काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा महत्वपूर्ण जिम्मेवारीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएकी छन्।
प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि डा. मिश्राले सामाजिक सञ्जालमार्फत नयाँ जिम्मेवारीप्रति आफू प्रतिबद्ध रहेको बताएकी छन्।
उनले लेखेकी छन्, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नयाँ जिम्मेवारी पाउँदा आभारी र सम्मानित महसुस गरेकी छु। विनम्रताका साथ यो अवसरलाई स्वीकार गर्दै सार्वजनिक सेवाप्रतिको आफ्नो गहिरो प्रतिबद्धता कायम राख्नेछु।’
उनले इमानदारी, व्यावसायिकता र समर्पणका साथ आगामी चुनौती सामना गर्ने तथा राष्ट्रका लागि अर्थपूर्ण योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मिश्रालाई प्रधानमन्त्री कार्यालयमा ल्याएको हो। स्वास्थ्य क्षेत्रमा लामो प्रशासनिक अनुभव रहेकी डा. मिश्राले प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विषयको समन्वय तथा सहजीकरण गर्ने जिम्मेवारी पाउने बुझिएको छ।
मन्त्री बन्ने तयारी, अन्तिम समयमा नाम रोकियो।
४ जना मन्त्रीले लिए शपथ, सूचीबाट हटाइन् डा संगीता
डा. मिश्रालाई यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनलाई स्वास्थ्य मन्त्री बनाउन सिफारिस गरिएको थियो। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानसँग सम्बन्धित विषय सार्वजनिक भएपछि उनको नाम अन्तिम समयमा मन्त्रीको सूचीबाट हटाइएको थियो।
मन्त्री बन्ने सम्भावना बढेपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामासमेत दिएकी थिइन्। तर, मन्त्री नियुक्ति रोकिएपछि उनी पुनः स्वास्थ्य मन्त्रालय फर्किएकी थिइन्।
त्यतिबेला उनीमाथि स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा भएको म्यामोग्राफी मेसिन खरिदसम्बन्धी अनियमितताको अनुसन्धान चलिरहेको थियो। अख्तियारले पछि उनीसहितका अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि डा. मिश्रा स्वास्थ्य मन्त्रालयमा पुनः हाजिर भएकी थिइन्। म्यामोग्राफी मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले डा. मिश्रासहित आठ जनालाई सफाइ दिएको हो। अदालतले उनीलगायतका अधिकारीहरूको निर्णय प्रक्रियामा संलग्नता देखिए पनि भ्रष्टाचारमा प्रत्यक्ष संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नपाइएको निष्कर्ष निकालेको थियो। सोही मुद्दामा अन्य ६ जनालाई भने दोषी ठहर गरिएको थियो।
डा संगीता मिश्रासहित ८ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए
स्वास्थ्य सचिवमा डा. देवकोटा 'स्वीकार्न' असहज
वर्तमान स्वास्थ्य सचिव डा. विकास देवकोटाको नियुक्तिलाई लिएर अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रासँग लामो समयदेखि असन्तुष्टि रहँदै आएको थियो। सचिव नियुक्तिको विषयलाई लिएर उनले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन्।
सरकारले तत्कालीन अतिरिक्त सचिव डा. देवकोटालाई २०८१ फागुन २१ गते स्वास्थ्य सचिवमा बढुवा गरेको थियो। आफू वरिष्ठताक्रममा अगाडि रहेको दाबी गर्दै डा. मिश्राले आफूलाई सचिवमा नियुक्त नगरिएको भन्दै २०८१ चैत १ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
रिट दायर गरेपछि उनी करिब ६ महिना लामो बिदामा बसेकी थिइन्। त्यसपछि केही समयका लागि स्वास्थ्य मन्त्रालय फर्किए पनि उनी पुनः मन्त्री बन्ने चर्चामा आएकी थिइन्। तर, अख्तियारमा विचाराधीन विषयका कारण उनको मन्त्री बन्ने प्रक्रिया रोकियो। भ्रष्टाचार मुद्दामा अदालतबाट सफाइ पाएपछि उनी स्वास्थ्य मन्त्रालय फर्किएकी हुन्।
सर्वोच्च पुगिन् डा संगीता मिश्रा, दुवै पक्षलाई छलफलमा आउन अदालतको आदेश
