हरेक वर्ष सेप्टेम्बर २५ मा मनाइने विश्व फार्मासिस्ट दिवस मेरो लागि केवल एउटा पेसागत उत्सव मात्र होइन, आत्ममूल्याङ्कन गर्ने अवसर पनि हो। यस वर्षको विश्व फार्मासिस्ट दिवसको नारा 'स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट' रहेको छ। यो नारा केवल फार्मासिस्टको क्षमता अभिवृद्धिसँग मात्र सम्बन्धित छैन, बरु भविष्यको स्वास्थ्य प्रणालीलाई अझ सुरक्षित, प्रभावकारी र बिरामीकेन्द्रित बनाउने विश्वव्यापी प्रतिबद्धताको अभिव्यक्ति पनि हो।
आज म क्लिनिकल फार्मेसीमा स्नातकोत्तर अध्ययनरत छु। तर विश्व फार्मासिस्ट दिवसले मलाई सधैँ विद्यार्थी जीवनतिर फर्काउँछ। विशेष गरी सन् २०१३ मा काठमाडौँमा आयोजित 'National Workshop on Standardization of Nepalese Pharmacist as a Global Competent' कार्यक्रमको स्मृति अझै ताजा छ। उक्त कार्यक्रमको संयोजकका रूपमा काम गर्ने अवसरले मलाई फार्मेसी पेसाको व्यापकता, सम्भावना र जिम्मेवारीबारे गहिरो रूपमा सोच्न प्रेरित गरेको थियो। नेपालका विभिन्न विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक, नेपाल फार्मेसी परिषद्का पदाधिकारी तथा फार्मेसी क्षेत्रका अग्रज व्यक्तित्वहरूको सहभागिता रहेको उक्त कार्यक्रमले नेपाली फार्मासिस्टलाई विश्वस्तरीय प्रतिस्पर्धाका लागि कसरी तयार पार्ने भन्ने बहसलाई केन्द्रमा ल्याएको थियो। त्यतिबेला नै मैले महसुस गरेको थिएँ-फार्मेसी केवल एउटा शैक्षिक विषय होइन, स्वास्थ्य प्रणालीको आधारभूत स्तम्भ हो।
मेरो शैक्षिक यात्राको एउटा महत्त्वपूर्ण पक्ष बाल्यकालको प्रारम्भिक शिक्षादेखि फार्मेसी विषयको डिप्लोमादेखि स्नातकोत्तर तहसम्मको अध्ययन पूर्ण छात्रवृत्तिमा अगाडि बढाउन पाउनु पनि हो। यो यात्रा उपलब्धिभन्दा बढी जिम्मेवारीको अनुभूति हो। अवसरलाई उपलब्धिमा रूपान्तरण गर्न निरन्तर परिश्रम, अनुशासन र सिकाइप्रतिको प्रतिबद्धता अपरिहार्य हुन्छ भन्ने पाठ यस यात्राले सिकाएको छ।
सरकारी सेवामा प्रवेश गरेपछि अस्पताल फार्मेसीको व्यावहारिक पक्षलाई नजिकबाट बुझ्ने अवसर प्राप्त भयो। त्यतिबेला नेपालमा अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ कार्यान्वयनको प्रारम्भिक चरण चलिरहेको थियो। जिल्ला अस्पताल बारामा कार्यरत रहँदा निर्देशिकाले परिकल्पना गरेका अस्पताल फार्मेसी सेवाहरूलाई व्यवहारमा उतार्ने अवसर प्राप्त भयो। सीमित स्रोतसाधन र संरचनागत चुनौतीबीच अस्पताल फार्मेसीलाई व्यवस्थित, बिरामीमैत्री र उत्तरदायी सेवाका रूपमा विकास गर्ने प्रयास आफैँमा महत्त्वपूर्ण सिकाइ थियो। त्यही अनुभवले मलाई अस्पताल फार्मेसी औषधि वितरण गर्ने एकाइ मात्र होइन, बिरामी सुरक्षा, उपचारको गुणस्तर र औषधिको विवेकपूर्ण प्रयोग सुनिश्चित गर्ने महत्त्वपूर्ण आधार हो भन्ने बुझ्न मद्दत गर्यो।
व्यावसायिक जीवनको अर्को महत्त्वपूर्ण अध्याय जिल्ला अस्पताल संखुवासभासँग जोडिएको छ। दुर्गम भौगोलिक परिवेशमा काम गर्दा औषधि व्यवस्थापनको प्रभाव उपचार सेवामा कति गहिरो रूपमा जोडिएको हुन्छ भन्ने अनुभव गर्ने अवसर मिल्यो। सोही क्रममा कोशी प्रदेशअन्तर्गत उक्त अस्पतालमा पहिलो पटक ई-बिडिङ प्रक्रियामार्फत औषधि खरिद प्रणाली कार्यान्वयन गरियो। यसले औषधि खरिद प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाउन मद्दत पुर्यायो। त्यसै गरी, औषधिसँग सम्बन्धित निर्णय प्रक्रियालाई संस्थागत र वैज्ञानिक बनाउन ड्रग एन्ड थेराप्युटिक कमिटी (DTC) मार्फत औषधि सम्बन्धी गतिविधिहरू कार्यान्वयनमा ल्याइयो। औषधि छनोट, प्रयोग, मूल्याङ्कन र व्यवस्थापनलाई प्रणालीगत बनाउने अभ्यासले अस्पताल फार्मेसी सेवाको गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याएको अनुभव भयो।
गुणस्तर सुधारका यस्ता प्रयासहरूको प्रभाव Minimum Service Standards (MSS) मूल्याङ्कनमा समेत प्रतिबिम्बित भयो। अस्पताल फार्मेसी सेवाको मूल्याङ्कन ४९ प्रतिशतबाट ९२ प्रतिशतसम्म पुग्नु केवल एउटा तथ्याङ्कीय उपलब्धि थिएन, त्यो संस्थागत सुधार, टिमवर्क र सेवाप्रतिको प्रतिबद्धताको परिणाम थियो। यसले सही सोच, स्पष्ट लक्ष्य र सामूहिक प्रयासबाट सीमित स्रोतसाधनबीच पनि उल्लेखनीय परिवर्तन सम्भव हुन्छ भन्ने विश्वास थप बलियो बनायो।
