काठमाडौं- विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एशिया क्षेत्रीय कार्यालयका निमित्त प्रमुख डा. नीलेश बुद्धले ज्येष्ठ नागरिकहरूको लामो आयुसँगै उनीहरूको जीवनको गुणस्तर सुधार्न बहुपक्षीय प्रणालीमा पुनर्विचार गर्नुपर्नेमा जोड दिएका छन्।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले 'दीर्घायुको युग: लामो जीवनका लागि प्रणालीहरूको पुनर्विचार' भन्ने नाराका साथ स्वस्थ वृद्धावस्थालाई स्वास्थ्य क्षेत्रको मात्र नभई समग्र सामाजिक सरोकारको विषय बनाउनुपर्ने बताए।
दक्षिण-पूर्वी एशियाली क्षेत्रमा सन् २०२४ देखि २०५० को अवधिमा ६० वर्ष र सोभन्दा माथिका मानिसको जनसङ्ख्या ११.३ प्रतिशतबाट बढेर २०.९ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। यद्यपि, ज्येष्ठ नागरिकहरूले आफ्नो पछिल्लो जीवनको ठूलो हिस्सा दीर्घकालीन रोग, अपाङ्गता वा हेरचाहको आवश्यकतामा बिताउनुपरेको छ। यस क्षेत्रमा ६० वर्षको उमेरपछि मानिसले औसत ४.६ वर्ष अस्वस्थ वा दीर्घकालीन रोगका साथ बिताउनुपर्ने बाध्यता रहेको डा. बुद्धले उल्लेख गरेका छन्।
डा. बुद्धका अनुसार थाइल्यान्ड, भुटान, श्रीलंका, भारत र टिमोर-लेस्टे जस्ता देशहरूले ज्येष्ठ नागरिकका लागि एकीकृत हेरचाह, दीर्घकालीन स्याहार र उमेर-अनुकूल नीतिहरू निर्माण गरी उदाहरणीय कार्य गरिरहेका छन्। संयुक्त राष्ट्रसंघको 'स्वस्थ वृद्धावस्था दशक २०२१–२०३०' र विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एशिया क्षेत्रीय रणनीति २०२४–२०३० मार्फत उमेरगत भेदभाव अन्त्य गर्ने, ज्येष्ठ नागरिकमैत्री वातावरण बनाउने र प्राथमिक स्वास्थ्य सेवालाई सुदृढ पार्ने प्रयासहरू भइरहेका छन्।
नेपालसहित दक्षिण-पूर्वी एशियाका देशहरूमा ज्येष्ठ नागरिकको स्वास्थ्य र दीर्घकालीन हेरचाहका लागि पर्याप्त बजेटको अभाव, दक्ष स्वास्थ्यकर्मीको कमी, अनौपचारिक हेरचाहकर्ता (परिवारका सदस्य) हरूको सहयोग र सामाजिक सुरक्षाको कमी, प्रविधिको असमान पहुँच र उमेरगत तथ्याङ्कको अभाव मुख्य चुनौतीका रूपमा रहेका छन्।
यी चुनौतीहरू समाधान गर्न 'समग्र सरकार र समग्र समाज'को अवधारणा अपनाउनुपर्नेमा डा. बुद्धले जोड दिए। दक्षिण-पूर्वी एशियाली संस्कृतिमा ज्येष्ठ नागरिकलाई बोझ नभई अनुभव, ज्ञान र लचिलापनको स्रोतका रूपमा लिइने उल्लेख गर्दै उनले भने, 'ज्येष्ठ नागरिकहरूको जीवनमा केवल वर्षहरू थप्ने मात्र होइन, ती वर्षहरूमा गुणस्तरीय जीवन (जीवनमा प्राण) भर्ने प्रतिबद्धतालाई हामी सबैले मिलेर कार्यान्वयनमा ढाल्नुपर्छ।'