विश्वमा दिनप्रतिदिन जनसंख्या वृद्धिदर घट्दै गइरहेको छ। यसै सन्दर्भमा विकासोन्मुख देशहरूमा पनि यो क्रम जारी छ। राष्ट्रिय जनगणना २०७८ अनुसार, ६० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या २०६८ देखि २०७८ सम्म ३८.२ प्रतिशतले बढेको देखिन्छ। औसत आयु बढिरहेको अवस्थामा राज्यले सामाजिक सुरक्षा भत्ताको बजेट हरेक वर्ष बढाउनुपरेको छ। साथै, उपचार र केयरटेकर (हेरचाहकर्ता) लगायतमा परिवारको खर्चसमेत बढिरहेको छ।
यसका मुख्य कारणहरूमा बसाइँसराइ, रोजगारी तथा अध्ययनका लागि घरबाट बाहिर जानु, परिवारको संरचनामा परिवर्तन हुनु, बेरोजगारी बढ्नु, कमाउने सदस्यको संख्यामा कमी हुनु, तथा शिक्षा र स्वास्थ्य सेवा सहुलियत दरमा उपलब्ध नहुनु रहेका छन्। यसबाहेक, सरकारले दिने प्रसूति बिदा तथा प्रसूतिसम्बन्धी आकर्षक प्याकेजहरूको कमी, प्रजनन दरमा कमी, औसत आयुमा वृद्धि, तथा युवा-युवतीहरूमा विवाह गर्न निरुत्साहित हुनु जस्ता विभिन्न प्रत्यक्ष तथा अप्रत्यक्ष कारणहरू पनि छन्। यस्ता कारणले गर्दा मानिसहरूलाई सन्तान जन्माउने इच्छा हुँदाहुँदै पनि सन्तान जन्माउन नसकिरहेको अवस्था देखिन्छ।
स्वास्थ्य मन्त्रालयले 'सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५' संशोधनका लागि तयार पारेको विधेयकमा एक महत्त्वपूर्ण व्यवस्था प्रस्ताव गरिएको छ। सरकारले सुत्केरीलाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र श्रीमानलाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गर्नु हामी तमाम नेपालीका लागि खुसीको कुरा हो।
यसै सन्दर्भमा, जनसंख्या संकायमा अध्ययनरत विद्यार्थी भएको हिसाबले म केही कुरा राख्न चाहन्छु। नेपाली जनमानसमा विगतका वर्षदेखि आमा र बच्चाका लागि उपलब्ध गराउँदै आएको सेवा–सुविधा दुई सन्तानका लागि मात्र सीमित हुनेछ भन्ने धारणा सर्वत्र रहेको पाइन्छ। यसका लागि, दुई सन्तान मात्र नभई सोभन्दा बढी सन्तान पनि परिवार योजनासहित जन्माउने सबैका लागि लागू हुने गरी यस ऐनमा संशोधन हुन जरुरी छ। साथै, यो व्यवस्था सरकारी क्षेत्रबाहेक निजी, गैरसरकारी संस्था, शिक्षण संस्था, संस्थान, बैंक, प्रतिष्ठान तथा अन्य सबै क्षेत्रमा लागू हुने गरी ल्याउन जरुरी देखिन्छ। यसले राज्यलाई भविष्यमा आउन सक्ने विभिन्न किसिमका कठिनाइहरूको निराकरण गर्न सहयोग पुग्नेछ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जसमा महिलाको संख्या करिब १ करोड ४९ लाख रहेको छ भने पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ।
