पृष्ठभूमि
नेपाल सरकारले निर्धारण गरेको समयसीमाभित्र केही स्वास्थ्य सूचकहरूमा उपलब्धि हासिल भए तापनि नेपालको स्वास्थ्य नीति, स्वास्थ्य सेवा प्रवाह तथा सेवाको गुणस्तर सुधारका क्षेत्रमा अझै विभिन्न चुनौतीहरू विद्यमान छन्। प्रमुख चुनौतीहरू जस्तै- परम्परागत कार्यशैली र सोचको निरन्तरता, उपचारमुखी तथा रोगकेन्द्रित स्वास्थ्य सेवा प्रणालीमा बढी जोड, ठाडो तथा विशेष कार्यक्रमहरूमा केन्द्रित कार्यान्वयन, पुरानो जनस्वास्थ्यबाट नयाँ जनस्वास्थ्य दृष्टिकोणतर्फ भइरहेको परिवर्तनलाई पर्याप्त रूपमा बुझ्न नसक्नु, स्वास्थ्य प्रवर्द्धनलाई केवल क्रियाकलाप वा गतिविधिमा सीमित राख्नु तर मन्त्रालयको मूल संरचनामै स्वास्थ्य प्रवर्द्धनलाई पर्याप्त महत्त्व नदिनु (जस्तै स्वास्थ्य प्रवर्द्धन विभागको व्यवस्था नहुनु), स्वास्थ्य प्रवर्द्धनसम्बन्धी दक्ष जनशक्तिको कमी वा अभाव, तथा सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्यसम्बन्धी नीति, ऐन तथा नियमावलीबीचको दोहोरोपन प्रमुख हुन सक्छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी), फूड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) र नेसनल हेल्थ एक्रिडिटेसन अथोरेटी (एनएचएए) स्थापना गर्ने सम्बन्धमा एकदिने कार्यशाला सम्पन्न भएको भन्ने जानकारी सामाजिक सञ्जालबाट प्राप्त भयो। यस विषयमा केही नीतिगत प्रश्न र सुझाव राख्न चाहन्छु।
सिडिसी सम्बन्धमा: सन् १९४६ मा अमेरिकाबाट सुरु भएको सिडिसीको अवधारणालाई करिब ८० वर्षपछि नेपालमा पनि उही ढाँचामा अघि बढाउनुको औचित्य के हो? नेपालमा हाल इडिसिडीले रोग निगरानी, प्रकोप व्यवस्थापन तथा रोग नियन्त्रणलगायतका महत्त्वपूर्ण कार्य गरिरहेको छ। त्यसैले प्रस्तावित सिडिसी भनेको इडिसिडीको स्तरोन्नति वा पुनर्रचना हो कि छुट्टै नयाँ भूमिका भएको संस्था हो? यदि नयाँ संस्था हो भने यसले इडिसिडीभन्दा थप के नयाँ र विशिष्ट काम गर्नेछ भन्ने स्पष्ट हुनुपर्छ। नयाँ संरचना निर्माण गर्दा विद्यमान संस्थाबीच कार्यक्षेत्रको दोहोरोपन र समन्वयको समस्या नआउने गरी सोचिनुपर्छ।
एफडिए सम्बन्धमा: हालको डिडिएलाई आवश्यक अधिकार, स्रोत, जनशक्ति र प्राविधिक क्षमता प्रदान गरी स्तरोन्नति गर्नु उपयुक्त हुन सक्छ। तर यसको नियमन आधुनिक औषधिमा मात्र सीमित हुनु हुँदैन। आधुनिक औषधिसँगै आयुर्वेदिक तथा अन्य परम्परागत औषधि, स्वास्थ्यसम्बन्धी उत्पादन र सम्पूर्ण खाद्य पदार्थको सुरक्षा तथा गुणस्तरलाई समेत समेट्ने समग्र नियामक प्रणाली आवश्यक छ।
नेसनल हेल्थ एक्रिडिटेसन अथोरेटी सम्बन्धमा: यदि एनएचएएको उद्देश्य स्वास्थ्य सेवाको गुणस्तर र बिरामीको सुरक्षा सुनिश्चित गर्नु हो भने यसको कार्यक्षेत्र स्पष्ट हुनुपर्छ। चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको सेवा गुणस्तर, क्षमता विकास, तालिम, प्रमाणीकरण, संस्थागत गुणस्तर र बिरामी सुरक्षासँग सम्बन्धित विषयमा प्रभावकारी अनुगमन तथा नियमन आवश्यक छ। यीमध्ये केही जिम्मेवारी विगतमा स्वास्थ्य मन्त्रालयको गुणस्तर तथा अनुगमन महाशाखा तथा अन्य सम्बन्धित निकायसँग जोडिएका थिए। त्यसैले नयाँ संस्था थप्नुअघि विद्यमान संरचनाको समीक्षा आवश्यक छ।
अबको प्राथमिकता के हुनुपर्छ?
