काठमाडौं- नेपालमा पहिलोपटक गर्भाशयसम्बन्धी रोगको उपचारमा प्रयोग हुने आधुनिक 'माइक्रोवेभ एब्लेसन' प्रविधिसम्बन्धी दुई दिने अन्तर्राष्ट्रियस्तरीय चिकित्सकीय कार्यशाला भोलिदेखि काठमाडौंस्थित ब्लु क्रस अस्पताल र होटल एलोफ्टमा आयोजना हुने भएको छ।
आधुनिक 'माइक्रोवेभ एब्लेसन' प्रविधिका आविष्कारक तथा अन्तर्राष्ट्रिय विशेषज्ञ प्रा. डा. सियाओमिङ गोङ र वरिष्ठ एन्डोस्कोपिक गाइनेकोलोजिस्ट तथा नि:सन्तान विशेषज्ञ डा. रंगीना लाइकङबमको विशेषज्ञ सहभागितामा उक्त कार्यशाला सञ्चालन हुन लागेको हो।
दुई दिनसम्म चल्ने यस कार्यशालाको पहिलो दिन ब्लु क्रस अस्पतालमा र दोस्रो दिन होटल एलोफ्टमा कार्यक्रम आयोजना गरिनेछ। कार्यशालामा नेपालका १० जना र अन्तर्राष्ट्रियस्तरका (बङ्गलादेश, भारत, युएई/दुबई तथा म्यान्मारका) १० जना गरी कुल २० जना विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहनेछ।
कार्यशालाको मुख्य उद्देश्य गर्भाशयसम्बन्धी विभिन्न रोगहरूको उपचारमा प्रयोग हुने 'माइक्रोवेभ एब्लेसन' प्रविधिसम्बन्धी नवीनतम ज्ञान, प्रविधि तथा चिकित्सकीय अभ्यासबारे नेपाली तथा अन्तर्राष्ट्रिय चिकित्सकहरूबीच ज्ञान, सीप र अनुभव आदान-प्रदान गर्नु रहेको छ।
कार्यशालाका क्रममा यस प्रविधिको सिद्धान्त तथा प्रयोग, बिरामी छनोट, उपचार प्रक्रियाका विभिन्न चरण, उपकरणको प्रयोग, अपनाउनुपर्ने सावधानी तथा व्यावहारिक पक्षहरूबारे सैद्धान्तिक र प्रत्यक्ष व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।