औषधि सही हुनु मात्र उपचार सफलताको आधार होइन। त्यसको सही मात्रा, सही समय, सही विधि र सही बिरामीमा प्रयोग हुनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। औषधिको सुरक्षित, प्रभावकारी र समुचित प्रयोग सुनिश्चित गर्न फार्मासिस्टको भूमिका महत्त्वपूर्ण हुन्छ।
तर फार्मासिस्टको जिम्मेवारी औषधि वितरणमा मात्र सीमित छैन। औषधि अनुसन्धान, उत्पादन, गुणस्तर परीक्षण, आपूर्ति तथा भण्डारणदेखि बिरामी परामर्श, औषधि सुरक्षा, क्लिनिकल सेवा र स्वास्थ्य नीतिसम्म फार्मेसीको दायरा विस्तार भएको छ।
नेपालमा औपचारिक फार्मेसी शिक्षाले सन् १९७२ देखि ५४ वर्षको यात्रा पूरा गरेको छ। यही सन्दर्भमा विश्व फार्मासिस्ट दिवस २०२६ ले नेपाली फार्मेसीको विगत, वर्तमान र आगामी भूमिकामाथि बहस गर्ने अवसर दिएको छ।
विश्व फार्मासिस्ट दिवस २०२६
विश्व फार्मासिस्ट दिवस हरेक वर्ष सेप्टेम्बर २५ मा मनाइन्छ। सन् १९१२ मा स्थापना भएको इन्टरनेसनल फार्मास्युटिकल फेडरेसन (एफआईपी) को काउन्सिलले सन् २००९ मा सेप्टेम्बर २५ लाई विश्व फार्मासिस्ट दिवसका रूपमा मनाउने निर्णय गरेपछि पहिलो दिवस २५ सेप्टेम्बर २००९ मा मनाइएको थियो।
एफआईपी स्थापना भएको दिनको स्मरणमा मनाइने यस दिवसको उद्देश्य औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग, बिरामीको उपचारमा फार्मासिस्टको योगदान र स्वास्थ्य प्रणालीमा उनीहरूको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्नु हो।
विश्व फार्मासिस्ट दिवस २०२६ को अन्तर्राष्ट्रिय मूल नारा 'स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ' रहेको छ।
यस वर्षको अभियानले फार्मासिस्टलाई औषधि आपूर्ति र वितरणमा मात्र सीमित नराखी रोग रोकथाम, औषधिको उचित प्रयोग, स्वास्थ्य साक्षरता, बिरामी परामर्श, स्वास्थ्य सेवामा पहुँच तथा स्वास्थ्य प्रणालीको लचकताका महत्त्वपूर्ण साझेदारका रूपमा स्थापित गर्न जोड दिएको छ।
बदलिँदो स्वास्थ्य आवश्यकता, नसर्ने रोगको बढ्दो भार, डिजिटल स्वास्थ्य, जनसांख्यिक परिवर्तन र स्वास्थ्य प्रणालीमाथिको दबाबबीच फार्मासिस्टलाई आवश्यक सीप, मान्यता र स्वास्थ्य प्रणालीभित्र उचित स्थान दिनुपर्ने सन्देश यस वर्षको नाराले दिएको छ।
फार्मेसी के हो, फार्मासिस्टको भूमिका के हो?
