काठमाडौं– भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानको १२औँ वार्षिक साधारण सभाका अवसरमा दिवंगत सुरुङ इन्जिनियर डा. भाष्कर बहादुर थापाको ६३औँ जन्मजयन्ती मनाउँदै विशेष समारोह सम्पन्न भएको छ।
लाजिम्पाटस्थित होटेल तिब्बतमा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानले आफ्नो वार्षिक प्रतिवेदनसमेत सार्वजनिक गरेको छ।
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्य एवं प्रतिष्ठानका संस्थापक संरक्षक डा. भेषबहादुर थापाको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा नागढुंगा सुरुङमार्ग निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन योगदान पुर्याउने इन्जिनियरिङ टोलीलाई सम्मान गरिएको छ।
दिवङ्गत इन्जिनियर डा. भाष्करबहादुर थापाको नेपालका विभिन्न स्थानमा सुरुङ निर्माण गर्ने सपनालाई साकार पार्न योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो। उनीहरुलाई प्रमुख अतिथि गगनकुमार थापा र प्रतिष्ठानका संरक्षक डा. भेषबहादुर थापाले सम्मानपत्र प्रदान गरेका थिए।
सोही अवसरमा इन्जिनियरिङ विद्यार्थी मनोज बिसुन्खेलाई ‘डा. भाष्करबहादुर थापा छात्रवृत्ति पुरस्कार’ प्रदान गरिएको थियो।
यसैगरी, प्रतिष्ठानको आगामी दशकको कार्यदिशा तय गर्ने 'स्केलिङ इभिडेन्स टुगेदर: एड्भान्सिङ हेल्दियर, जेन्डर-जस्ट लाइफस्टाइल्स' शीर्षकको वार्षिक प्रतिवेदनसमेत विमोचन गरियो।
प्रतिष्ठानकी संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक प्रा. डा. रीता थापाले प्रतिष्ठानका विषयमा जानकारी दिएकी थिइन्। उनले छोरा भाष्करलाई अचानक हृदयघातबाट गुमाउनु परेको पीडा कुनै पनि आमाबाबुले भोग्नु नपरोस् भन्ने उद्देश्यले प्रतिष्ठानले हृदयरोग रोकथाममा अनुसन्धान केन्द्रित गरेको बताइन्। सन् २०१७ मा तत्कालीन स्वास्थ्य मन्त्री गगनकुमार थापाबाटै शुभारम्भ भएको 'भाष्कर स्कूल हृदय-स्वास्थ्य सशक्तिकरण पहल’ (विशेष) अनुसन्धानले किशोरवयमै धूम्रपान, गुट्खा, मदिरा, अस्वस्थ खानपान र तनावका जोखिमबाट बच्ने प्रविधिको विकास गरेको र यो अन्तर्राष्ट्रिय जर्नलमा समेत प्रकाशित भएको जानकारी दिइन्।
उक्त कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलिया, आईओएमका पूर्वडिन प्रा. डा. जगदीशप्रसाद अग्रवाल र विश्व स्वास्थ्य संगठनका पूर्वनिर्देशक डा. शम्भु आचार्यलगायतको उपस्थिति रहेको थियो।