मेसिन बिग्रनु समस्या हो, तर त्यसलाई लामो समयसम्म नबनाउनु अझ ठूलो समस्या हो।
सार्वजनिक अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीले एउटा परीक्षण वा औषधिमात्र खोजिरहेको हुँदैन। उसले समयमै सेवा, सही उपचार र अस्पतालप्रतिको भरोसा पनि खोजिरहेको हुन्छ।
तर अस्पतालमा महत्त्वपूर्ण परीक्षण गर्ने उपकरण बिग्रिएर लामो समयसम्म सञ्चालनमा आउन नसक्दा समस्या एउटा मेसिनमा मात्र सीमित रहँदैन। परीक्षण रोकिन्छ, रोग पहिचानमा ढिलाइ हुन्छ, उपचार प्रभावित हुन्छ र बिरामी अन्यत्र जान बाध्य हुन्छ। यसले बिरामी र परिवारको समय, पैसा, श्रम र मानसिक तनाव बढाउँछ।
त्यसैले सवाल उपकरण बिग्रियो कि बिग्रिएन भन्ने होइन। मुख्य सवाल हो, “बिग्रिएको उपकरण कति छिटो पुनःसञ्चालनमा ल्याइयो?”
उपकरण बिग्रिनु अस्वाभाविक होइन
अत्याधुनिक चिकित्सा उपकरणमा प्राविधिक समस्या आउन सक्छ। पार्टपुर्जा बिग्रिन सक्छ। प्राविधिक बोलाउनुपर्ने हुन सक्छ। कहिलेकाहीँ विदेशबाट पार्टपुर्जा मगाउनुपर्ने अवस्था पनि आउन सक्छ। यी कुरा अस्वाभाविक होइनन्।
तर सार्वजनिक अस्पतालको उद्देश्य एउटै हुनुपर्छ- समस्या आए पनि सेवा सकेसम्म छिटो सञ्चालनमा ल्याउने।
“मेसिन मर्मत हुँदैछ” भन्नु गलत होइन। तर सेवाग्राहीले त्यसपछि सोध्ने प्रश्नको उत्तर स्पष्ट हुनुपर्छ, “कहिलेसम्म बन्छ?”
यहाँ समस्या के हो, मर्मत कहाँ पुग्यो, पार्टपुर्जा मगाइएको छ कि छैन, प्राविधिक कहिले आउँदैछन् र सम्भावित रूपमा सेवा कहिले सुरु हुन सक्छ भन्ने यथार्थ जानकारी सेवाग्राहीलाई दिनुपर्छ। किनकि अनिश्चित प्रतीक्षा पनि सेवाको समस्याकै एउटा हिस्सा हो।
उपकरण मात्र होइन, मर्मत–सम्भार र सेवा निरन्तरताको सुनिश्चितता पनि खरिद गरौँ
सार्वजनिक अस्पतालले उपकरण खरिद गर्दा कानुन र सार्वजनिक खरिदसम्बन्धी प्रक्रिया पूर्ण रूपमा पालना गर्नुपर्छ। प्रतिस्पर्धा, पारदर्शिता, प्राविधिक मूल्याङ्कन र आर्थिक मूल्याङ्कनमा कुनै सम्झौता गर्नु हुँदैन।
तर खरिद प्रक्रियासँगै एउटा महत्त्वपूर्ण प्रश्न पनि मनन गर्नुपर्छ, “हामी उपकरण मात्र खरिद गर्छौँ कि त्यसको मर्मत, सम्भार र सेवा निरन्तरताको सुनिश्चितता पनि?”
