फिजियोथेरापी विभागमा काम गर्ने धेरै फिजियोथेरापिष्टका लागि एउटा दृश्य अत्यन्त परिचित छ। बिरामी विभागमा प्रवेश गर्छन् र भन्छन्, 'सेकाइ गर्न आएको', 'मेसिन लगाइदिनुहोस्', '१० दिन मेसिन लगाउन भनेको छ।'
धेरैजसो बिरामी फिजियोथेरापी विभागमा पुग्दासम्म आफ्नो समस्याको मूल्याङ्कन, कारणको खोजी वा कार्यक्षमता सुधारको योजना अपेक्षा गरेर आउँदैनन्। उनीहरूलाई लाग्छ, कुनै मेसिनमा केही मिनेट बसियो भने दुखाइ निको हुन्छ। अझ रोचक कुरा के छ भने, कतिपय बिरामीलाई व्यायाम सिकाउँदा वा सक्रिय अभ्यास गराउँदा उनीहरू निराश हुन्छन्। 'मेसिन खोइ?' भनेर सोध्छन्। कतिपयलाई त पसिना आउने गरी अभ्यास गर्नु नै उपचार हो भन्ने कुरा स्वीकार गर्न पनि गाह्रो लाग्छ।
तर एउटा सरल प्रश्न छ:
यदि कुनै व्यक्तिको मांसपेशी कमजोर भएको छ भने, केवल मेसिनले त्यो मांसपेशी बलियो बनाउन सक्छ?
यदि महिनौँदेखि नहिँडेको व्यक्तिलाई फेरि हिँड्न सिकाउनुपर्छ भने, केवल सेकाइले त्यो सम्भव हुन्छ?
यदि मुटुको शल्यक्रियापछि शारीरिक क्षमता घटेको छ भने, केवल विद्युत् प्रवाह वा तापले त्यो क्षमता फर्काउन सक्छ?
उत्तर स्पष्ट छ— सक्दैन।
बिरामी उपचारका दर्शक होइनन्, सहभागी हुन्
धेरै मानिस उपचारलाई आफूले केही नगरी अरूले गरिदिने प्रक्रिया ठान्छन्। तर फिजियोथेरापीमा बिरामी दर्शक होइन, सक्रिय सहभागी हुन्छ। व्यायाम सिक्नु, घरमा नियमित अभ्यास गर्नु, जीवनशैली सुधार गर्नु र आफ्नो स्वास्थ्यप्रति जिम्मेवार बन्नु उपचारकै हिस्सा हो। यही कारणले फिजियोथेरापी कहिलेकाहीँ सजिलो उपचार जस्तो लाग्दैन, किनकि यसमा बिरामीको मेहनत आवश्यक हुन्छ। तर यही मेहनतले दीर्घकालीन परिणाम दिन्छ।
फिजियोथेरापिष्टले मार्गदर्शन गर्छन्, सुरक्षा सुनिश्चित गर्छन्, सही अभ्यास छनोट गर्छन् र प्रगति मापन गर्छन्; शरीर चलाउनुपर्ने काम बिरामीकै हुन्छ। दुखाइ कम गर्ने, शक्ति बढाउने, सन्तुलन सुधार गर्ने, हिँड्ने क्षमता फर्काउने वा सहनशीलता बढाउने अधिकांश प्रक्रियामा बिरामीको सक्रिय सहभागिता अपरिहार्य हुन्छ।
मेसिन सहायक हुन सक्छ, केन्द्र होइन
मेसिन, ताप उपचार वा इलेक्ट्रोथेरापी केही अवस्थामा उपयोगी हुन सक्छन्। तर ती उपचारको सम्पूर्णता होइनन्। यदि फिजियोथेरापीलाई केवल मेसिनमा सीमित गरियो भने बिरामीले पाउनुपर्ने वास्तविक सेवा गुमाउन सक्छन्। फिजियोथेरापीको केन्द्रमा मेसिन होइन, मानिस हुन्छ। उसको समस्या, उसको लक्ष्य, उसको कार्यक्षमता र उसको जीवन हुन्छ।
'यति दिन मेसिन लगाउनू'- समस्या कहाँ छ?
