'रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम' भन्ने भनाइ जनस्वास्थ्यको मूल मर्म हो। तर सबै रोगको पूर्ण रोकथाम सधैँ सम्भव नहुन सक्छ। त्यसैले रोगको समयमै पहिचान, शीघ्र निदान, प्रभावकारी नियन्त्रण तथा रोकथाम र उचित उपचारमार्फत रोगको भार, जटिलता, अपाङ्गता र मृत्युदर कम गर्नु जनस्वास्थ्यको प्रमुख उद्देश्य हो।
मानव इतिहासमा कहिले हैजा, प्लेग र बिफरजस्ता महामारी त कहिले सार्स, इबोला र कोभिड–१९ जस्ता नयाँ सङ्क्रामक रोगहरूले विभिन्न समुदाय, राष्ट्र र विश्वलाई नै गम्भीर रूपमा प्रभावित गरेको देखिन्छ। नयाँ रोगको उद्भव तथा पहिले नियन्त्रणमा आइसकेका रोगको पुनःप्रकोपले जनस्वास्थ्यका चुनौतीहरू निरन्तर बदलिँदै गएको देखाउँछ। यस्ता प्रकोपले मानवीय क्षतिका साथै स्वास्थ्य सेवा, शिक्षा, अर्थतन्त्र र सामाजिक जीवनमा समेत असर पार्छन्।
अन्तर्राष्ट्रिय आवतजावत, बसाइँसराइ र व्यापारका कारण स्थानीय स्तरमा देखिएका रोग पनि विश्वव्यापी स्वास्थ्य चुनौती बनिरहेका छन्। जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरण, मानव र पशुबीचको बढ्दो सम्पर्क तथा जीवाणुरोधी औषधिप्रतिको प्रतिरोध क्षमताले रोगको जोखिम थप जटिल बनाएका छन्। त्यसैले रोगको निगरानी, प्रकोपको प्रारम्भिक पहिचान, अनुसन्धान र तथ्यमा आधारित प्रभावकारी प्रतिकार्यका लागि दक्ष जनशक्ति अपरिहार्य छ।
यी उद्देश्य हासिल गर्न रोगको निरन्तर निगरानी, प्रकोपको शीघ्र पहिचान, तथ्याङ्कको विश्लेषण तथा प्रमाणमा आधारित निर्णय र प्रतिकार्य आवश्यक हुन्छन्। विशेषगरी महामारी, सङ्क्रामक रोगहरूको प्रकोप तथा अन्य जनस्वास्थ्य आपत्कालका बेला समयमै सही निर्णय लिन सक्ने दक्ष जनशक्तिको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ।
यही आवश्यकतालाई सम्बोधन गर्ने प्रमुख माध्यम फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम हो। यो रोग निगरानी, महामारी विज्ञानसम्बन्धी तथ्याङ्क विश्लेषण, प्रकोप अनुसन्धान, रोकथाम तथा जनस्वास्थ्य आपत्कालीन प्रतिक्रियाका लागि दक्ष जनशक्ति विकास गर्ने व्यावहारिक तालिम कार्यक्रम हो।
यस तालिमअन्तर्गत प्रशिक्षार्थीले रोगको प्रकोप अनुसन्धान, रोग निगरानी प्रणालीको सुदृढीकरण, तथ्याङ्क सङ्कलन तथा विश्लेषण, स्वास्थ्य कार्यक्रमको अनुगमन र मूल्याङ्कन, अनुसन्धान तथा नीतिनिर्माणका लागि प्रमाण उत्पादन गर्ने सीप हासिल गर्छन्। यसरी प्रशिक्षित जनशक्तिले महामारीका बेला तत्काल प्रतिकार्यमा सहयोग गर्नुका साथै नियमित रोग निगरानी, निगरानी प्रणालीको मूल्याङ्कन, रोग नियन्त्रण तथा रोकथामका प्रयास र स्वास्थ्य आपत्कालीन तयारीमा समेत योगदान पुर्याउँछन्।
त्यसैले यो तालिम केवल तालिम प्राप्त गर्ने कार्यक्रम नभई स्वास्थ्य प्रणालीलाई तथ्यमा आधारित, प्रतिकार्यमा सक्षम र समुदायप्रति उत्तरदायी बनाउन सुदृढ आधार प्रदान गर्ने महत्त्वपूर्ण कार्यक्रम हो।
यस तालिम कार्यक्रमको ऐतिहासिक आधार सन् १९५१ मा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रअन्तर्गत स्थापना गरिएको महामारी सूचना सेवा हो। सङ्क्रामक रोगको प्रकोप पहिचान तथा नियन्त्रण गर्न दक्ष महामारीविद् उत्पादन गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमले सेवामार्फत सिक्ने अवधारणालाई प्राथमिकता दिएको थियो। यसको सफलतापछि सन् १९७५ मा क्यानडामा र सन् १९८० मा थाइल्यान्डमा यस्तै प्रकृतिका कार्यक्रम सुरु भए, जसबाट यो तालिम कार्यक्रम विश्वका विभिन्न देशमा विस्तार हुँदै गयो।
