काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता मिश्रासहित ८ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्।
म्यामोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार फैसला सुनाउँदै डा. मिश्रसहित ८ जनालाई सफाइ दिएको हो।
डा. मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा मेमोग्राम मेसिन खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।
अदालतले यस प्रकरणमा उनीहरूको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै सफाइ दिने निर्णय गरेको हो।
डा. मिश्रासहित विवेक कुमार लाल, भुवन प्रसाद काफ्ले, दिपक अधिकारी, यादव प्रसाद देवकोटा, शम्भु प्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकालले सफाइ पाएका छन्।
तर सोही केसमा डा श्रवण, डा चौरसिया सहित चार जना भने दोषी ठहर भएका छन्। उनीहरुलाई चार महिना कैदसहित जरिवाना सजाय तोकिएको छ। यस्तै सामान आपूर्ति गर्ने 'Maxim Incorporation Traders Pvt. Ltd.' का संचालक सुन्दर भुषाल र उक्त कम्पनीलाई मुख्य दोषीहरूको मतियार भएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम कैद र जरिवानाको फैसला गरिएको छ।

