सुर्खेत- कर्णाली प्रदेशमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले स्थायी समकक्षी कर्मचारीसरह तलब, भत्ता तथा सेवा–सुविधा उपलब्ध गराउन माग गरेका छन्।
छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्ष समिति, कर्णाली प्रदेशले सामाजिक विकास मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउँदै विगतदेखि प्रदान हुँदै आएको विशेष प्रोत्साहन भत्ताको निरन्तरता दिन र समान काम तथा जिम्मेवारीअनुसार समान पारिश्रमिकको व्यवस्था गर्न माग गरेको हो।
समितिका अनुसार छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी र स्थायी समकक्षी कर्मचारीले समान काम र जिम्मेवारी निर्वाह गरिरहे पनि तलब, भत्ता तथा सेवा–सुविधामा असमानता रहेको छ। यस विषयमा विगत दुई हप्तादेखि सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको समितिको भनाइ छ।
समितिले ‘समान कामका लागि समान पारिश्रमिक’ को सिद्धान्तअनुसार कर्णाली प्रदेश कर्मचारी प्रोत्साहन भत्तासम्बन्धी व्यवस्थाबमोजिम स्वास्थ्यकर्मी तथा चिकित्सकलाई विशेष प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गरेको छ।
चौबीस घण्टाभित्र ठोस निर्णय नभएमा कामकाजलाई निरन्तरता दिन असमर्थ हुने चेतावनीसमेत समितिले दिएको छ। सेवा प्रभावित भएमा त्यसबाट बिरामीमा पर्न सक्ने असुविधाप्रति सरकार स्वयं जिम्मेवार हुनुपर्ने समितिको चेतावनी छ।