फार्मेसी औषधिको खोज, उत्पादन, गुणस्तर, व्यवस्थापनदेखि यसको सुरक्षित र प्रभावकारी प्रयोगसँग सम्बन्धित विज्ञान हो। यसको अन्तिम उद्देश्य बिरामीले सही औषधि, सही मात्रा र सही तरिकाले प्रयोग गर्न सक्ने वातावरण सुनिश्चित गर्नु हो।
फार्मासिस्ट औषधिसम्बन्धी विशेषज्ञ स्वास्थ्यकर्मी हुन्। उनीहरूले औषधिको सही प्रयोग, सम्भावित प्रतिकूल असर र औषधिबीचको अन्तर्क्रियाबारे बिरामीलाई परामर्श दिनुका साथै चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीसँग सहकार्य गर्छन्। त्यसैले फार्मासिस्ट औषधि वितरण गर्ने जनशक्ति मात्र नभई औषधि सुरक्षा र गुणस्तरीय बिरामी सेवाका महत्त्वपूर्ण सदस्य हुन्।
नेपालमा औषधिको इतिहास: आयुर्वेददेखि आधुनिक औषधि उद्योगसम्म
नेपालमा औषधिको इतिहास निकै पुरानो छ। प्राचीनकालदेखि नै नेपालमा आयुर्वेदिक उपचार तथा विभिन्न जडीबुटीबाट औषधि तयार गर्ने परम्परा रहँदै आएको पाइन्छ। लिच्छवीकालमा नै आयुर्वेदिक उपचारको अभ्यास भएको र अंशुवर्माको शासनकाल ई.सं. ६०५-६२० तिर आयुर्वेदिक अस्पताल स्थापना भएको उल्लेख छ। त्यस्तै, ई.सं. १६४१-१६७४ सम्म राजा प्रताप मल्लको शासनकालमा दरबारमा आयुर्वेदिक औषधि उत्पादन गर्ने इकाइ स्थापना गरिएको इतिहासमा उल्लेख पाइन्छ।
आधुनिक एलोप्याथिक औषधिको प्रयोग भने सन् १८१६ को सुगौली सन्धिपछि नेपालमा क्रमशः बढ्दै गएको मानिन्छ। आधुनिक औषधि उद्योगको विकासतर्फ हेर्दा सन् १९६९ मा निजी क्षेत्रबाट केमिड्रग इन्डस्ट्रिज प्रा.लिले औषधि उत्पादन सुरु गरेको पाइन्छ। त्यसपछि सन् १९७२ (वि.सं. २०२९) मा सरकारी क्षेत्रको रोयल ड्रग लिमिटेड स्थापना भई आधुनिक एलोप्याथिक औषधि उत्पादनको संस्थागत सुरुवात भयो, जुन पछि नेपाल औषधि लिमिटेडका रूपमा परिचित भयो।
यही सन् १९७२ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गत पिसिएल फार्मेसी कार्यक्रम सुरु भएसँगै नेपालमा औपचारिक फार्मेसी शिक्षाको समेत सुरुवात भयो। त्यसपछि नेपालमा औषधि उद्योग, फार्मेसी शिक्षा र फार्मासिस्ट जनशक्तिको विकास क्रमशः विस्तार हुँदै गयो।
औषधिको नियमन तथा गुणस्तर नियन्त्रणलाई संस्थागत बनाउन सन् १९७९ (वि.सं. २०३६) मा औषधि व्यवस्था विभाग स्थापना गरियो। यससँगै औषधिको उत्पादन, आयात, बिक्री वितरण तथा गुणस्तरसम्बन्धी नियमनलाई संस्थागत आधार प्राप्त भयो।
यसरी हेर्दा नेपालको औषधि क्षेत्र आयुर्वेदिक तथा परम्परागत औषधि प्रणालीबाट सुरु भएर आधुनिक औषधि अनुसन्धान, उत्पादन, गुणस्तर नियन्त्रण, औषधि नियमन, औषधि सूचना, वैज्ञानिक फार्मेसी शिक्षा, क्लिनिकल सेवा, जनस्वास्थ्य तथा बिरामी केन्द्रित उपचारसम्म विस्तार हुँदै आएको लामो ऐतिहासिक यात्राको परिणाम हो।
५४ वर्षमा नेपाली फार्मेसी शिक्षा: पिसिएलदेखि पीएच.डीसम्म
