काठमाडौं- विश्व फार्मासिस्ट दिवसको अवसरमा फार्मासिस्टहरूले नेपालको औषधि क्षेत्रको सुदृढीकरणका लागि कानुनी सुधार, व्यावसायिक मान्यता तथा स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिकाको उचित पहिचान हुनुपर्ने माग गरेका छन्।
दिवसको अवसरमा नेपाल फार्मेसी संघको समन्वयमा देशका सातै प्रदेशका करिब ४० जिल्लामा जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, रक्तदान, स्वास्थ्य सचेतना तथा पेशागत छलफललगायतका विविध कार्यक्रम आयोजना गरी विश्व फार्मासिस्ट दिवस भव्य रूपमा मनाइएको छ।
यसै क्रममा, नेपाल फार्मेसी संघको केन्द्रीय समितिले नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट्स होटलमा 'सांसदहरूसँग नीति संवाद' कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सांसदहरू, फार्मासिस्ट तथा औषधि क्षेत्रका विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। संवादका क्रममा औद्योगिक फार्मेसी, अनुसन्धान, अस्पताल तथा क्लिनिकल फार्मेसी, फार्मेसी शिक्षा, सामुदायिक फार्मेसी, व्यापार तथा वितरणलगायत क्षेत्रको वर्तमान अवस्था, चुनौती र सुधारका उपायहरूबारे गहन छलफल गरिएको थियो।
कार्यक्रमका सहभागी तथा वक्ताहरूले हाल कार्यान्वयनमा रहेको 'औषधि ऐन, २०३५' लाई वर्तमान आवश्यकता र चुनौतीअनुसार तत्काल परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन्। त्यसैगरी, मेडिकल डिभाइस, इन-भिट्रो डायग्नोस्टिक्स र न्युट्रास्युटिकल्सको प्रभावकारी नियमन गर्नुपर्ने तथा स्वदेशी औषधि उद्योगलाई थप प्रोत्साहन गरिनुपर्ने धारणा राखिएको थियो।
सामुदायिक फार्मेसीमा 'गुड फार्मेसी प्राक्टिस' लागू गर्नुपर्ने, सरकारको स्वास्थ्य बीमा प्रणालीमा सामुदायिक फार्मेसीलाई समेत समेट्नुपर्ने र फार्मेसी शिक्षामा दक्ष जनशक्ति उत्पादनका साथै रोजगारीका अवसरहरू बढाउनुपर्ने विषयमा जोड दिइएको थियो। यसका साथै क्लिनिकल फार्मासिस्टको उचित पहिचान गरी सार्वजनिक स्वास्थ्य सेवामा उनीहरूका लागि थप दरबन्दी सिर्जना गरिनुपर्ने मागसमेत उठाइएको थियो।
कार्यक्रममा उपस्थित सांसदहरू रन्जु दर्शना, डा. तोसिमा कार्की, डा. लेखजंग थापा र गुरु बरालले फार्मासिस्टहरूद्वारा प्रस्तुत गरिएका विषय तथा सुझावहरूप्रति विशेष चासो व्यक्त गरेका थिए। उनीहरूले औषधि क्षेत्रको सुदृढीकरणका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा पूर्ण सहयोग र प्रतिबद्धता व्यक्त गरेका छन्।