काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता कौशल मिश्राले सचिव नबनाइएको मुद्दामा सर्वोच्च गुहारेकी छिन्। सरकारविरुद्ध सर्वोच्च अदालतमा उनले दायर गरेको रिटलाई लिएर न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले दुवैपक्षलाई छलफलका लागि बोलाएको छ।
वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै मिश्राले चैत १ गते सर्वाेच्चमा रिट निवेदन दिएकी थिइन्। उक्त विषयलाई लिएर सर्वाेच्चले सरकारलाई कारण देखाउन समेत भनेको छ। रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएकी छिन्।
गत फागुन २१ मा बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त सचिव डा विकास देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो। आफूलाई सचिव नबनाइएपछि डा मिश्राले स्वास्थ्य मन्त्री प्रदिप पौडेलको राजीनामा समेत मागेकी थिइन्।
मन्त्रिपरिषदमा लाेकसेवा आयोगले नयाँ सचिवका लागि मन्त्रालयका तीन अतिरिक्त सचिवहरु डा मिश्रा, डा विकास देवकोटा र डा टंक बाराकोटी सिफारिस गरेको थियो।
असन्तुष्टि प्रकट गरेकी डा मिश्रा बिदामा बसेकी छिन् भने डा बाराकोटी स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त भएका छन्।