बालबालिकामा हुने मोटोपन आज विश्वभरि नै तीव्र रूपमा बढ्दै गएको एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्या हो। विश्व स्वास्थ्य संगठनका अनुसार बालबालिकामा मोटोपनको दर पछिल्ला दशकहरूमा तीव्र रूपमा बढिरहेको छ। विशेष गरी सहरीकरण, अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी तथा डिजिटल उपकरणहरूको अत्यधिक प्रयोगका कारण यो समस्या झन् बढ्दै गएको छ।
बालबालिकामा हुने मोटोपन भनेको बालबालिकाको शरीरमा उमेर र उचाइको आवश्यकताभन्दा बढी बोसो जम्मा हुने अवस्था हो। यो केवल बाहिरी रूपमा बच्चा 'मोटो देखिनु' मात्र होइन, भविष्यमा विभिन्न स्वास्थ्य समस्याको जोखिम बढाउने दीर्घकालीन स्वास्थ्य समस्या हो।
बाल्यकालमा मोटोपन भएका बच्चाहरूमा उच्च रक्तचाप, मधुमेह, रगतमा बोसोको असन्तुलन, कलेजोमा बोसो जम्ने समस्या, मुटु तथा रक्तनली सम्बन्धित रोगहरू, निद्रासम्बन्धी समस्या, जोर्नी तथा हाडसम्बन्धी समस्या र मानसिक तथा सामाजिक समस्याहरू देखिन सक्छन्। बाल्यकालमा मोटोपन भएका बच्चाहरू पछि वयस्क अवस्थामा पनि मोटोपन हुने सम्भावना बढी हुन्छ।
बालबालिकाको तौल र उचाइको आधारमा निकालिने बडी मास इन्डेक्स (बीएमआई) को उमेर र लिङ्गअनुसारको मापनले मोटोपन निर्धारण गर्न मद्दत गर्छ।
बीएमआई उमेरअनुसार ८५औँ देखि ९५औँ प्रतिशतक बीच भएमा अधिक तौल र बीएमआई ९५औँ प्रतिशतक वा सोभन्दा माथि भएमा मोटोपन मानिन्छ।
सामान्यतया, क्यालोरी सेवन धेरै र ऊर्जा खर्च कम हुँदा शरीरमा अतिरिक्त ऊर्जा बोसोको रूपमा जम्मा भई मोटोपन हुने भए पनि यसका धेरै कारणहरू छन्:
आनुवंशिक कारण: परिवारमा अभिभावक वा अन्य सदस्यमा मोटोपन भए बच्चामा पनि मोटोपन हुने सम्भावना बढ्न सक्छ।
खानपान: जोखिम बढाउने खानेकुराको अत्यधिक सेवन, जस्तै- चिनी भएका पेय, मिठाई, फास्टफुड, तारेका/भुटेका खाना, अत्यधिक बोसोयुक्त खाना र अत्यधिक प्रशोधित खाद्यपदार्थ।
शारीरिक गतिविधिको कमी: खेल्ने, दौडने, हिँड्ने तथा अन्य शारीरिक गतिविधि कम हुँदा ऊर्जा खर्च घट्छ।
धेरै स्क्रिन समय: टिभी, मोबाइल, कम्प्युटर र भिडियो गेममा धेरै समय बिताउँदा शारीरिक गतिविधि घट्न सक्छ र अस्वस्थ खाजा/नास्ता खाने सम्भावना बढ्न सक्छ।
निद्राको कमी: तनाव, चिन्ता, एक्लोपन तथा भावनात्मक समस्याहरू।
वातावरणीय कारण: घर, विद्यालय तथा समुदायमा स्वस्थ खाना र खेलकुदको अवसर उपलब्ध नहुनु।
हर्मोन तथा स्वास्थ्यसम्बन्धी कारण: जस्तै- हाइपोथाइराइडिज्म, कुशिङ सिन्ड्रोम तथा अन्य हर्मोनसम्बन्धी रोगहरूले पनि मोटोपन निम्त्याउन सक्छ।
औषधिको प्रयोग: केही औषधिको प्रयोगका कारण पनि मोटोपन हुन सक्छ। यसमा विशेषगरी ग्लुकोकोर्टिकोइड, एन्टिसाइकोटिक औषधिहरू तथा एन्टिएपिलेप्टिक औषधिहरू पर्छन्।
प्रारम्भिक अवस्थामा मोटोपन आफैँमा कुनै रोगको लक्षण नदेखिन सक्छ, तर निम्न संकेतहरू देखिन सक्छन्:
उमेरअनुसार अत्यधिक तौल बढ्नु