औषधि व्यवस्था विभागसँगको कार्यअनुभव तथा कोभिड-१९ महामारी स्वास्थ्य क्षेत्रका लागि अभूतपूर्व चुनौतीको समय थियो। औषधिको उपलब्धता, आपूर्ति व्यवस्थापन, सुरक्षित प्रयोग तथा स्वास्थ्यकर्मीलाई आवश्यक जानकारी प्रवाह गर्ने कार्यमा फार्मासिस्टको भूमिका अझ प्रस्ट रूपमा देखियो। सङ्कटका बेला औषधिको अभाव केवल व्यवस्थापनको समस्या मात्र हुँदैन, त्यो प्रत्यक्ष रूपमा बिरामीको जीवनसँग जोडिएको विषय हो भन्ने यथार्थ महामारीले सबैलाई सिकायो।
वर्तमान अध्ययन यात्राले फार्मेसी पेसाको भविष्यबारे अझ फराकिलो दृष्टिकोण निर्माण गर्न मद्दत गरेको छ। आधुनिक स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिका द्रुत रूपमा विस्तार भइरहेको छ। विशेष गरी Antimicrobial Stewardship Programme मार्फत एन्टिबायोटिकको जिम्मेवार प्रयोग सुनिश्चित गर्ने, Pharmacovigilance मार्फत औषधिबाट हुने प्रतिकूल असर पत्ता लगाउने, मूल्याङ्कन गर्ने, बुझ्ने र रोकथाम गर्ने, Medication Error Prevention, ADR Management, Therapeutic Drug Monitoring, Clinical Trial Evaluation, Evidence-Based Medicine, Medication Therapy Management तथा Electronic Medical Record जस्ता क्षेत्रमा क्लिनिकल फार्मासिस्टको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको छ।
नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स, स्व-औषधोपचार, बहुऔषधि प्रयोग तथा औषधिको अनुचित प्रयोगजस्ता चुनौतीहरू बढ्दो क्रममा छन्। यस्ता समस्याको दीर्घकालीन समाधानका लागि चिकित्सक, नर्स र फार्मासिस्टबीचको अन्तरव्यावसायिक सहकार्य अपरिहार्य छ। बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रणाली निर्माण गर्न क्लिनिकल फार्मेसी सेवाको विस्तार र संस्थागत विकास आजको आवश्यकता बनेको छ।
व्यक्तिगत जीवनमा पनि फार्मेसी मेरो दैनिकीको अभिन्न हिस्सा बनेको छ। मेरी जीवनसंगिनी लिना पोखरेल पनि फार्मासिस्ट हुनुहुन्छ र शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत हुनुहुन्छ। स्वास्थ्य सेवा, औषधि सुरक्षा र बिरामी हितका विषयमा हुने दैनिक छलफलहरूले स्वास्थ्य पेसाप्रतिको जिम्मेवारीबोधलाई अझ गहिरो बनाएका छन्।
आज विद्यार्थी जीवनमा राष्ट्रियस्तरको कार्यक्रम संयोजन गरेको एक फार्मेसी विद्यार्थीदेखि अस्पताल फार्मेसी, औषधि व्यवस्थापन, औषधि नियमन र क्लिनिकल फार्मेसी अध्ययनको यात्रासम्म आइपुग्दा एउटा कुरा अझ स्पष्ट भएको छ- फार्मासिस्टको वास्तविक परिचय उसको पद, तह वा संस्थाले होइन, बिरामीको उपचारलाई सुरक्षित, प्रभावकारी र गुणस्तरीय बनाउन दिएको योगदानले निर्धारण गर्छ।
विश्व फार्मासिस्ट दिवस २०२६ को नारा 'स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट' ले हामीलाई यही सन्देश दिन्छ कि भविष्यमा अझ सक्षम, अनुसन्धानमुखी, प्रविधिमैत्री र बिरामीकेन्द्रित फार्मासिस्ट निर्माण गर्न सक्यौँ भने मात्रै स्वास्थ्य प्रणालीलाई थप सुरक्षित, प्रभावकारी र दिगो बनाउन सकिन्छ।
अन्त्यमा, बिरामीको हातमा पुग्ने एउटा सानो ट्याब्लेटभित्र केवल रासायनिक तत्त्व मात्र हुँदैन। त्यसमा एउटा बिरामीको आशा, परिवारको भरोसा, स्वास्थ्यकर्मीको परिश्रम र विज्ञानप्रतिको विश्वास पनि समेटिएको हुन्छ। त्यस विश्वासलाई सुरक्षित राख्ने जिम्मेवारी फार्मासिस्टको काँधमा हुन्छ। विश्व फार्मासिस्ट दिवसको अवसरमा सम्पूर्ण फार्मासिस्ट तथा फार्मेसी पेसामा आबद्ध सबैप्रति सम्मान व्यक्त गर्दै सुरक्षित, वैज्ञानिक र बिरामीकेन्द्रित औषधि सेवाको प्रवर्द्धनमा थप प्रतिबद्ध बन्ने प्रण गरौँ।
'सक्षम फार्मासिस्ट, सुरक्षित औषधि प्रयोग र स्वस्थ भोलिको आधार।'
-(धीरज रौनियार औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत हुन्।)