कहिलेकाहीँ बिरामीहरू पहिले नै निश्चित धारणा लिएर आउँछन् कि उनीहरूलाई कुन मेसिन कति दिन लगाउनुपर्छ। यस्तो अवस्थामा समस्या सिर्जना हुन्छ, किनकि बिरामीको अपेक्षा पहिले नै निश्चित भइसकेको हुन्छ। त्यसपछि फिजियोथेरापिष्टले फरक मूल्याङ्कन गरेर अन्य उपचार आवश्यक देखे पनि बिरामीले स्वीकार गर्न गाह्रो मान्न सक्छन्। फिजियोथेरापी विभागमा आएको बिरामीलाई 'कुन मेसिन लगाउने?' भन्दा पहिले 'समस्या वास्तवमा के हो?' भन्ने प्रश्न सोधिनुपर्छ।
त्यसैले फिजियोथेरापीका लागि रेफरल गर्दा सम्भव भएसम्म कुनै विशेष मेसिनको नाम तोक्नु भन्दा 'फिजियोथेरापी मूल्याङ्कन तथा व्यवस्थापन' भनेर पठाउनु बिरामीकै हितमा हुन्छ।
ढाड, घुँडा, घाँटी भन्दा फराकिलो छ फिजियोथेरापी
फिजियोथेरापी क्षेत्र विशेषज्ञता अनुसार व्यापक छ: स्ट्रोकपछि, मेरुदण्ड चोटपछि हिँड्न सिकाउने, आईसीयूमा रहँदा फोक्सोको स्वास्थ्य सुधार गर्दै सास फेर्न सहज बनाउने, आईसीयूबाट निस्केका बिरामीलाई फेरि उभिन सहयोग गर्ने, मुटुको शल्यक्रियापछि सुरक्षित रूपमा सक्रिय बनाउने, फोक्सोका रोगीलाई सास फेर्न सजिलो बनाउने, खेलकुदजन्य चोट भएका किशोरकिशोरी मैदानमा फर्काउने, लडेका ज्येष्ठ नागरिकलाई पुनः आत्मविश्वासका साथ हिँड्न सिकाउने, विकासमा ढिलाइ भएका वा अन्य समस्या भएका बालबालिका, गर्भावस्था तथा प्रसूति पछिका समस्या भएका महिलाहरू, पेल्भिक फ्लोरसम्बन्धी समस्या भएका महिला, ज्येष्ठ नागरिकका दीर्घकालीन रोगमा फिजियोथेरापीले जीवनका विभिन्न चरणमा मानिसहरूको कार्यक्षमता सुधार गर्न सहयोग पुर्याउँछ।
आईसीयूमा बिरामी बोल्न नसक्दा पनि फिजियोथेरापी रोकिन्न
सबै बिरामीले उपचारको सुरुआतमै सक्रिय रूपमा सहभागी हुन सक्ने अवस्था हुँदैन। आईसीयूमा भेन्टिलेटरमा रहेका, गम्भीर मुटु, फोक्सो वा अन्य जटिल अवस्थाका बिरामीहरू यसको उदाहरण हुन्। यस्ता अवस्थामा फिजियोथेरापिष्ट बिरामीको सक्रिय सहभागिताबिनै पनि विभिन्न प्रमाणमा आधारित प्रविधिहरू प्रयोग गरेर श्वासप्रश्वास सुधार गर्ने, फोक्सोमा स्राव जम्न नदिने, जोर्नी तथा मांसपेशीको कार्यक्षमता जोगाउने, सुरक्षित गतिशीलता बढाउने तथा लामो समयको निष्क्रियताबाट हुने जटिलता कम गर्ने प्रयास गर्छन्। तर बिरामीको अवस्था सुधार हुँदै जाँदा र उसले आफैँ शरीर चलाउन सक्ने अवस्था आउँदा पुनर्स्थापनाको अर्को महत्त्वपूर्ण चरण सुरु हुन्छ। त्यसबेला बिरामीको सक्रिय सहभागिता, नियमित अभ्यास र आत्मप्रेरणाले पुनःस्थापनाको गति अझ तीव्र बनाउन सक्छ।
मुटुको उपचारपछि फेरि सक्रिय जीवनतर्फ