पेट तथा कम्मरमा बोसो बढ्नु
सामान्य गतिविधिमा पनि छिटो थकान हुनु
दौड्दा वा खेल्दा सास फेर्न गाह्रो हुनु
धेरै पसिना आउनु
घुर्ने बानी हुनु
निद्रामा समस्या हुनु
आत्मविश्वास घट्नु
बालबालिकामा हुने मोटोपनको रोकथाम:
सन्तुलित आहार: बच्चाको खानपान व्यवस्थापनमा ट्राफिक लाइट डाइटको अवधारणा प्रयोग गर्न सकिन्छ।
हरियो: असीमित (जति चाहियो त्यति) खान मिल्ने, जस्तै- फलफूल, तरकारी; जुन कम क्यालोरीयुक्त, उच्च फाइबरयुक्त, कम बोसोयुक्त तथा पोषक तत्त्वले परिपूर्ण हुन्छ।
पहेँलो: सीमित मात्रामा खान मिल्ने, जस्तै- कम बोसोयुक्त मासु, दुग्धजन्य पदार्थ, स्टार्चयुक्त खाना तथा अन्न।
रातो: कहिलेकाहीँ मात्र सेवन गर्ने वा सकेसम्म नखाने, जस्तै- बोसोयुक्त मासु, चिनी, चिनी मिसिएका पेयपदार्थ, तारेका/भुटेका खाना र जंकफुड।
खानपानमा सचेत हुने भन्नाले बच्चालाई भोकै राख्नु वा खाना अत्यधिक घटाउनु होइन। बच्चा बढिरहेको हुन्छ, त्यसैले उसको उमेर, वृद्धि र विकासअनुसार पर्याप्त पोषण तथा क्यालोरी आवश्यक हुन्छ।
नियमित शारीरिक गतिविधि: विश्व स्वास्थ्य संगठनअनुसार ६–१७ वर्षका बालबालिकाले दैनिक कम्तीमा ६० मिनेट मध्यमदेखि तीव्र शारीरिक गतिविधि गर्नुपर्छ।
स्क्रिन समय नियन्त्रण: मोबाइल, टिभी, भिडियो गेमको समय उमेरअनुसार सीमित गर्नुपर्छ। स्क्रिनको सट्टा बाहिरी खेललाई प्राथमिकता दिनुपर्छ।
पर्याप्त निद्रा: उमेरअनुसारको पर्याप्त निद्रा हुनुपर्छ।
स्तनपानको प्रवर्द्धन: जीवनको पहिलो ६ महिना पूर्ण स्तनपान तथा २ वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपान जारी राख्दा मोटोपनको जोखिम कम हुन सक्छ।
अभिभावकको भूमिका: अभिभावकहरूले आफू पनि स्वस्थ एवं सक्रिय जीवनशैली अपनाउने र बच्चालाई पनि सिकाउने गर्नुपर्छ।
विद्यालयको भूमिका: विद्यालयहरूमा शारीरिक तथा स्वास्थ्य शिक्षामा विशेष जोड दिनुपर्छ।
मोटोपनको उपचारमा मुख्य रूपमा जीवनशैली परिवर्तन आवश्यक हुन्छ र यो सामान्यतया बहु-आयामिक हुन्छ:
आहार व्यवस्थापन: सन्तुलित भोजन, क्यालोरी नियन्त्रण, चिनी तथा बोसो कम गर्ने।
शारीरिक गतिविधि: बच्चाको क्षमता र रुचि अनुरूप नियमित शारीरिक गतिविधि र व्यायाम, जस्तै- दौड, साइकल, पौडी, खेलकुद र नृत्य।
व्यवहार परिवर्तन: परिवारको सहभागिता, स्वस्थ बानीको विकास र खानपानसम्बन्धी शिक्षा।
चिकित्सकीय उपचार: गम्भीर अवस्थामा विशेषज्ञ चिकित्सकको सल्लाहमा औषधि वा अन्य उपचार, जस्तै- बेरियाट्रिक सर्जरी, हर्मोन थेरापी पनि आवश्यक हुन सक्छ।
तसर्थ, बालबालिकामा हुने मोटोपन रोकथामका लागि गर्भावस्थादेखि नै स्वस्थ जीवनशैली, स्तनपान, सन्तुलित आहार, परिवारको राम्रो उदाहरण, नियमित शारीरिक गतिविधि, कम स्क्रिन समय र परिवार, विद्यालय, स्वास्थ्यकर्मी तथा समुदायको संयुक्त प्रयास आवश्यक हुन्छ।
-(बालरोग विशेषज्ञ डा. रामसुफल राम नारायणी अस्पताल, वीरगन्जमा कार्यरत छन्।)