तर, आफूले सचिव नियुक्तिविरुद्ध नै अदालतमा रिट दायर गरेका डा. देवकोटाको मातहतमा रहेर काम गर्न डा. मिश्रालाई सहज नभएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।
एक अधिकारीका अनुसार सचिव डा. देवकोटाले कार्यसम्बन्ध सहज बनाउन प्रयास गरे पनि दुईबीचको सम्बन्ध सहज बन्न सकेन। ‘सचिव र अतिरिक्त सचिवका रूपमा संस्थागत रूपमा काम गर्नुपर्ने अवस्था भए पनि विगतको विवादका कारण सम्बन्ध सहज हुन सकेन,’ ती अधिकारीले भने।
मन्त्रालयमा जिम्मेवारी बाँडफाँट र कार्यसम्बन्धलाई सहज बनाउने विषयमा छलफल भइरहेकै समयमा डा. मिश्राको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको हो।
स्वास्थ्य मन्त्री मेहतासँग निकटता र विकटता
स्वास्थ्य मन्त्रालय फर्किएपछि अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा केही समय स्वास्थ्यमन्त्री निशा मेहतासँग निकट रहेर काम गरेकी थिइन्। मन्त्रालय फर्किएको करिब एक महिनासम्म उनी प्रायः मन्त्रीकै कार्यकक्षमा भेटिने गरेको मन्त्रालयका अधिकारीहरू बताउँछन्।
मन्त्रीसँग डा. मिश्राको निरन्तर निकटताप्रति मन्त्रालयका केही अधिकारीले असहजता व्यक्त गर्दै नेतृत्वसमक्ष गुनासोसमेत गरेका थिए। अतिरिक्त सचिवको जिम्मेवारी र कार्यक्षेत्रलाई स्पष्ट पारेर काम गर्ने वातावरण बनाउनुपर्ने विषयमा त्यसपछि मन्त्रालयभित्र छलफल भएको थियो।
त्यसक्रममा डा. मिश्रालाई मन्त्रीको कार्यकक्षबाट केही दूरीमा राख्दै उनको जिम्मेवारी र कार्यक्षेत्र स्पष्ट रूपमा तोकेर काम गराउने विषयमा छलफल भएको एक अधिकारीले बताए।
तर, मन्त्रालयमा जिम्मेवारी व्यवस्थापनबारे छलफल भइरहेकै बेला उनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको हो।
प्रधानमन्त्री कार्यालयमा उनको सरुवासँगै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विषयमा समन्वय तथा सहजीकरण गर्ने जिम्मेवारी दिइने तयारी रहेको बताइएको छ।
स्वास्थ्य प्रशासनमा लामो अनुभवको उपयोग
डा. संगीता कौशल मिश्राले स्वास्थ्य प्रशासनमा लामो समयदेखि विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी छन्। उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक, कोशी अस्पताल तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नेतृत्वमा रहिसकेकी छन्।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार प्रशासनिक र व्यवस्थापकीय अनुभवका हिसाबले डा. मिश्रा स्वास्थ्य सेवाभित्र अनुभवी जनशक्ति हुन्। उनीसँग स्वास्थ्य कार्यक्रमको कार्यान्वयनदेखि अस्पताल प्रशासन र विभागीय नेतृत्वसम्मको अनुभव छ।
‘केही प्राविधिक कमजोरी, महत्वाकांक्षा र विगतका केही असफलतालाई मात्रै आधार बनाएर उहाँको समग्र प्रशासनिक क्षमतालाई मूल्यांकन गर्न हुँदैन,’ मन्त्रालयका एक अधिकारीले भने, ‘स्वास्थ्य प्रशासनमा उहाँसँग लामो अनुभव छ र कतिपय क्षेत्रमा उहाँको कार्यक्षमता बलियो देखिएको छ।’
स्वास्थ्य सेवा विभागको महानिर्देशकका रूपमा रहँदा उनले राष्ट्रिय खोप अभियान, जनस्वास्थ्य कार्यक्रम तथा विभिन्न स्वास्थ्य कार्यक्रमको समन्वय र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्।
स्वास्थ्य प्रशासनमा लामो समयदेखि चर्चामा रहँदै आएकी डा. मिश्राको जिम्मेवारी अब स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ।
प्रधानमन्त्री कार्यालयमा रहेर उनले स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयबीच समन्वय गर्ने गरी जिम्मेवारी पाउने सम्भावना रहेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। स्वास्थ्य क्षेत्रसँग सम्बन्धित नीति, कार्यक्रम तथा प्रशासनिक विषयमा प्रधानमन्त्री कार्यालयलाई आवश्यक समन्वय र सहजीकरण गर्ने भूमिकामा उनलाई उपयोग गर्ने तयारी रहेको बुझिएको छ।