नुवाकोट– बाढीबाट प्रभावित नागरिकहरूका लागि नुवाकोटको विदुर नगरपालिका–१०, स्वाराडाँडा सिंहलेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
नेपाल चिकित्सक संघ, भीडीआरसी, अमरीकेयर्स र विदुर नगरपालिकाको संयुक्त सहकार्यमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो। शिविरमा बाढीप्रभावित क्षेत्रबाट उद्धार गरी बेत्रावती हुँदै ल्याइएका १२५ जनाभन्दा बढी बिरामीहरूले प्रत्यक्ष स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गरेका छन्।
स्वास्थ्य परीक्षणका क्रममा बाढीप्रभावित नागरिकहरूमा मधुमेह, उच्च रक्तचाप, दीर्घ स्वासप्रश्वास समस्या (सिओपिडी) र टिबीको सम्भावित पुनः संक्रमणका बिरामीहरू बढी मात्रामा फेला परेका छन्। यसका साथै, मेरुदण्ड र घुँडासम्बन्धी समस्या भएका जटिल केसहरूसमेत शिविरमा उपचारका लागि आएका थिए। बालबालिका तथा वयस्कहरूमा ज्वरो आउने र माथिल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमणका धेरै समस्याहरू देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।
शिविरमा राष्ट्रिय ट्रमा सेन्टरका एमडीजीपी डा. सरोज गोहीवार, सिनियर मेडिकल अफिसरहरू डा. सितेश यादव र डा. पुनम पाण्डे, नर्सिङ स्टाफ प्रितिका चौधरीलगायतका स्वास्थ्यकर्मी तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो।
बाढीको विपद्पछि प्रभावित समुदायको घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रवाह गर्दा नागरिकहरूलाई ठूलो राहत पुगेको छ। आयोजकका अनुसार प्रभावित क्षेत्रका नागरिकलाई निरन्तर सहयोग पुर्याउने उद्देश्यले भोलि पनि अर्को केन्द्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिएको छ।
यसैबीच सोही टोलीले विदुरमै बिहीबार थप १८९ जनालाई स्वास्थ्य सेवा दिएका छन्।