काठमाडौं — सन् २०२६ को शरीरक्रिया तथा चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार प्रकाशबाट स्नायुकोष नियन्त्रण गर्ने प्रविधि ‘अप्टोजेनेटिक्स’ विकासमा महत्वपूर्ण योगदान दिएका तीन वैज्ञानिकलाई प्रदान गरिएको छ।
नोबेल सभाले अमेरिकी वैज्ञानिक कार्ल डेइसरोथ तथा जर्मन वैज्ञानिक पिटर हेगेम्यान र जर्ज नागेललाई संयुक्त रूपमा पुरस्कार दिने घोषणा गरेको हो। उनीहरूलाई ‘प्रकाशद्वारा नियन्त्रित आयन च्यानल र अप्टोजेनेटिक्ससम्बन्धी खोज’ का लागि सम्मान गरिएको हो।
यो खोज एककोषीय क्लामिडोमोनासले प्रकाशतर्फ कसरी आफ्नो गति निर्देशित गर्छ भन्ने जिज्ञासाबाट सुरु भएको थियो। जर्मनीका वैज्ञानिक पिटर हेगेम्यान र जर्ज नागेलले क्लामिडोमोनासको कोषको सतहमा पाइने च्यानलरोडोप्सिन नामक विशेष प्रोटिन पत्ता लगाए। नीलो प्रकाश पर्दा उक्त प्रोटिनमा रहेको च्यानल खुल्ने र आवेशित आयनहरू कोषभित्र प्रवेश गर्दा विद्युतीय संकेत उत्पन्न हुने उनीहरूले पत्ता लगाए।
यस प्रोटिनलाई अन्य कोषमा राख्दा ती कोष पनि प्रकाशप्रति संवेदनशील बन्ने देखियो। यही विशेषताले स्नायु विज्ञानमा नयाँ सम्भावनाको ढोका खोल्यो।
प्रकाशले स्नायुकोष ‘अन–अफ’ गर्न सकिने
अमेरिकी वैज्ञानिक कार्ल डेइसरोथले च्यानलरोडोप्सिन उत्पादन गर्ने जीन मुसाका स्नायुकोषमा पुर्याए। त्यसपछि नीलो प्रकाश प्रयोग गर्दा स्नायुकोषमा विद्युतीय संकेत उत्पन्न गर्न सकिने देखाए। उनले सन् २००५ मा यसको महत्वपूर्ण परिणाम प्रकाशित गरे। सन् २००७ मा उनले जीवित मुसाको मस्तिष्कमै प्रकाश प्रयोग गरेर स्नायुकोष नियन्त्रण गर्न सफल भए।
स्नायुकोषलाई प्रकाशमार्फत नियन्त्रण गर्ने यो विधिलाई अप्टोजेनेटिक्स भनिन्छ। यसले अनुसन्धानकर्तालाई मस्तिष्कका कुन स्नायु सञ्जालले विशेष स्मृति, भावना र व्यवहारमा भूमिका खेल्छ भन्ने कुरा प्रत्यक्ष रूपमा अध्ययन गर्ने अवसर दिएको छ।
मस्तिष्क अनुसन्धानमा नयाँ युग
यसअघि मस्तिष्कको कुन भागले कुन कार्य गर्छ भन्नेबारे अनुसन्धान भए पनि कुनै विशेष स्नायु सञ्जाल र व्यवहारबीच प्रत्यक्ष कारण–सम्बन्ध प्रमाणित गर्न कठिन थियो। अप्टोजेनेटिक्सले निश्चित स्नायुकोषलाई प्रकाशमार्फत सक्रिय वा निष्क्रिय पार्न सकिने भएकाले यस्तो सम्बन्ध अध्ययन गर्न नयाँ बाटो खोलेको नोबेल समितिले जनाएको छ।
यो प्रविधि न्युरोलोजिकल तथा मानसिक स्वास्थ्यसम्बन्धी रोगसँग सम्बन्धित स्नायु सञ्जालको अध्ययनमा प्रयोग भइरहेको छ। दृष्टि गुमाएका व्यक्तिमा दृष्टि पुनःस्थापित गर्ने प्रयासमा समेत यसको अनुसन्धान भइरहेको छ।
नोबेल समितिका अनुसार अप्टोजेनेटिक्सले मस्तिष्कले स्मृति, भावना र व्यवहार कसरी नियन्त्रण गर्छ भन्ने बुझाइमा आधारभूत परिवर्तन ल्याएको छ। यसले मानव मस्तिष्क कसरी काम गर्छ भन्ने लामो समयदेखिको रहस्य समाधान गर्ने दिशामा महत्वपूर्ण आधार तयार गरेको छ।
यस वर्षको पुरस्कारस्वरूप तीनै वैज्ञानिकले १२ मिलियन स्विडिस क्रोनर बराबरको रकम समान रूपमा प्राप्त गर्नेछन्।