सन् १९९० को दशकमा विभिन्न देशका तालिम कार्यक्रमबीच अनुभव आदानप्रदान, सहकार्य र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय सञ्जाल विकास गर्ने प्रयास भयो र महामारी विज्ञान तथा जनस्वास्थ्य हस्तक्षेपसम्बन्धी तालिम कार्यक्रमहरूको सञ्जाल (TEPHINET) औपचारिक रूपमा स्थापना भयो। यसले विभिन्न देशका तालिम कार्यक्रमबीच सहकार्य, दक्षता विकास र जनस्वास्थ्य सुरक्षासम्बन्धी क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
यस अवधारणाको विकाससँगै विभिन्न देशले आफ्नो आवश्यकता र सन्दर्भअनुसार तालिम कार्यक्रम सञ्चालन गर्न थाले। सामान्यतया यो तालिम तीन तहमा सञ्चालन हुन्छ : प्रारम्भिक तह (३ महिना), मध्यम तह (९ महिना) र उच्च तह (२ वर्ष)। यी तहले क्रमशः स्थानीयस्तरको रोग निगरानी तथा प्रारम्भिक अनुसन्धानदेखि जटिल महामारी अनुसन्धान, नेतृत्व र प्रमाणमा आधारित नीतिगत निर्णयसम्मका क्षमता विकासमा जोड दिन्छन्।
अन्तर्राष्ट्रियस्तरमा तालिम कार्यक्रमबीच सहकार्य, अनुभव आदानप्रदान र गुणस्तर अभिवृद्धिमा महामारी विज्ञान तथा जनस्वास्थ्य हस्तक्षेपसम्बन्धी तालिम कार्यक्रमहरूको सञ्जाल (TEPHINET) र दक्षिण एसिया क्षेत्रीय महामारी विज्ञान तथा प्रविधि सञ्जाल (SAFETYNET) ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
नेपालमा विभिन्न तहका कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीको रोग पहिचान, निगरानी, प्रकोप अनुसन्धान र प्रतिकार्यसम्बन्धी व्यावहारिक क्षमता विकास तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस कार्यक्रमको प्रारम्भिक तहको तालिम सन् २०२२ मा सुरु भएको हो। राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको नेतृत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा विभिन्न प्राविधिक साझेदारहरूको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ।
कार्यक्रमको विकासक्रमलाई हेर्दा नेपालले प्रारम्भिक तहको तालिम सञ्चालनबाट सुरु गरी हाल मध्यम तहको तालिम सञ्चालन गर्न सफल भएको छ भने निकट भविष्यमा उच्च तहको तालिम सञ्चालन गर्ने योजना अघि बढाइरहेको छ। हालसम्म २०० भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीले प्रारम्भिक तहको तालिम पूरा गरिसकेका छन्। यसै वर्षदेखि सङ्घ तथा प्रदेश तहबाट दुई समूहमा २९ जना चिकित्सक र स्वास्थ्यकर्मीलाई मध्यम तहको तालिम सञ्चालन भइरहेको छ।
नेपाल सरकारको मनोनयनमा हालसम्म एक जना चिकित्सकले थाइल्यान्डको उच्च तहको तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् भने अन्य पाँच जना व्यक्ति उक्त तहको तालिममा सहभागी छन्। यी प्रयासले नेपालमा महामारी विज्ञानसम्बन्धी जनशक्ति विकासलाई छुट्टाछुट्टै तालिममा सीमित नराखी राष्ट्रिय जनस्वास्थ्य सुरक्षा प्रणालीसँग जोड्ने अवसर प्रदान गरेका छन्।