उपकरण खरिद गर्दा मूल्य र प्राविधिक विशेषता मात्र होइन, उपकरण बिग्रिएमा कति समयमा सूचना लिने, कति समयमा प्राविधिक पठाउने, समस्या कति समयमा पहिचान गर्ने, आवश्यक पार्टपुर्जा कति समयमा उपलब्ध गराउने र अधिकतम कति समयमा सेवा पुनःसञ्चालन गर्ने भन्ने विषय पनि सम्झौताको मुख्य हिस्सा बन्नुपर्छ।
यहाँ यी कुरा उल्लेख गर्नुको आशय यो हो कि उपकरण अस्पतालमा आइपुग्नु मात्र खरिदको सफलता होइन। बिरामीलाई आवश्यक परेको समयमा उपकरण सुचारु हुनु नै वास्तविक सफलता हो।
सीएमसी/एएमसीलाई परिणाममुखी बनाऔँ
उपकरणको नियमित मर्मतसम्भार र प्राविधिक प्रतिबद्धताका लागि सीएमसी वा एएमसी आवश्यक व्यवस्थापन हो। तर सम्झौता भयो भन्दैमा सेवा सुनिश्चित भएको मान्न सकिँदैन।
सम्झौताको वास्तविक सफलता कागजमा मात्र होइन, उपकरण कति समय सञ्चालनमा रह्यो भन्ने परिणाममा देखिनुपर्छ। तसर्थ, अत्यावश्यक उपकरणका लागि मर्मतसम्बन्धी समयसीमा, जिम्मेवारी र जवाफदेहिता स्पष्ट तथा मापनयोग्य हुनुपर्छ।
बिग्रिएपछि होइन, बिग्रनुअघि तयारी
अस्पतालमा सबै उपकरणको महत्त्व आ–आफ्नै हुन्छ। सामान्य उपकरणको विकल्प सजिलै भेटिन सक्छ। तर सीटी स्क्यान, एमआरआई, क्याथ ल्याब, अत्याधुनिक प्रयोगशाला, इन्डोस्कोपीजस्ता उपकरण लामो समय बन्द हुँदा उपचारमै असर पर्न सक्छ।
त्यसैले यस्ता उपकरणलाई अत्यावश्यक उपकरणको छुट्टै श्रेणीमा राखेर प्राथमिकतामा राख्न सकिन्छ। यी र यस्ता प्रकृतिका उपकरणका लागि आधिकारिक प्राविधिकको सम्पर्क, मर्मतसम्भार सम्झौता, आवश्यक पार्टपुर्जाको उपलब्धता, आकस्मिक मर्मत योजना र वैकल्पिक परीक्षण व्यवस्थाको अग्रिम तयारी गर्नु प्रभावकारी हुन्छ।
यसले समस्या आएपछि तयारी गर्नुभन्दा समस्या आउनुअघि नै तयारीमा रहने संस्कारको विकास गर्छ।
पार्टपुर्जा विदेशबाट आउन सक्छ, तर पहल रोकिनु हुँदैन
“पार्टपुर्जा विदेशबाट मगाउनुपर्छ” भन्ने अवस्था वास्तविक हुन सक्छ। तर त्यसको अर्थ अस्पतालको पहल पनि रोकिएर बस्नुपर्छ भन्ने होइन।
कुन उपकरणमा कुन पार्टपुर्जा बारम्बार बिग्रिन्छ भन्ने कुरा विगतका अभिलेखबाट थाहा पाउन सकिन्छ। कानुन र सम्झौताको अधीनमा रही अत्यावश्यक पार्टपुर्जाको पूर्वतयारी, न्यूनतम मौज्दात वा आकस्मिक आपूर्ति व्यवस्थाबारे सोच्न सकिन्छ।
यसको मतलव संस्थाको खरिद प्रक्रिया कमजोर बनाउनु होइन। बरु सेवा रोकिँदा समाधानको बाटो छोटो बनाउनु हो।
सेवा रोकिँदा बिरामीलाई निरीह नबनाऔँ
उपकरण लामो समय बिग्रिएमा बिरामीले अन्य अस्पतालमा परीक्षण गर्न जानुको विकल्पबाहेक अन्य उपाय नहुन सक्छ। तर बिरामीलाई “यहाँ छैन” भनेर मात्र छोड्नु सेवामैत्री समाधान होइन।
बिरामीले बाहिर परीक्षण गराउँदा परीक्षण शुल्कसँगै यातायात, समय, साथमा जाने व्यक्तिको खर्च र पुनः अस्पताल आउनुपर्ने झन्झटसमेत व्यहोर्नुपर्छ।
यसका लागि सम्भव भएसम्म अन्य सार्वजनिक वा विश्वसनीय स्वास्थ्य संस्थासँग समन्वय गरी वैकल्पिक परीक्षणको जानकारी दिन सकिन्छ। सेवा अवरुद्ध भएको अवस्थामा पनि यस्तो सहयोगले बिरामीलाई “अस्पतालले साथ र सहयोग दियो” भन्ने सकारात्मक अनुभूति दिलाउँछ।
जानकारी दिनु पनि सेवा हो
अस्पतालको कुनै महत्त्वपूर्ण उपकरणको सेवा सुचारु छैन भने सेवाग्राहीलाई समयमै जानकारी दिनुपर्छ। जानकारी दिने माध्यम सूचना पाटी, वेबसाइट, डिजिटल सूचना प्रणाली वा सम्बन्धित विभाग हुन सक्छ।
उपकरण सुचारु छैन अर्थात् बन्द छ, कारण यस्तो हो, मर्मतको अवस्था यस्तो छ र सम्भावित रूपमा यति समय लाग्न सक्छ भन्ने जानकारी दिन सकिन्छ।
यसले बिरामीलाई अनावश्यक रूपमा अस्पताल धाउनुपर्दैन। चिकित्सकलाई पनि वैकल्पिक उपचार वा परीक्षणको योजना बनाउन सहज हुन्छ।
यो सूचनामूलक कार्य संस्थाको पारदर्शितामा कमजोरी होइन, संस्थाप्रति जनविश्वास बढाउने सकारात्मक माध्यम बन्न सक्छ।
दोषारोपणभन्दा प्रणाली सुधारौँ
उपकरण बिग्रिएपछि सबैभन्दा सजिलो प्रश्न हुन्छ, “कसको गल्ती वा कसको कारण?”
