हल्का पानी परिरहेको थियो। अस्पतालको ड्युटी सकेर बिग्रिएको मोबाइल बनाउन म न्युरोड गएको थिएँ। काम सकिएपछि फर्कंदै गर्दा धरहरा छेउमा एक जना पुरानो साथी भेटिए। धेरै वर्षपछि भएको भेट। उनले मुस्कुराउँदै भने, 'ओहो! कति पछि भेट भएको। आउ न, एउटा चिया खाऔँ।'
बाहिर पानी परिरहेकाले हामी नजिकैको एउटा सानो होटलमा छिर्यौँ। उनले दुई कप चिया अर्डर गरे।
चिया आउने प्रतीक्षामा उनले अचानक गम्भीर स्वरमा भने, 'यार, धेरै तनाव छ।'
मैले सोधेँ, 'किन? के भयो?'
उनले केही क्षण टाउको झुकाए। अनि बिस्तारै भने, 'तिमी डाक्टर पनि हौ, के लुकाउनु... आमालाई फोक्सोको क्यान्सर भएको छ। उपचार गराउँदैछु।'
म केही क्षण मौन भएँ। त्यसपछि सोधेँ, 'ए! कसरी भयो त?'
उनको जवाफ छोटो थियो, तर निकै भारी।
'चुरोटले यार। धेरै पटक "नखानुस्" भनेर भनेँ। मान्नुभएन। अहिले रोग देखिएपछि मात्रै छोड्नुभएको छ। डेढ–दुई महिना भयो।'
ठ्याक्कै त्यही बेला हाम्रो चिया टेबलमा आइपुग्यो। होटलका कर्मचारी फर्किन लागेका थिए। साथीले उनलाई फेरि बोलाए।
'दाइ, एउटा सिखर आइस पनि दिनुहोस्।'
त्यो शब्द सुन्नासाथ मलाई बुझ्न गाह्रो भएन, उनी आफैँ पनि धूम्रपान गर्ने रहेछन्।
मैले चिया समाउँदै सोधेँ, 'आमालाई चुरोटकै कारण क्यान्सर भयो भन्छौ, अनि तिमी आफैँ पनि चुरोट खान्छौ?'
उनले हल्का मुस्कुराउने प्रयास गरे, तर त्यो मुस्कानभित्र पीडा लुकेको थियो।
'छोड्छु भनेको हो। तर आमाको उपचारको तनावले झन् धेरै खान थालेको छु।'
मसँग त्यसको कुनै सजिलो उत्तर थिएन। केवल यति मात्र भन्न सकेँ, 'सकेसम्म नखाऊ।'
केहीबेरपछि चिया सकियो। छुट्टिने बेला मैले भनेँ, 'आमाको उपचारका लागि कतै सहयोग वा सहजीकरण गर्नुपर्यो भने भन्नू है।'
हामी आ–आफ्नो बाटो लाग्यौँ।
घर फर्किने बाटोभरि मेरो मनमा एउटै प्रश्न घुमिरह्यो।
दुई–तीन महिनायता आमाको रोगको तनावले मेरो साथीले दिनको एक बट्टा चुरोट सकाउन थालेको रहेछ। तर त्यही आमाले ३२ वर्षसम्म आफ्नो छोरालाई हुर्काउन, पढाउन र यो स्थानसम्म पुर्याउन कति तनाव, कति दुःख र कति त्याग सहेकी होलिन्? के उनले पनि जीवनका कठिन मोडहरूमा तनाव कम गर्न चुरोट रोजेकी थिइन्? यदि त्यसो हो भने, सायद त्यही निर्णयले आज उनलाई क्यान्सरसँग लड्न बाध्य बनाएको हुन सक्छ।
त्यही क्षण अर्को प्रश्न पनि मनमा आयो।
के साँच्चै तनाव घटाउने उपाय चुरोट नै हो?
यदि चुरोटले तनाव कम गर्ने हो भने, संसारमा सबैभन्दा कम चुरोट खपत हुने देशका मानिसहरूले तनाव कसरी व्यवस्थापन गर्छन्? र यदि साँच्चै चुरोटले तनाव हटाउने भए, सबैभन्दा बढी तनावमा रहने मानिसहरू सबैभन्दा स्वस्थ हुनुपर्ने थियो। तर वास्तविकता ठीक उल्टो छ।
वास्तवमा चुरोटले तनाव हटाउँदैन। निकोटिनको लतले केही समयपछि शरीरमा बेचैनी र असहजता पैदा गर्छ। चुरोट तानेपछि त्यो बेचैनी केही समयका लागि कम हुन्छ र मानिसलाई तनाव घटेको जस्तो महसुस हुन्छ। तर कम भएको तनाव वास्तविक समस्याको होइन, निकोटिनको अभावले सिर्जना गरेको असहजताको हो। केही समयपछि फेरि त्यही चक्र दोहोरिन्छ। समस्या उही रहन्छ, तर त्यसमा निकोटिनको अर्को लत र नयाँ स्वास्थ्य जोखिम थपिन्छ।
आज चुरोटको ठाउँ धेरै युवाको हातमा भेप (Vape) र ई–सिगरेटले लिएको छ। धेरैलाई लाग्छ, 'यो त चुरोटभन्दा सुरक्षित हो', 'यसले केही हुँदैन', 'यो त केवल फ्लेभर भएको बाफ हो।' तर निकोटिन भने निकोटिन नै हो। माध्यम फेरिएको हो, जोखिम होइन। लत उस्तै लाग्छ र शरीरमा पर्ने असर पनि विस्तारै उस्तै गरी देखिन थाल्छ।
आज आमाको स्वास्थ्यको चिन्तामा चुरोट तानिरहेको मेरो साथीलाई भोलि केही भयो भने, उसको सन्तानले पनि 'तनाव कम गर्न' भन्दै भेप वा ई–सिगरेट समात्यो भने उसलाई कस्तो लाग्ला?
हामीले आफ्ना सन्तानलाई केवल सम्पत्ति मात्र होइन, आफ्ना बानीहरू पनि विरासतका रूपमा दिइरहेका हुन्छौँ। बालबालिकाले हामीले भनेको भन्दा धेरै हामीले गरेको कुरा सिक्छन्। त्यसैले आजको हाम्रो एउटा बानी भोलिको उनीहरूको जीवनशैली बन्न सक्छ।
तनाव जीवनको हिस्सा हो। त्यसबाट भाग्न सकिँदैन, तर त्यसलाई स्वस्थ तरिकाले व्यवस्थापन गर्न सकिन्छ। परिवार र साथीभाइसँग मन खोलेर कुरा गर्ने, नियमित व्यायाम गर्ने, ध्यान गर्ने, पर्याप्त निद्रा लिने, आफूलाई मन पर्ने काममा समय दिने र आवश्यक परे मनोपरामर्श लिने जस्ता उपायहरूले तनाव व्यवस्थापन गर्न मद्दत गर्छन्।
आफ्नो लागि होइन भने, आफूलाई माया गर्ने मानिसहरूका लागि एकपटक सोचौँ। एउटा निर्णयले जीवन बचाउन सक्छ।
किनकि चुरोट, भेप वा ई–सिगरेटले तनाव हटाउँदैनन्। ती वस्तुले केही समयका लागि मनलाई झुक्याउँछन् मात्र। तर त्यसको मूल्य भने शरीरले वर्षौँसम्म तिरिरहनुपर्छ।
(डा उपाध्याय किष्ट शिक्षण अस्पतालमा एमडीजीपी गरिरहेका छन्)