काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभागमा सूचीकृत नभई अवैध रूपमा बिक्री वितरण भइरहेका डाइटरी सप्लीमेन्ट तथा न्युट्रास्युटिकल जस्ता आहारपूरक खाद्य पदार्थहरू खरिद नगर्न आम उपभोक्तालाई सचेत गराएको छ।
विभागले एक जरुरी सूचना जारी गर्दै विशेषगरी गार्सिनिया कम्बोजिया (Garcinia Cambogia) तथा म्याग्नेसियम ग्लाइसिनेट (Magnesium Glycinate) जस्ता उत्पादनहरू विभागमा सूचीकृत नभई सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण विज्ञापन गरी बिक्री भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरूमा भ्रामक श्रव्य, दृश्य तथा तथ्यहीन स्वास्थ्य दाबीहरू प्रस्तुत गरी यस्ता गैरकानुनी उत्पादनहरू बिक्री भइरहेको पाइएकाले त्यस्ता सामग्री खरिद नगर्न विभागले उपभोक्ताहरूलाई आग्रह गरेको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा आहारपूरक खाद्य पदार्थ नियमन कार्यविधि, २०७२ को व्यवस्थाअनुसार विभागमा दर्ता वा सूचीकृत नभई पैठारी तथा बिक्री वितरण गर्ने आयातकर्ता तथा विक्रेताहरूलाई ऐन बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत विभागले दिएको छ।
हेरौं सूचनाको पूर्णपाठ:
नेपाल सरकार
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग
बबरमहल, काठमाडौँ ।
डाइटरी सप्लीमेन्ट, न्युट्रास्युटिकल जस्ता आहारपूरक खाद्य पदार्थ सम्बन्धी जरुरी सूचना
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा आहारपूरक (Dietary Supplement) खाद्य पदार्थ नियमन कार्यविधि, २०७२ ले परिभाषित गरे अनुसारका यस विभागमा सूचिकृत हुनुपर्नेमा सूचिकृत नभइ बिक्रीवितरण भएका आहारपूरक (फुड, हेल्थ, न्युट्रिसनल वा डाइटरी सप्लीमेन्ट, न्युट्रास्युटिकल तथा प्रोवायोटिक) खाद्य पदार्थहरू सम्बन्धमा विभिन्न माध्यमबाट प्रेषित भएका समाचार तथा सूचनाहरू प्रति विभागको ध्यानआकर्षण भएको छ। गार्सिनिया कम्बोजिया (Garcinia Cambogia) तथा म्याग्नेसियम ग्लाइसिनेट (Magnesium Glycinate) को सन्दर्भमा यस विभागमा सूचिकृत नभई विभिन्न संचार माध्यमहरूबाट उपभोक्ताहरूलाई भ्रमित पार्ने खालका श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन लगायतका तथ्यहिन स्वास्थ्य सम्बन्धी दावीहरू विभिन्न सामाजिक सञ्जालहरू फेसबुक, टिकटक, ईन्स्टाग्राम मार्फत सम्प्रेषण भई बिक्री वितरण भएको पाईएकोले त्यस्ता उत्पादनहरू खरिद नगर्न आम उपभोक्ताहरूमा जानकारी गरिन्छ। अन्यथा विभागमा दर्ता नगरी पैठारी तथा बिक्री वितरण गरेको कसूरमा त्यस्ता उत्पादनको आयातकर्ता तथा विक्रेताहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारवाही गरिने व्यहोरा सबैमा सूचित गराईन्छ।
(डा. ईश्वर सुवेदी)
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत