन्डोस्कोपिक अर्थात् दूरबिन प्रविधिबाट शल्यक्रिया गर्दै एन्डोमेट्रियोसिसले प्रभावित आन्द्राको करिब १५ सेन्टिमिटर भाग निकालियो। त्यसपछि आन्द्राको बाँकी स्वस्थ भागलाई पुनः जोडियो। यस प्रक्रियालाई सेग्मेन्टल बाउल रिसेक्सन भनिन्छ।
यस घटनाबाट बुझ्नुपर्ने मुख्य कुरा के हो भने पाठेघर निकालिएको भए पनि एन्डोमेट्रियोसिस शरीरका अन्य अंगमा रहन वा त्यहाँ समस्या उत्पन्न गर्न सक्छ। पाठेघर निकाल्नु र एन्डोमेट्रियोसिसको सम्पूर्ण उपचार गर्नु एउटै कुरा होइन।
उहाँको अण्डाशय जोगाइएको थियो र पछिल्लो शल्यक्रियाका क्रममा पनि अण्डाशयमा एन्डोमेट्रियोसिस देखिएको थिएन। तर आन्द्रामा भने गम्भीर समस्या विकसित भएको थियो। यसले रोगको अवस्था र फैलावट प्रत्येक बिरामीमा फरक हुन सक्ने तथ्यलाई देखाउँछ।
एन्डोमेट्रियोसिसको उपचार बिरामीअनुसार फरक
एन्डोमेट्रियोसिस पाठेघरको भित्री तहजस्तै तन्तु पाठेघरबाहिरका स्थानमा देखिने अवस्था हो। यो अण्डाशय, पेटको भित्री भाग, आन्द्रा वा पिसाबको नलीलगायत अंगमा हुन सक्छ। रोगको स्थान, गम्भीरता, लक्षण र बिरामीको व्यक्तिगत अवस्थाअनुसार उपचारको योजना बनाउनुपर्छ।
कतिपय अवस्थामा औषधि, हर्मोनसम्बन्धी उपचार वा शल्यक्रिया आवश्यक पर्न सक्छ। रोग आन्द्रा वा पिसाबको नलीमा फैलिएको छ भने ती अंगमा परेको असरसमेत मूल्यांकन गरी उपचार गर्नुपर्छ। जटिल अवस्थामा स्त्रीरोग विशेषज्ञसँगै अन्य विधाका विशेषज्ञको सहकार्य आवश्यक हुन सक्छ।
पाठेघर निकाल्ने शल्यक्रिया सबै एन्डोमेट्रियोसिसका बिरामीका लागि अनिवार्य उपचार होइन। पाठेघर निकाल्दा पनि रोग पूर्ण रूपमा निको हुने ग्यारेन्टी हुँदैन। विशेषगरी रोग अन्य अंगमा फैलिएको छ भने ती स्थानमा बाँकी रहेको रोगले समस्या दिइरहन सक्छ।
पाठेघर निकालिसकेका बिरामीले के गर्ने?
एन्डोमेट्रियोसिसको उपचारका क्रममा पाठेघर निकालिसकेका बिरामीले पेट दुख्ने, दिसा गर्न कठिन हुने, दिसासँग रगत आउने वा पिसाबसम्बन्धी असामान्य समस्या देखिएमा त्यसलाई बेवास्ता गर्नु हुँदैन। यस्ता लक्षण देखिएमा चिकित्सकसँग परामर्श गरी आवश्यक परीक्षण गराउनुपर्छ।
हरेक दुई वर्षमा एमआरआई गराउनुपर्छ भन्ने एउटै नियम सबै बिरामीमा लागू हुँदैन। फलोअपको अवधि र आवश्यक परीक्षण बिरामीको पुरानो रोगको अवस्था, शल्यक्रियाको विवरण, हालका लक्षण र चिकित्सकीय मूल्यांकनका आधारमा निर्धारण गर्नुपर्छ।
मेरो आग्रह छ- एन्डोमेट्रियोसिसबारे सही जानकारी लिनुहोस् र अरूलाई पनि जानकारी दिनुहोस्। पाठेघर निकाल्दैमा रोग पूर्ण रूपमा निको हुन्छ भन्ने भ्रममा नपर्नुहोस्। रोग कहाँसम्म फैलिएको छ भन्ने पहिचान र आवश्यक उपचार नै महत्त्वपूर्ण हुन्छ।
एन्डोमेट्रियोसिसको उपचार पाठेघर निकाल्ने कुरामा मात्रै सीमित हुँदैन। रोगको सही पहिचान, प्रभावित अंगको उपचार र आवश्यक फलोअपले नै बिरामीको स्वास्थ्य व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्छ।
(स्त्री तथा प्रसूति रोग विशेषज्ञ, एन्डोस्कोपिक गाइनकोलोजिस्ट तथा एन्डोमेट्रियोसिस विशेषज्ञ डा लाइकमबम ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा कार्यरत छिन्)