तर यसभन्दा उपयोगी प्रश्न हो, “अब यस्तो समस्या आउँदा सामूहिक जिम्मेवारीमा अझ छिटो समाधान हुने प्रणाली कसरी बनाउने?”
किनकि व्यक्ति फेरिन्छ। प्राविधिक फेरिन्छ। आपूर्तिकर्ता परिवर्तन हुन्छ। प्रविधि पनि परिष्कृत हुन्छ। तर बलियो संस्थागत संयन्त्र बन्यो भने समाधानको बाटो परिवर्तन हुँदैन।
उपकरण बिग्रिएको सन्दर्भमा स्पष्ट कार्यप्रवाह हुनुपर्छ : समस्या पहिचान → सूचना → प्राविधिक प्रतिक्रिया → पार्टपुर्जा व्यवस्था → मर्मत → परीक्षण → सेवा पुनःसञ्चालन।
कार्यप्रवाहको प्रत्येक चरणमा जिम्मेवारी कसको हो र कति समयमा पूरा गर्नुपर्ने हो भन्ने कुरा पूर्वनिर्धारित हुनुपर्छ।
उपकरणको मूल्यभन्दा सेवा उपलब्धता महत्त्वपूर्ण
महँगो उपकरण किन्नु मात्र उपलब्धि नहुन सक्छ। त्यो उपकरण वर्षभरिमा कति दिन सञ्चालनमा रह्यो? बिग्रिएपछि कति समयमा बन्यो? कति दिन सेवा बन्द भयो? भन्ने सूचकको अभिलेखीकरण महत्त्वपूर्ण हुन्छ।
अस्पतालले अत्यावश्यक उपकरणका लागि नियमित रूपमा उपकरण उपलब्ध भएको समय, मर्मत प्रक्रिया सुरु गर्न लागेको समय, मर्मत गर्न लागेको समय, पार्टपुर्जा प्राप्तिको समय र कुल सेवा अवरुद्ध समयजस्ता सूचक राख्न सक्छ।
यसको उद्देश्य कसैलाई दोष दिनु होइन। कहाँ सुधार आवश्यक छ भन्ने तथ्य पत्ता लगाउनु हो।
सस्तो खरिद सधैँ सस्तो हुँदैन
कहिलेकाहीँ कम मूल्यमा उपकरण खरिद गर्नु आर्थिक रूपमा राम्रो देखिन्छ। तर त्यो उपकरणको मर्मत महँगो छ, पार्टपुर्जा सजिलै पाइँदैन र सेवा बारम्बार अवरुद्ध हुन्छ भने अन्ततः त्यसको वास्तविक लागत बढ्न सक्छ।
त्यसैले भविष्यमा उपकरण खरिद गर्दा मूल्यसँगै मर्मत खर्च, पार्टपुर्जाको उपलब्धता, प्राविधिक सेवा, उपकरणको आयु र सेवा प्राप्तिको विश्वसनीयतासमेत विचार गर्नुपर्छ। अर्थात्, उपकरणको मूल्य मात्र होइन, सम्पूर्ण जीवनचक्रको लागत हेर्नु उपयुक्त हुन्छ।
यसले सार्वजनिक स्रोतको सही र दीर्घकालीन उपयोगमा सहयोग पुर्याउँछ।
कानुन पालना गरौँ, सेवा पनि समयमै दिऔँ
सार्वजनिक अस्पतालले कानुनको पालना गर्दै सेवा छिटो दिने प्रावधान बनाउनुपर्छ। पारदर्शी खरिद प्रक्रियाको नीतिगत आधार, सम्झौताको कानुनी आधार तथा सीएमसी/एएमसीको सारभूत व्यवस्थापन हुनुपर्छ।
साथसाथै, सम्झौतामा प्राविधिक सेवा, पार्टपुर्जा आपूर्ति र सेवा पुनःसुचारुको स्पष्ट समयसीमा उल्लेख गर्नुपर्छ। किनकि कानुनभित्रै सेवामुखी समाधान खोज्नु नै प्रभावकारी व्यवस्थापन हो।
अन्त्यमा, “मेसिन बिग्रन सक्छ, तर बिरामीको भरोसा बिग्रन दिनु हुँदैन”—सार्वजनिक अस्पतालका लागि आजको सबैभन्दा महत्त्वपूर्ण प्रतिबद्धता यही हुनुपर्छ।
(लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत हुन्।)