यस तालिमका प्रशिक्षार्थी तथा तालिम प्राप्त व्यक्तिहरूले तालिमबाट हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा उपयोग गर्दै आएको देखिन्छ। उनीहरू विभिन्न रोगका प्रकोप अनुसन्धान तथा व्यवस्थापन, रोग निगरानी प्रणालीको मूल्याङ्कन र जनस्वास्थ्य समस्याको विश्लेषणमा सक्रिय रूपमा संलग्न रहेको पाइन्छ। साथै, उनीहरूले आफूले गरेका प्रकोप अनुसन्धान, निगरानीसम्बन्धी कार्य र अनुभवहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, छलफल तथा प्राविधिक मञ्चहरूमा प्रस्तुत गर्दै नेपालको अनुभव र सिकाइ आदानप्रदान गरेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सन् २०२५ मा राष्ट्रिय स्तरको पहिलो फिल्ड इपिडिमियोलोजी तालिम सम्मेलनसमेत सम्पन्न गरेको थियो। यस्ता गतिविधिले नेपालको जनस्वास्थ्य अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुका साथै तथ्यमा आधारित निर्णय, प्राविधिक सहकार्य र जनस्वास्थ्य क्षमता अभिवृद्धिमा योगदान पुर्याएका छन्।
नेपालमा यस कार्यक्रमलाई व्यवस्थित, संस्थागत र दिगो बनाउन सन् २०२५ मा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले सन् २०२५ देखि २०३० सम्मको राष्ट्रिय रणनीतिक मार्गचित्र तयार गरेको छ। यो कार्यक्रमलाई मार्गदर्शन गर्ने महत्त्वपूर्ण रणनीतिक दस्तावेज हो। सन् २०३० सम्म ९०० भन्दा बढी जनशक्तिलाई तालिम दिने, सन् २०२७ सम्म सबै जिल्लामा कम्तीमा एक जना प्रारम्भिक तहको तालिमप्राप्त जनशक्ति उपलब्ध गराउने, सन् २०३० सम्म सबै स्थानीय तहमा कम्तीमा एक जना प्रारम्भिक तहको तालिमप्राप्त जनशक्ति पुर्याउने तथा १३० जनालाई मध्यम तह र १० जनालाई उच्च तहको तालिम प्रदान गर्ने लक्ष्य रहेको छ।
यस रणनीतिको उद्देश्य तालिमको सङ्ख्या बढाउनुमा मात्र सीमित नभई देशको आवश्यकताअनुसार महामारी विज्ञानसम्बन्धी दक्ष जनशक्ति उत्पादन, परिचालन, नेतृत्व विकास र दिगोपनालाई स्वास्थ्य प्रणालीमा जोड्नु रहेको छ।
नेपालको सङ्घीय संरचनामा रोगको जोखिम, जनशक्तिको उपलब्धता र स्वास्थ्य सेवाको पहुँच सङ्घ, प्रदेश तथा स्थानीय तहअनुसार फरक–फरक हुन सक्छ। यस्तो अवस्थामा सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय कायम गर्दै आवश्यकताअनुसार दक्ष जनशक्ति परिचालन गर्नु अत्यन्त आवश्यक हुन्छ।
यस रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि प्रारम्भिक तहदेखि उच्च तहसम्मको तालिम संरचनाको विस्तार, सङ्घ, प्रदेश र स्थानीय तहमा दक्ष जनशक्तिको समानुपातिक परिचालन, गुणस्तरीय तालिम तथा मार्गदर्शन, दिगो वित्तीय व्यवस्था, तथ्यमा आधारित नीतिगत निर्णय र नियमित अनुगमन तथा मूल्याङ्कनलाई प्राथमिकता दिनुपर्छ। यी पक्षलाई संस्थागत गर्न सकेमा यो कार्यक्रम नेपालको स्वास्थ्य प्रणालीको अभिन्न अङ्गका रूपमा स्थापित भई महामारी पूर्वतयारी, शीघ्र पहिचान र प्रभावकारी प्रतिकार्यमा योगदान पुर्याउन सक्छ।
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रमको विकास उत्साहजनक भए पनि यसलाई दिगो, आत्मनिर्भर र प्रभावकारी राष्ट्रिय कार्यक्रमका रूपमा स्थापित गर्न विभिन्न चुनौती विद्यमान छन्। प्रमुख चुनौतीमा बाह्य प्राविधिक तथा वित्तीय सहयोगमा निर्भरता, पर्याप्त बजेटको अभाव, दक्ष नेपाली प्रशिक्षक तथा मार्गदर्शकको सीमित उपलब्धता र तालिम प्राप्त जनशक्तिलाई उनीहरूको दक्षताअनुसार प्रभावकारी रूपमा परिचालन गर्न कठिनाइ रहेका छन्। त्यस्तै, प्रारम्भिक, मध्यम