नेपालमा आधुनिक फार्मेसी शिक्षाको संस्थागत विकासलाई हेर्दा सन् १९७२ महत्त्वपूर्ण वर्ष हो। त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ मेडिसिनले फार्मेसीमा डिप्लोमा तहको पिसिएल कार्यक्रम सुरु गरेसँगै नेपालमा औपचारिक फार्मेसी शिक्षाको सुरुवात भएको थियो। त्यसपछि फार्मेसी शिक्षा डिप्लोमा तहबाट स्नातक हुँदै स्नातकोत्तर र विद्यावारिधि तहसम्म विस्तार भएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले वि.सं. २०६१ देखि डिप्लोमा इन फार्मेसी कार्यक्रम सञ्चालनमा ल्याएको हो। हाल नेपाल फार्मेसी परिषद्मा दर्ता तथा मान्यता प्राप्त सीटीईभीटी अन्तर्गत डिप्लोमा इन फार्मेसी अध्यापन गराउने ५१ वटा कलेज सञ्चालनमा रहेका छन्।
स्नातक तहमा बी.फार्मेसी कार्यक्रम काठमाडौँ विश्वविद्यालयबाट वि.सं. २०५१, त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०५७, पोखरा विश्वविद्यालयबाट वि.सं. २०५८ र पूर्वाञ्चल विश्वविद्यालयबाट वि.सं. २०६२ देखि सञ्चालनमा आएको हो।
त्यस्तै, काठमाडौँ विश्वविद्यालयबाट फार्म-डी कार्यक्रम वि.सं. २०६७ देखि सुरु भएको हो। हाल नेपाल फार्मेसी परिषद्मा दर्ता तथा मान्यता प्राप्त बी.फार्मेसी अध्यापन गराउने २४ वटा कलेज रहेका छन्।
स्नातकोत्तर तहमा मास्टर अफ फार्मेसी कार्यक्रम काठमाडौँ विश्वविद्यालयबाट सन् २०००, पोखरा विश्वविद्यालयबाट सन् २००५ र पूर्वाञ्चल विश्वविद्यालयबाट सन् २०१६ देखि सञ्चालनमा आएको हो। काठमाडौं विश्वविद्यालयबाट सन् २००४ देखि फार्मेसीमा पीएच.डी. कार्यक्रमसमेत सुरु भएको छ। हाल नेपालमा विभिन्न विश्वविद्यालय अन्तर्गत एम.फार्मेसी अध्यापन गराउने करिब १० वटा शैक्षिक संस्था रहेका छन्।
उपलब्ध सिट क्षमताका आधारमा एक शैक्षिक सत्रमा डिप्लोमा इन फार्मेसी तहमा अधिकतम करिब २,०४०, स्नातक तहमा करिब ७५५ र स्नातकोत्तर तहमा करिब १४० विद्यार्थी अध्ययन गर्न सक्ने क्षमता रहेको देखिन्छ।
यसले फार्मेसी शिक्षाको दायरा विस्तार भएको देखाए पनि सङ्ख्या बढ्नु मात्र पर्याप्त छैन। शिक्षाको गुणस्तर, प्रयोगात्मक अभ्यास, दक्ष शिक्षक, प्रयोगशाला, अस्पतालमा व्यावहारिक प्रशिक्षण तथा उत्पादित जनशक्तिका लागि पर्याप्त रोजगारीका अवसर सुनिश्चित गर्नु उत्तिकै महत्त्वपूर्ण विषय हो।
पेशागत संस्थादेखि नियमनसम्म
नेपालमा फार्मेसी पेशाको संस्थागत विकासमा नेपाल फार्मास्युटिकल एसोसिएसनको पनि महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। एनपिएका अनुसार यसको स्थापना सन् १९७२ मा २७ सदस्यबाट भएको थियो। त्यसपछि सन् २००१ अर्थात् वि.सं. २०५८ मा नेपाल फार्मेसी परिषद्को स्थापना भएपछि फार्मेसी पेशाले थप संस्थागत तथा नियामकीय आधार प्राप्त गर्यो।
नेपाल फार्मेसी परिषद् ऐन, २०५७ ले फार्मासिस्ट तथा फार्मेसी सहायकको नाम दर्ता, व्यावसायिक योग्यता, पेशागत मापदण्ड र आचारसंहितालगायत विषयलाई कानुनी आधार दिएको छ। नेपाल फार्मेसी परिषद्को हाल उपलब्ध तथ्याङ्क अनुसार ८,३५५ जना फार्मासिस्ट र १६,९७७ जना फार्मेसी सहायक नाम दर्ता भएका छन्।
तर जनशक्तिको सङ्ख्या बढ्दै जानु मात्र पर्याप्त छैन। स्वास्थ्य संस्थामा फार्मासिस्टको दरबन्दी र उपस्थिति, ग्रामीण तथा दुर्गम क्षेत्रमा जनशक्तिको उचित वितरण, रोजगारीका अवसर, कार्यक्षेत्रको स्पष्टता र दक्षताको पूर्ण उपयोग अझै महत्त्वपूर्ण चुनौतीका रूपमा रहेका छन्।
फार्मासिस्ट कहाँ छन्?