संस्थाको नाम परिवर्तन वा नयाँ संस्था थप्नु मात्र स्वास्थ्य प्रणालीमा नयाँपन होइन। नेपालको बदलिँदो स्वास्थ्य आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यास र नेपालले गरेका सन्धि, सम्झौता अनि प्रतिबद्धताअनुसार स्वास्थ्य प्रणालीकै सोच, संरचना र सेवा प्रवाहमा परिवर्तन आवश्यक हुन्छ। त्यसैले मुख्यतया तपसिलका बुँदाहरूलाई समेटेर नयाँ संरचना बनाउँदा बढी प्रभावकारी हुन सक्छ:
१. जनस्वास्थ्यको नयाँ दृष्टिकोण: परम्परागत जनस्वास्थ्य मोडेलबाट नयाँ जनस्वास्थ्य दृष्टिकोणतर्फको विकासले स्वास्थ्य सेवाको पुनर्संरचनाको आधार प्रदान गर्छ।
२. ओटावा चार्टरलाई आधार बनाउने: स्वास्थ्य प्रवर्द्धनका तीन प्रमुख रणनीति-पैरवी, सक्षम बनाउने र मध्यस्थता-तथा पाँच कार्यक्षेत्र: स्वस्थ सार्वजनिक नीति, सहयोगी वातावरण, स्वास्थ्य सेवाको पुनर्संरचना, सामुदायिक सहभागिता तथा कार्यलाई सुदृढ गर्ने र व्यक्तिगत सीप विकास निर्धारण गरिएका छन्। नेपालको स्वास्थ्य नीति र संरचना विकासमा यी आधारलाई व्यवहारमा उतार्न आवश्यक छ।
३. अन्तर्राष्ट्रिय प्रतिबद्धताको कार्यान्वयन: नेपालले अल्मा-अटा (१९७८), ओटावा चार्टर (१९८६) र अस्ताना (२०१८) का प्रतिबद्धता स्वीकार गरेको छ। त्यसअनुसार स्वास्थ्य प्रवर्द्धनलाई सरकारी स्वास्थ्य संरचनामा प्राथमिकता दिई स्वास्थ्य सेवाको सङ्गठनात्मक संरचनाको पुनरावलोकन आवश्यक छ।
४. बदलिँदो स्वास्थ्य चुनौतीअनुसार संरचना: वृद्धावस्था, नसर्ने रोग, नयाँ तथा पुनःउदाउने संक्रामक रोग, वातावरणीय जोखिम, जलवायु परिवर्तन, स्वास्थ्य असमानता र प्रविधिको तीव्र विकासलाई सम्बोधन गर्न नयाँ किसिमको स्वास्थ्य प्रणाली आवश्यक छ। यसका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य प्रवर्द्धनलाई केन्द्रमा राख्ने संस्थागत संरचना विकास गरी सिडिसी लगायतका निकायलाई समन्वयात्मक रूपमा अघि बढाउन सकिन्छ।
५. हेल्थ-प्रोमोटिङ सेटिङलाई प्राथमिकता: स्वास्थ्य प्रवर्द्धनलाई कुनै एक कार्यक्रम वा गतिविधिमा सीमित नगरी बहुक्षेत्रीय दृष्टिकोणका रूपमा स्थापित गर्नुपर्छ। नेपालमा स्वास्थ्य प्रवर्द्धन भनेको एक जनस्वास्थ्यको अङ्ग मात्र हो भन्ने बुझाइ नै गलत छ। त्यसैले अलि समय लगाएर राम्रोसँग अध्ययन गरेर जनस्वास्थ्यमा हुनुपर्ने परिवर्तन र एक स्वस्थ व्यक्ति, समाज र राष्ट्रका लागि स्वास्थ्य प्रवर्द्धनमुखी सेवा हुनुपर्छ; त्यसका लागि हेल्थ-प्रोमोटिङ सेटिङको अवधारणा अगाडि बढाउनु जरुरी छ। स्वास्थ्य प्रवर्द्धनलाई एनएचइआइसिसीसँग मात्र जोड्नु विधागत गलत सोचाइ हो; त्यसैले आफू परिवर्तन हुने, र संस्थागत परिवर्तन गरी स्वस्थ र रोग लागिसकेका सबै नागरिकको स्वास्थ्य हासिल गर्न यो आवश्यक छ।