र उच्च तहबीच समन्वित तालिम संरचना विकास गर्नु, तालिमको गुणस्तर कायम राख्नु, अनुसन्धान तथा प्रकाशनलाई प्रोत्साहन गर्नु र अनुसन्धानबाट प्राप्त प्रमाणलाई स्वास्थ्य नीति तथा कार्यक्रममा उपयोग गर्नु पनि चुनौतीपूर्ण छन्। सङ्घ, प्रदेश र स्थानीय तहबीच जनशक्ति व्यवस्थापन तथा समन्वय सुदृढ गर्नुका साथै कार्यक्रमको कार्यसम्पादन र जनस्वास्थ्यमा परेको प्रभाव मापन गर्न व्यवस्थित अनुगमन तथा मूल्याङ्कन प्रणाली विकास गर्नु आवश्यक छ।
सन् २०२५ देखि २०३० सम्मको राष्ट्रिय रणनीतिक मार्गचित्रलाई सरकारी नीति, वार्षिक कार्यक्रम तथा बजेटसँग आबद्ध गरी राष्ट्रिय स्वामित्व र दिगो वित्तीय स्रोत सुनिश्चित गर्नुपर्ने हुन्छ। तालिम प्राप्त जनशक्तिलाई प्रशिक्षक, मार्गदर्शक र अनुसन्धान नेतृत्वकर्ताका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय प्राविधिक सहयोगलाई राष्ट्रिय क्षमता अभिवृद्धिसँग जोड्नुपर्छ। स्वास्थ्य प्रणालीको आवश्यकता र रोगको जोखिमका आधारमा उक्त जनशक्तिलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा दक्षताअनुसार परिचालन गर्ने व्यवस्था गर्नुपर्छ। साथै, अनुसन्धान, प्रकाशन र मार्गदर्शनलाई संस्थागत गर्दै अनुसन्धानका निष्कर्षलाई नीति निर्माण तथा कार्यक्रम सुधारमा उपयोग गर्ने संयन्त्र विकास गर्नुपर्छ। तालिमको गुणस्तर, जनशक्तिको कार्यसम्पादन, अनुसन्धान उपलब्धि र प्रमाणको उपयोग मापन गर्न स्पष्ट सूचकसहित नियमित अनुगमन तथा मूल्याङ्कन प्रणाली स्थापना गर्नु पनि उत्तिकै आवश्यक छ। यी उपायको प्रभावकारी कार्यान्वयनले यस कार्यक्रमलाई नेपालको स्वास्थ्य प्रणालीको अभिन्न अङ्गका रूपमा विकास गर्न सहयोग पुर्याउनेछ।
अन्त्यमा, नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रमको विकासले रोग निगरानी, रोकथाम, प्रकोप अनुसन्धान तथा जनस्वास्थ्य आपत्कालीन प्रतिकार्यका लागि दक्ष जनशक्ति विकास गर्ने महत्त्वपूर्ण आधार तयार गरेको छ। तथापि, कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन पर्याप्त वित्तीय स्रोतको सुनिश्चितता, दक्ष नेपाली प्रशिक्षक तथा मार्गदर्शकको विकास, तालिम प्राप्त जनशक्तिको दक्षताअनुसार परिचालन र सङ्घ, प्रदेश तथा स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक छ।
साथै, सन् २०२५ देखि २०३० सम्मको राष्ट्रिय रणनीतिक मार्गचित्रको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन तथा मूल्याङ्कन र तालिमबाट प्राप्त सीपको व्यावहारिक उपयोगमा जोड दिनुपर्छ। नेपालमा सङ्क्रामक रोगहरूको निगरानी तथा प्रकोप अनुसन्धानमा मात्र सीमित नभई नसर्ने रोग, पेसागत स्वास्थ्य जोखिम, वातावरणीय स्वास्थ्य जोखिम तथा अन्य जनस्वास्थ्य समस्याको निगरानी, अनुसन्धान र प्रतिकार्यमा समेत यस कार्यक्रमको कार्यक्षेत्र विस्तार गर्नु आवश्यक छ।
तालिम प्राप्त जनशक्तिको सङ्ख्यामा वृद्धि गर्नुका साथै उनीहरूको कार्यसम्पादन र जनस्वास्थ्यमा परेको प्रभावलाई समेत प्राथमिकतामा राख्न सकेमा यो कार्यक्रम नेपालको स्वास्थ्य प्रणालीको अभिन्न अङ्गका रूपमा स्थापित भई रोगको शीघ्र पहिचान, रोकथाम, तथ्यमा आधारित निर्णय तथा प्रभावकारी प्रकोप प्रतिकार्यमार्फत जनस्वास्थ्य सुरक्षा सुदृढ गर्न योगदान पुर्याउन सक्छ।