काठमाडौं– वरिष्ठ चिकित्सक तथा प्राध्यापक डा. मधुरदेव भट्टराईको निधन भएको छ। केही समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका उनको उपचारकै क्रममा बिहिबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
चिकित्सा अभ्यास, चिकित्सा शिक्षा र अनुसन्धानमा लामो समय योगदान दिएका प्राडा भट्टराई नेपालको चिकित्सा क्षेत्रका परिचित र सम्मानित नाम थिए। विशेषगरी इन्टरनल मेडिसिन, मधुमेह, इन्डोक्राइनोलोजी तथा श्वासप्रश्वाससम्बन्धी रोगको उपचार र अनुसन्धानमा उनले उल्लेख्य योगदान दिएका थिए।
उनी सरकारी सेवाको उच्च तहसम्म पुगेका चिकित्सक थिए। १२औँ तहमा पुगेपछि पनि उनले प्रशासनिक जिम्मेवारीलाई आफ्नो प्राथमिकता बनाएनन्। १२औँ तहमा अतिरिक्त सचिवका रूपमा स्वास्थ्य मन्त्रालय जाने अवसर हुँदाहुँदै उनले मन्त्रालयको पोस्टिङ लिएनन्। प्रशासनिक जिम्मेवारीभन्दा चिकित्सा अभ्यास, अध्यापन र अनुसन्धानमै आफूलाई सक्रिय राखे।
न्याम्समा रजिस्ट्रारको जिम्मेवारीसमेत सम्हालेका उनले नेपालमा चिकित्सा शिक्षाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरे। उनी न्याम्समा रहँदा एमडी/एमएस कार्यक्रम सुरु भएको थियो। चिकित्सा शिक्षालाई संस्थागत र गुणस्तरीय बनाउने अभियानमा उनको भूमिका स्मरणीय रहनेछ।
वीर अस्पताल र नेसनल एकेडेमी अफ मेडिकल साइन्सेज (न्याम्स) मा लामो समय सेवा गरेका उनले विशेषज्ञ चिकित्सकको पुस्ता तयार गरे। सन् २००४ देखि न्याम्समा मेडिसिनका प्राध्यापक तथा मेडिकल एजुकेसन युनिटका संयोजकका रूपमा रहेर उनले एमडी, डीएम र एफसीपीएस तहका विद्यार्थी तथा चिकित्सकलाई प्रशिक्षण दिएका थिए।
उनी चिकित्सक र प्राध्यापक मात्र थिएनन्, चिकित्सा अनुसन्धानमा पनि उत्तिकै सक्रिय थिए। नेपालमा नसर्ने रोग, मधुमेह, अर्गानोफस्फेट विषाक्तता तथा श्वासप्रश्वाससम्बन्धी समस्याका विषयमा उनले अनुसन्धान गरेका थिए। उनका अनुसन्धानमूलक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडिकल जर्नलमा प्रकाशित भएका छन्।
नेपालमा एभिडेन्स-बेस्ड मेडिसिनको अभ्यास र चिकित्सा शिक्षामा यसको प्रयोगलाई प्रवर्द्धन गर्न पनि उनको योगदान महत्वपूर्ण थियो। चिकित्सा ज्ञानलाई तथ्य र प्रमाणमा आधारित बनाउँदै लैजानुपर्नेमा उनले जोड दिँदै आएका थिए।
चिकित्सा अनुसन्धान र प्रकाशनको क्षेत्रमा पनि उनको सक्रियता थियो। नेपाल मेडिकल एसोसिएसनको जर्नल (जेएनएमए) लगायतका चिकित्सा प्रकाशनसँग उनको लामो सम्बन्ध थियो। उनले चिकित्सा शिक्षादेखि मधुमेह व्यवस्थापनसम्मका विषयमा पुस्तक तथा अध्यायसमेत लेखेका थिए।
चिकित्सकका रूपमा उनी बिरामीको उपचारमा मात्र सीमित रहेनन्। रोग र उपचारलाई जनस्वास्थ्य तथा सामाजिक परिवेशसँग जोडेर हेर्ने उनको दृष्टिकोण थियो। विद्यार्थी र रेजिडेन्ट चिकित्सकलाई अध्यापन र मार्गदर्शन गर्ने क्रममा उनले धेरै चिकित्सकको व्यावसायिक यात्रामा प्रभाव पारे।
उनीसँग काम गरेका र उनीबाट पढेका चिकित्सकका लागि प्राडा भट्टराई एक शिक्षकभन्दा बढी थिए- एक मार्गदर्शक र मेन्टर थिए। चिकित्सा क्षेत्रमा व्यावसायिक नैतिकता, प्रमाणमा आधारित अभ्यास र चिकित्सकको जिम्मेवारीबारे उनको स्पष्ट धारणा थियो।
उच्च प्रशासनिक पदमा पुग्ने अवसर हुँदाहुँदै पनि प्रशासनिक मोहभन्दा चिकित्सा अभ्यास, अध्यापन र अनुसन्धान रोजेका प्राडा भट्टराईको निधनले नेपाली चिकित्सा क्षेत्रले एक अनुभवी चिकित्सक, समर्पित शिक्षक र अनुसन्धानकर्तालाई गुमाएको छ।
उनले उपचार गरेका बिरामी, पढाएका चिकित्सक र चिकित्सा अनुसन्धानमा छोडेको योगदानमार्फत उनको सम्झना लामो समयसम्म जीवित रहनेछ।