६. नीति, कानुन र सङ्घीय संरचनाको सुधार: नीति, ऐन तथा नियमावलीको समीक्षा र परिमार्जन गर्नुपर्छ। सङ्घ, प्रदेश र स्थानीय तहका नीतिहरूबीच समन्वय र एकरूपता कायम गर्नुपर्छ।
७. घरदैलोमै स्वास्थ्य: 'तपाईंको जीवन, तपाईंको स्वास्थ्य' अवधारणाअनुसार घरदैलोमै स्वास्थ्य प्रवर्द्धनमुखी स्वास्थ्य सेवाको माध्यमबाट एकीकृत स्वास्थ्य सेवा पुर्याउनुपर्छ। यसका लागि दक्ष जनशक्ति उत्पादन/तालिम, पर्याप्त बजेट, अनुसन्धान तथा प्रभावकारी अनुगमन आवश्यक छ।
त्यसैले पहिला नेपालको स्वास्थ्य प्रणालीमा आवश्यक परिवर्तनको गहिरो अध्ययन गरौँ, त्यसपछि मात्र नयाँ संस्था र संरचना निर्माण गरौँ।
सिडिसी, एफडिए वा एनएचएए जस्ता संरचना आवश्यक छन् कि छैनन् भन्ने प्रश्नभन्दा महत्त्वपूर्ण प्रश्न हो- नेपालको बदलिँदो जनस्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न हामी कस्तो स्वास्थ्य प्रणाली निर्माण गर्न चाहन्छौँ? विश्वका धेरै देशहरू रोग नियन्त्रणसँगै स्वास्थ्य प्रवर्द्धनमुखी प्रणालीतर्फ अघि बढिरहेका बेला नेपालले दशकौँपछि केवल पुराना संरचनाको नाम र स्वरूप दोहोर्याउने होइन, भविष्यको स्वास्थ्य आवश्यकताअनुसार स्वास्थ्य प्रणालीको सोच, संरचना र सेवा प्रवाहमै रूपान्तरण ल्याउनुपर्छ।
अतः स्वास्थ्य प्रवर्द्धनको स्पष्ट व्यवस्था गरी त्यसभित्र तपाईंले छलफलमा ल्याउनुभएको कुराहरू गर्दा मात्र स्वास्थ्यमा नयाँपन आउँछ; नत्र ८० वर्षपहिला सिडिसीको काम सुरु गरेका देशहरूले हेल्थ प्रोमोटिभ वेज अनुसार नयाँ-नयाँ मोडेल र सोच अनि अनुसन्धानका आधारमा काम सुरु गरिसके, नेपालले भने फेरि ८० वर्षपछि हेल्थ प्रोमोटिभ वेजबाट स्वास्थ्य सेवा प्रणाली सुधार तथा कार्यान्वयनको काम सुरु गर्नुनपरोस्। त्यसैले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकता तथा समग्र स्वास्थ्य सेवा प्रवाहको प्रमुख आधारस्तम्भका रूपमा स्थापित गर्ने विषयमा गम्भीर रूपमा सोच्न आवश्यक छ।
-(शालिकराम धितालले जनस्वास्थ्य तथा व्यवहार परिवर्तनमा पिएचडी गरेका छन्।)