आज फार्मासिस्टको कार्यक्षेत्र औषधि पसलमा मात्र सीमित छैन। सरकारी तथा निजी अस्पताल, अस्पताल फार्मेसी, सामुदायिक फार्मेसी, औषधि उद्योग, गुणस्तर नियन्त्रण तथा सुनिश्चितता, औषधि नियमन, आयात तथा आपूर्ति, अनुसन्धान, विश्वविद्यालय तथा शैक्षिक संस्था, क्लिनिकल फार्मेसी, औषधि सूचना सेवा र जनस्वास्थ्य लगायत क्षेत्रमा फार्मासिस्टको भूमिका विस्तार भएको छ।
औषधि व्यवस्था विभागले औषधिको उत्पादन, आयात, निर्यात, बिक्री, वितरण, भण्डारण तथा प्रयोगसँग सम्बन्धित नियमन गर्छ। फार्मेसी दर्ता तथा नवीकरण, औषधि उद्योगको निरीक्षण, औषधिको गुणस्तर तथा बजार अनुगमनलगायत कार्यमा पनि यसको महत्त्वपूर्ण भूमिका छ।
फार्मासिस्टको भूमिका: औषधि वितरणभन्दा अगाडि
आधुनिक स्वास्थ्य प्रणालीमा फार्मासिस्ट औषधि विशेषज्ञका रूपमा कार्य गर्छन्। औषधिको सही मात्रा, प्रयोग विधि, सम्भावित प्रतिकूल असर तथा औषधिबीचको अन्तर्क्रियाबारे बिरामीलाई आवश्यक परामर्श दिनु उनीहरूको महत्त्वपूर्ण जिम्मेवारी हो।
अस्पतालमा हस्पिटल फार्मेसी, क्लिनिकल फार्मेसी, औषधि सूचना सेवा, एन्टिमाइक्रोबियल स्टेवार्डसिप तथा औषधि सुरक्षामा फार्मासिस्टले चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीसँग सहकार्य गर्न सक्छन्। सामुदायिक फार्मेसीमा पनि औषधिको सही प्रयोग, सेवन विधि, उपचार अवधि तथा स्व-औषधोपचारका सम्भावित जोखिमबारे बिरामीलाई परामर्श दिने भूमिका महत्त्वपूर्ण हुन्छ।
यस अर्थमा फार्मासिस्टलाई केवल औषधि वितरण गर्ने जनशक्तिका रूपमा होइन, औषधि सुरक्षा र बिरामी केन्द्रित स्वास्थ्य सेवाका महत्त्वपूर्ण सदस्यका रूपमा बुझ्न आवश्यक छ।
अस्पताल फार्मेसी: औषधि राख्ने कोठाबाट बिरामी केन्द्रित सेवासम्म
नेपालको स्वास्थ्य प्रणालीमा अस्पताल फार्मेसी सुधारको महत्त्वपूर्ण क्षेत्र हो। अस्पताल फार्मेसीलाई केवल औषधि खरिद, भण्डारण र वितरण गर्ने इकाइका रूपमा बुझ्ने पुरानो सोच परिवर्तन गर्न आवश्यक छ।
आधुनिक अस्पताल फार्मेसीमा औषधिको छनोट, खरिद, आपूर्ति, भण्डारण र वितरणसँगै औषधिको गुणस्तर, औषधि सूचना, बिरामी परामर्श, औषधि उपयोग समीक्षा, औषधिबीचको अन्तरक्रिया पहिचान तथा प्रतिकूल औषधि प्रतिक्रिया निगरानीसमेत जोडिनुपर्छ।
विशेषगरी सरकारी अस्पतालमा व्यवस्थित अस्पताल फार्मेसी सञ्चालन हुन सके बिरामीले चिकित्सकले सिफारिस गरेको औषधि अस्पतालमै सहज रूपमा प्राप्त गर्न सक्छन्। यसले औषधिको उपलब्धता, मूल्य तथा वितरण प्रणालीमा पारदर्शिता बढाउन सहयोग गर्न सक्छ।
