सुन्दरहरैंचा – नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को जारी क्षेत्रीय अधिवेशनका क्रममा सांघातिक आक्रमण भएको छ।
सुन्दरहरैचा नगरपालिका–४ स्थित सिग्देल प्रतिष्ठानको भवनमा भइरहेको कांग्रेसको अधिवेशनका क्रममा आक्रमण भएको हाे । घटनामा पूर्वसांसद चुमनारायण तबदार, जेन–जी समुन्द्र पोखरेल र कांग्रेस नेता चेतराज रेग्मी घाइते भएका छन्।
अधिवेशनमा मनोनयन दर्ता गराउने विषयमा विवाद भएपछि आक्रमण भएको हो। मनोनयन दर्ताका क्रममा विवाद बढेपछि दुई पक्षबीच भनाभन हुँदै आक्रमणमा परिणत भएको बताइएको छ।
घटनामा केही व्यक्ति घाइते भएको र घटनापछि अधिवेशनस्थलमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। घटनाबारे थप विवरण आउन बाँकी छ।
घाइते तीनैजनालाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
नेपाली कांग्रेसकी केन्द्रीय उपमहामन्त्री डा. डिला संग्रौलाले क्षेत्रीय सभापति देबु तामाङको योजनामा योजनाबद्ध आक्रमण भएको दाबी गर्दै तामाङलाई पार्टीबाट निलम्बन गर्न माग गरेकी छिन्। घटनाबारे थप विवरण आउन बाँकी छ।