काठमाडौं- देशका विभिन्न विद्यालयमा अध्ययनरत ५० हजार बालबालिकाको मुख तथा दन्त स्वास्थ्यमा सुधार गर्ने योजनाको साथ अघि बढाइएको ‘५० हजार स्माइल्स नेपाल’ अभियानमा सोसाइटी अफ नेप्लीज हेल्थकेयर प्रोफेसनल्स इन युरोप (एसएनएचपीई) जोडिएको छ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ (नेपाल-भुटान) च्याप्टरको अगुवाईमा गत १ जुलाईदेखि सुरु गरेको यो अभियानमा एसएनएचपीई बुधबार औपचारिक रुपमा जोडिएको हो। रोटरीको डिजिज प्रिभेन्सन एण्ड ट्रिटमेन्ट कमिटीले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर (केडीसी) र बीएम फाउण्डेसनसंग सहकार्य गरेर अभियानलाई अघि बढाएको छ।
बुधबार केडीसीमा आयोजित कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ र एसएनएचपीईका उपाध्यक्ष डा सागर धितालले सहकार्य सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गरे। सो समझदारी पत्रमा ‘५०, ००० स्माइल्स’ अभियान बाहेक स्वास्थ्य, शिक्षा, व्यावसायिक विकास, अनुसन्धान तथा ज्ञान आदान–प्रदानका क्षेत्रमा सहकार्य गर्ने भनिएको छ ।
हस्ताक्षर समारोहमा बोल्दै फाउण्डेसनका अध्यक्ष डा. श्रेष्ठले विद्यालय तहका बालबालिकाको मुख स्वास्थ्य सुधार गर्ने उद्देश्यले ‘५०,००० स्माइल्स नेपाल’ अभियान सञ्चालन गरिरहँदा एसएनएचपीईसंगको सहकार्यले अभियान थप उचाईमा पुग्ने बताए ।
एसएनएचपीईका उपाध्यक्ष डा. धितालले बालबालिकाको मुस्कान फर्काउने अभियानमा जोडिन पाएको भन्दै खुशी व्यक्त गरे।
समझदारी पत्र आदानप्रदान भइरहँदा भर्च्युअल माध्यमबाट एसएनएचपीईका अध्यक्ष डा. विनयकुमार श्रेष्ठ स्वीजरल्याण्ड तथा एसोसिएट प्रोफेसर डा. कौशल के तिवारी इटालीबाट समारोहमा सहभागी थिए। त्यसैगरी, नेपालमा एसएनएचपीइका फोकल पर्सन तथा होटल एसोसिएसन अफ नेपाल, बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल पनि समारोहमा उपस्थित थिए ।