औषधिको अनावश्यक मौज्दात, अभाव, म्याद गुज्रिएका औषधि तथा खरिद व्यवस्थापनका समस्या कम गर्न डिजिटल औषधि तथा भण्डार व्यवस्थापन, नियमित स्टक मिलान, म्याद समाप्ति निगरानी, मानक सञ्चालन कार्यविधि र स्पष्ट जवाफदेहिताको व्यवस्था आवश्यक छ।
अस्पताल फार्मेसी बलियो हुनु भनेको औषधि व्यवस्थापन मात्र बलियो हुनु होइन; यो बिरामी सुरक्षा र उपचारको गुणस्तरसँग पनि प्रत्यक्ष जोडिएको विषय हो।
नेपाली औषधि उद्योग: विस्तार, गुणस्तर र आयात निर्भरता
नेपालमा औषधि उद्योगको सङ्ख्या र उत्पादन क्षमता पछिल्ला वर्षहरूमा विस्तार भएको छ। औषधि व्यवस्था विभागको उपलब्ध विवरण अनुसार नेपालमा करिब २०१ वटा औषधि उत्पादन कम्पनी दर्ता रहेका छन्। तीमध्ये १२९ वटा एलोप्याथिक मानव औषधि, ६० वटा आयुर्वेदिक र १२ वटा एलोप्याथिक भेटेरिनरी औषधि उत्पादनसँग सम्बन्धित उद्योग रहेका छन्।
तर दर्ता भएका सबै उद्योग पूर्ण उत्पादन क्षमतामा सञ्चालनमा छैनन्। सक्रिय उत्पादन गर्ने स्वदेशी औषधि उद्योगको सङ्ख्या करिब १०० आसपास रहेको देखिन्छ।
नेपालको औषधि उत्पादन क्षेत्र पछिल्ला वर्षहरूमा गुणस्तर मापदण्ड र नियामकीय अनुपालनतर्फ अघि बढिरहेको छ। औषधि व्यवस्था विभागको वि.सं. २०८३ भदौ १ गतेसम्मको विवरण अनुसार विश्व स्वास्थ्य संगठनको जिएमपी गाइडलाइन तथा औषधि उत्पादन कुशल अभ्यास संहिता, २०७२ बमोजिम प्रमाणीकरण भएका स्वदेशी औषधि उद्योगको सङ्ख्या ७८ पुगेको छ।
नेपाल औषधि उत्पादक संघको उपलब्ध तथ्याङ्क अनुसार नेपालको कुल औषधि बजार ९० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। आर्थिक वर्ष २०८१/८२ मा स्वदेशी औषधि उद्योगको कारोबार करिब ३५ अर्ब ६१ करोड रुपैयाँ पुगेको सङ्घको तथ्याङ्कले देखाउँछ। सङ्घका अनुसार नेपाली औषधि उद्योगले नेपालको औषधि बजारमा करिब ४५ प्रतिशत हिस्सा ओगटेको छ। भ्याक्सिन बाहेकको बजारमा भारतीय औषधिको हिस्सा करिब ५० प्रतिशत, नेपाली औषधिको ४५ प्रतिशत र अन्य मुलुकबाट आयातित औषधिको हिस्सा करिब ५ प्रतिशत रहेको सङ्घको दाबी छ।
यसले स्वदेशी औषधि उद्योगको आधार विस्तार भए पनि नेपालको औषधि बजार अझै ठूलो मात्रामा आयातमा निर्भर रहेको देखाउँछ।
९० अर्बको औषधि बजार: आत्मनिर्भरताको चुनौती
