काठमाडौँ– चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गरेको छ। थपिएका सिटमध्ये एमबीबीएसतर्फको वृद्धि सरकारी शिक्षण संस्थामा मात्रै गरिएको छ भने निजी मेडिकल कलेजको सिट सङ्ख्या यथावत् राखिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले चालु शैक्षिक सत्रका लागि विभिन्न कार्यक्रमतर्फ कुल ९ हजार ६९१ सिट निर्धारण गरेको हो। यो सङ्ख्या गत शैक्षिक सत्रको तुलनामा ४१८ ले बढी हो।
सिट निर्धारणका लागि देशभरका ९० शिक्षण संस्थाले स्वमूल्याङ्कन फाराम भरेर सिट माग गरेका थिए। विज्ञान तथा प्रविधिसहितको टोलीले गरेको अनुगमन प्रतिवेदनका आधारमा तीमध्ये ८४ वटा शिक्षण संस्थाको सिट निर्धारण गरिएको आयोगले जनाएको छ।
आयोगका सदस्य सचिव हरिप्रसाद निरौलाका अनुसार एमबीबीएस कार्यक्रममा गत वर्षको तुलनामा ११० सिट थप गरिएको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएस अध्ययनका लागि ५० सिट पाएको छ। त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट थप गरिएको छ।
“निजी मेडिकल कलेजको हकमा भने यस वर्ष सिट वृद्धि गरिएको छैन। एमबीबीएसमा बढेको सिट सरकारी संस्थाको मात्रै हो,” सदस्य सचिव निरौलाले बताए।
एमबीबीएसबाहेक अन्य चिकित्सा शिक्षा कार्यक्रमका सिटमा पनि वृद्धि गरिएको छ। बीएससी नर्सिङतर्फ गत वर्षको तुलनामा २१० सिट थप गरिएको छ भने बीएमएस कार्यक्रममा ९८ सिट वृद्धि गरिएको आयोगले जनाएको छ।
विभिन्न चिकित्सा शिक्षा कार्यक्रमका सिट वृद्धि भए पनि एमबीबीएसमा सरकारी शिक्षण संस्थाको क्षमता विस्तारमा केन्द्रित निर्णय गरिएको छ। चालु शैक्षिक सत्रमा कुल ९ हजार ६९१ सिट निर्धारण भएसँगै चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा विद्यार्थी भर्नाको अवसरसमेत बढेको छ।