अमेरिका- कोभिड महामारीको सुरुवाती समयमा ओहायोका नागरिकले डा. एमी एक्टनलाई दैनिकजसो टेलिभिजनमा देख्थे। राज्यको स्वास्थ्य निर्देशकका रूपमा उनले रिपब्लिकन गभर्नर माइक डिवाइनसँगै उपस्थित भएर महामारीको अवस्था, जोखिम र स्वास्थ्य सुरक्षाका उपायबारे सर्वसाधारणलाई जानकारी गराउँथिन्।
३१४ एक्सनका कार्यकारी निर्देशक पोल्याक उनलाई ‘ओहायोकी ममतामयी चिकित्सक’का रूपमा सम्झन्छन्। उनका अनुसार एक्टनले तथ्य र करुणालाई सँगसँगै राखेर नागरिकलाई महामारीको वास्तविक अवस्था बुझाएकी थिइन्।
तर उनको लोकप्रियतासँगै विरोध पनि बढ्यो। उनको घरबाहिरसमेत प्रदर्शन हुन थालेपछि उनले सन् २०२० जुनमा स्वास्थ्य निर्देशक पदबाट राजीनामा दिइन्।
अहिले उनी नयाँ जिम्मेवारीसहित राज्य सरकारको नेतृत्वमा फर्किएकी छन्। औषधि उद्योगी विवेक रामास्वामीलाई पराजित गर्दै उनी ओहायोको गभर्नर निर्वाचित भएकी हुन्।
रामास्वामी ती व्यक्ति हुन्, जसले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकबाट ट्रम्पसँगै चुनावमा हौमिने अपेक्षा राखेका थिए। तर आन्तरिक निर्वाचनमै पराजित भएपछि उनले यसपल्ट ओहायोको गर्भनर बन्ने अपेक्षा गरे। त्यो पनि उनले हासिल गर्न सकेनन्।
डा एक्टन ओहायोको पहिलो निर्वाचित महिला गभर्नर बनेकी छन्। साथै, २० वर्षपछि डेमोक्रेटिक पार्टीबाट गभर्नर बन्ने पहिलो व्यक्ति पनि हुन्।
उनका प्रस्तावमा नागरिकको उपचार खर्चका कारण लाग्ने ऋणको भार कम गर्ने र राज्यस्तरमा औषधि उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्ने विषय छन्।
अमेरिकन पब्लिक हेल्थ एसोसिएसनका प्रमुख बेन्जामिनका अनुसार एक्टनमा राजनीतिक विचारधाराका दुवै पक्षसँग संवाद गर्ने क्षमता छ। पोल्याक उनलाई दयालु तर कमजोर नभएको नेतृत्वकर्ता मान्छन्।