औषधिजस्तो अत्यावश्यक वस्तुमा आयात निर्भरता स्वास्थ्य सुरक्षा र अर्थतन्त्र दुवैसँग जोडिएको विषय हो। तर औषधिमा आत्मनिर्भरता भन्नाले सबै प्रकारका औषधि नेपालमै उत्पादन गर्नु मात्र बुझिँदैन। अत्यावश्यक औषधिको पर्याप्त उत्पादन, गुणस्तरीयता, नियमित आपूर्ति र सङ्कटका बेला पनि औषधि उपलब्ध गराउन सक्ने राष्ट्रिय क्षमता निर्माण गर्नु आत्मनिर्भरताको महत्त्वपूर्ण आधार हो।
स्वदेशी उद्योगका चुनौतीमा कच्चा पदार्थमा आयात निर्भरता, अनुसन्धान तथा विकासमा न्यून लगानी, अत्याधुनिक प्रविधिको सीमितता, उत्पादन लागत, वित्तीय तथा नीतिगत समस्या र बजार प्रतिस्पर्धा रहेका छन्।
त्यसैले स्वदेशी उद्योगलाई संरक्षण मात्र होइन, अन्तर्राष्ट्रिय गुणस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने नीति आवश्यक छ। अनुसन्धान तथा विकास, प्रविधि हस्तान्तरण, कच्चा पदार्थ उत्पादन, अत्यावश्यक औषधिको स्थानीय उत्पादन र सरकारी खरिद नीतिमा गुणस्तर तथा प्रतिस्पर्धात्मक मूल्यलाई केन्द्रमा राख्न आवश्यक छ।
औषधिको गुणस्तर परीक्षण: राष्ट्रिय औषधि प्रयोगशालाको भूमिका
औषधि बजारमा पुगेपछि त्यसको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। नेपालमा औषधिको गुणस्तर परीक्षण तथा विश्लेषणका लागि रोयल ड्रग रिसर्च ल्याबोरेटरीको स्थापना सन् १९६४ मा भएको उल्लेख पाइन्छ। पछि सन् १९७२ मा यसलाई राष्ट्रिय औषधि प्रयोगशालामा रूपान्तरण गरिएको थियो। राष्ट्रिय औषधि प्रयोगशालाले औषधिको रासायनिक, सूक्ष्मजीव, फार्माकोलोजिकल तथा अन्य वैज्ञानिक विश्लेषणसम्बन्धी काम गर्दै आएको छ।
आधुनिक उपकरण, दक्ष जनशक्ति, गुणस्तरीय प्रयोगशाला प्रणाली र वैज्ञानिक परीक्षण क्षमताको विस्तारले औषधिको गुणस्तर सुनिश्चित गर्न तथा नियामकीय निर्णयलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउन सक्छ।
अबको चुनौती र सरकारको प्राथमिकता
नेपालमा फार्मेसी क्षेत्रको विकासका लागि अब जनशक्ति उत्पादन बढाउनु मात्र पर्याप्त छैन। उत्पादित फार्मासिस्टको ज्ञान, सीप र विशेषज्ञतालाई स्वास्थ्य सेवामा प्रभावकारी रूपमा उपयोग गर्ने नीति आवश्यक छ।
सरकारी अस्पतालमा अस्पताल तथा क्लिनिकल फार्मेसी सेवा विस्तार गर्दै उपचार टोलीमा फार्मासिस्टको भूमिका स्पष्ट गर्न आवश्यक छ। औषधि इतिहास, औषधिबीचको अन्तरक्रिया, सही मात्रा, प्रतिकूल असर तथा औषधि प्रयोग सम्बन्धी त्रुटि पहिचानमा फार्मासिस्टको प्रत्यक्ष सहभागिता बढाउन सकिन्छ। त्यसैगरी, औषधि सुरक्षा, फार्माकोभिजिलेन्स, एन्टिमाइक्रोबियल स्टेवार्डसिप र डिजिटल औषधि व्यवस्थापन प्रणालीलाई स्वास्थ्य संस्थाको नियमित सेवासँग जोड्न आवश्यक छ।