यस वर्षको विश्व फिजियोथेरापी दिवसको मुख्य सन्देश हृदय तथा रक्तनलीसम्बन्धी रोग र स्ट्रोकको रोकथाम, व्यवस्थापन तथा पुनर्स्थापनासँग सम्बन्धित छ। हृदयघातपछि, मुटुको शल्यक्रियापछि वा मुटुको दीर्घकालीन समस्यापछि धेरै बिरामीको आत्मविश्वास र शारीरिक क्षमता दुवै घट्न सक्छ। कतिपयलाई 'अब व्यायाम गर्न मिल्छ कि मिल्दैन?' भन्ने डर हुन्छ। यस्ता अवस्थामा कार्डियोभास्कुलर रिह्याबिलिटेसनले बिरामीलाई सुरक्षित रूपमा पुनः सक्रिय जीवनतर्फ फर्काउन मद्दत गर्छ। यहाँ मेसिनभन्दा महत्त्वपूर्ण कुरा बिरामीको अवस्था, सहनशीलता, जोखिम र लक्ष्यअनुसार तयार गरिएको वैज्ञानिक व्यायाम कार्यक्रम हो।
पुनर्स्थापना टोलीको साझा प्रयास
कतिपय अवस्थामा स्वास्थ्यकर्मीहरूले समेत फिजियोथेरापीलाई विशेष उपकरण वा मेसिनसँग मात्र जोडेर प्रस्तुत गर्ने गर्छन्। यसले अनायासै फिजियोथेरापीको वास्तविक पेशागत भूमिका ओझेलमा पार्न सक्छ। फिजियोथेरापिष्टको काम केवल मेसिन सञ्चालन गर्नु होइन। फिजियोथेरापिष्टले मूल्याङ्कन गर्छन्, जोखिम पहिचान गर्छन्, क्लिनिकल निर्णय गर्छन्, लक्ष्य निर्धारण गर्छन् र व्यक्तिको आवश्यकताअनुसार पुनर्स्थापना कार्यक्रम बनाउँछन्।
पुनर्स्थापना कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव हुँदैन। जटिल बिरामीको अवस्थामा चिकित्सक, नर्स, फिजियोथेरापिष्ट, अकुपेसनल थेरापिष्ट, स्पिच तथा ल्याङ्ग्वेज थेरापिस्ट, पोषणविद्, मनोसामाजिक स्वास्थ्यकर्मी, परिवार र स्वयं बिरामी सबै पुनर्स्थापना टोलीका महत्त्वपूर्ण सदस्य हुन्। जीवन बचाउने उपचार र सक्रिय जीवनमा फर्काउने पुनर्स्थापनाबीच यही टोलीले पुलको काम गर्छ।
सेप्टेम्बर ८: बाँच्नु मात्र होइन, फेरि अघि बढ्नु पनि
विश्व फिजियोथेरापी दिवस, सेप्टेम्बर ८ ले हामीलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छ: उपचारले जीवन बचाउन सक्छ, तर पुनर्स्थापनाले जीवनलाई फेरि अघि बढ्न मद्दत गर्छ।
यस वर्षको सेप्टेम्बर ८ ले हामीलाई २०२५ को आन्दोलनका क्रममा घाइते भएका युवाहरू र विद्यार्थीहरूलाई पनि सम्झाउने अवसर दिन्छ। तीमध्ये धेरैले केवल आकस्मिक उपचार मात्र होइन, कार्यक्षमता पुनःप्राप्त गर्न लामो पुनर्स्थापनाको यात्रा पनि पार गरेका छन्। त्यसैले यो दिवस केवल एउटा पेशागत उत्सव होइन; चोट, रोग वा अपाङ्गतापछि मानिसलाई पुनः सक्रिय, सक्षम र अर्थपूर्ण जीवनतर्फ फर्काउने पुनर्स्थापनाको महत्त्व सम्झिने दिन पनि हो।
अब समय आएको छ फिजियोथेरापीलाई 'सेकाइ', 'मेसिन' वा 'मालिस' को पर्यायवाची ठान्ने सोच परिवर्तन गर्ने। फिजियोथेरापी वैज्ञानिक मूल्याङ्कन, क्लिनिकल निर्णय, प्रमाणमा आधारित अभ्यास र कार्यक्षमता पुनर्स्थापनामा आधारित स्वास्थ्य सेवा हो। जब हामी मेसिनभन्दा माथि उठेर मानिसको कार्यक्षमता, स्वतन्त्रता र जीवनको गुणस्तरलाई केन्द्रमा राख्न थाल्छौँ, तब मात्र फिजियोथेरापीको वास्तविक अर्थ बुझ्न सक्छौँ।
उपचारको उद्देश्य केवल दुखाइ घटाउनु होइन, मानिसलाई फेरि आफ्नै जीवन जिउन सक्षम बनाउनु हो।
-(सदिक्षा मुलेपति वीर अस्पतालकी फिजियोथेरापी प्रमुख हुन्।)