१५ देखि ४९ वर्षको प्रजनन उमेर समूहका विवाहित महिलाको संख्या:
१५ देखि १९ वर्ष: २१३,३२०
२० देखि २४ वर्ष: ९२०,६६५
२५ देखि २९ वर्ष: १,१७०,४८०
३० देखि ३४ वर्ष: १,१२०,२७९
३५ देखि ३९ वर्ष: १,०८०,०९४
४० देखि ४४ वर्ष: ९०३,२८३
४५ देखि ४९ वर्ष: ७३६,९१८
जम्मा: ६,१४५,०३९
१५ देखि ४९ वर्षको प्रजनन उमेर समूहका अविवाहित महिलाको संख्या:
१५ देखि १९ वर्ष: १,२५८,६०५
२० देखि २४ वर्ष: ५६१,३९८
२५ देखि २५ वर्ष: १६६,६०४ (नोट: २५-२९ वर्ष)
३० देखि ३४ वर्ष: ४८,५०३
३५ देखि ३९ वर्ष: २४,५२१
४० देखि ४४ वर्ष: १६,०८८
४५ देखि ४९ वर्ष: ११,६०२
जम्मा: २,०८७,३२१
औसत १५ देखि ४९ वर्षका महिलाको प्रजनन दर १.९४ रहेको छ।
नेपालको राष्ट्रिय जनगणना २०६८ सालको तुलनामा २०७८ मा प्रजनन दर ०.६६ ले घटेर १.९४ मा आएको छ, जुन २५.४ प्रतिशतले घटेको पाइन्छ।
यो प्रतिस्थापन तहभन्दा कम हो। प्रतिस्थापन तह २.१ हुनुपर्छ।
नेपालको कुल जन्मदर प्रतिहजार १४.४२ रहेको छ।
हाल नेपालको जन्मदर राष्ट्रिय जनगणना २०७८ अनुसार प्रजनन दर १.९२ प्रतिमहिलामा छ। (स्रोतः नेपालको राष्ट्रिय जनगणना २०७८)
स्मरण रहोस्, जन्मदर र प्रजनन दर फरक कुरा हुन्।
हाम्रो जस्तो देशका लागि भविष्यमा यसले गम्भीर समस्या निम्त्याउन सक्छ। यसै सन्दर्भमा, प्रत्येक प्रजनन उमेरका महिला वा पुरुषहरूले नेपालमा उपलब्ध परिवार योजनाका साधनहरूका बारेमा अनिवार्य जानकारी लिन आवश्यक छ। साथै, सरकारले पनि ती साधनहरू सरकारी स्वास्थ्य संस्थाहरूमा सधैँ उपलब्ध हुने सुनिश्चितता गर्नुपर्दछ।
यसैगरी, स्वास्थ्य मन्त्रालयले हरेक वर्ष १३ औँ राष्ट्रिय परिवार योजना दिवस मनाउँदै आइरहेको छ। यस वर्ष 'विपद् होस् वा सामान्य अवस्था, परिवार योजना सबैको आवश्यकता' भन्ने मूल नाराका साथ प्रदेश तथा स्थानीय तहमा सम्बन्धित संघसंस्थाहरूले स्थानीय आवश्यकता, स्रोत तथा परिस्थिति अनुसार विभिन्न जनचेतनामूलक तथा सेवा प्रवर्द्धनात्मक कार्यक्रमसहित 'राष्ट्रिय परिवार योजना दिवस' मनाइरहेका छन्।
तसर्थ, भावी सन्ततिहरूले सन्तान जन्माउन, उपयुक्त शिक्षा र रोजगारी आदिका विषयमा सोचविचार गरी भावी परिवारको योजना तयार गरेर सुन्दर र सुखी परिवार निर्माण गर्न सफल हुनेछन्, जसले समुदाय, परिवार तथा राज्य सबैलाई फाइदा पुग्नेछ।
यही सन्दर्भमा, १३ औँ राष्ट्रिय परिवार योजना दिवस २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछु!
-(विष्णु बास्कोटा जनसंख्या विषयमा अध्ययनरत विद्यार्थी हुन्। उनी त्रिभुवन विश्वविद्यालय, जनसंख्या अध्ययन केन्द्रीय विभाग कीर्तिपुर, काठमाडौंमा अध्ययनरत छन्।)