फार्मेसी शिक्षाको विस्तारसँगै गुणस्तरीय प्रयोगात्मक अभ्यास, अनुसन्धान, दक्ष शिक्षक र अस्पतालमा व्यावहारिक प्रशिक्षणमा पनि पर्याप्त ध्यान दिनुपर्छ। उत्पादित जनशक्तिका लागि रोजगारी र सीपअनुसारको कार्यक्षेत्र सुनिश्चित गर्नु अर्को महत्त्वपूर्ण विषय हो।
स्वदेशी औषधि उद्योगलाई प्रतिस्पर्धी बनाउन अनुसन्धान, नवप्रवर्तन, प्रविधि र उत्पादन क्षमतामा लगानी बढाउनुपर्छ। कच्चा पदार्थदेखि औषधि उत्पादनसम्मको मूल्य शृङ्खला विकास गर्न सके औषधि क्षेत्रमा आयात निर्भरता घटाउन सहयोग पुग्न सक्छ।
सामुदायिक फार्मेसीलाई पनि औषधि बिक्री केन्द्रको सीमित भूमिकाबाट माथि उठाएर बिरामी परामर्श र सुरक्षित औषधि प्रयोगको केन्द्रका रूपमा विकास गर्न आवश्यक छ।
अब सङ्ख्या होइन, उपयोगको प्रश्न
नेपालमा फार्मेसी शिक्षाले सन् १९७२ देखि ५४ वर्षको यात्रा पूरा गर्दै डिप्लोमादेखि स्नातक, फार्म-डी, स्नातकोत्तर हुँदै पीएच.डी. तहसम्म विस्तार भएको छ। यससँगै औषधि उद्योग, अस्पताल, अनुसन्धान, नियमन तथा सामुदायिक स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिका पनि विस्तार हुँदै गएको छ।
तर अबको चुनौती केवल कति फार्मासिस्ट उत्पादन भए? भन्ने होइन। उत्पादित जनशक्तिको ज्ञान, सीप र विशेषज्ञतालाई बिरामीको सुरक्षित उपचार, औषधि सुरक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा कति प्रभावकारी रूपमा उपयोग गर्न सकियो? भन्ने प्रश्न अझ महत्त्वपूर्ण बन्दै गएको छ।
औषधिको गुणस्तर र उपलब्धता, स्वदेशी उत्पादन, फार्मेसी शिक्षाको गुणस्तर, अस्पताल तथा क्लिनिकल फार्मेसी, औषधि नियमन, अनुसन्धान र जनशक्ति व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउन सके नेपालको फार्मेसी क्षेत्र स्वास्थ्य प्रणालीको अझ प्रभावकारी साझेदार बन्न सक्छ। विश्व फार्मासिस्ट दिवस २०२६ को सन्देश पनि यही दिशातर्फ केन्द्रित छ, फार्मासिस्टको ज्ञान, सीप र विशेषज्ञतालाई सशक्त बनाउँदै स्वस्थ भविष्य निर्माणमा उनीहरूको भूमिका प्रभावकारी बनाउने। “स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ।”
-(फार्मासिस्ट कृष्ण नन्दन मेहता जिल्ला अस्पताल, डोल्पामा फार्मेसी शाखा प्रमुखका रुपमा कार्यरत छन्।)