काठमाडौं- नेपालमा पहिलो पटक ज्येष्ठ नागरिकहरूको औषधि सुरक्षासम्बन्धी विशेष 'इन्टरनेसनल भर्चुअल ट्रेनिङ अन मेडिकेसन सेफ्टी इन ओल्डर एडल्ट्स' नामक अन्तर्राष्ट्रिय भर्चुअल तालिम हुने भएको छ। तालिम यही असोज १५ देखि १७ गतेसम्म सञ्चालन हुने छ।
विश्व ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आयोजना गरिएको यो अन्तर्राष्ट्रिय भर्चुअल तालिम नेपालेस सोसाइटी अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स, नेपाल जेरियाट्रिक सेन्टर, एसिया प्यासिफिक जेरियाट्रिक नेटवर्क, नेपालिज एसोसिएसन अफ प्यालियटिभ केयर र इक्वल एलायन्स नेपालको संयुक्त आयोजनामा हुन लागेको हो।
विश्वभर वृद्धजनको जनसङ्ख्या बढ्दै जाँदा औषधिको सुरक्षित, प्रभावकारी तथा व्यक्ति केन्द्रित प्रयोग सुनिश्चित गर्नु महत्त्वपूर्ण चुनौती बनेको छ। बहुऔषधि प्रयोग, औषधिको प्रतिकूल असर, औषधि पहुँच र पालनासम्बन्धी समस्याले वृद्धजनको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले यस विषयमा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्न तालिम आयोजना गरिएको आयोजकहरूले बताएका छन्।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस अन्तर्राष्ट्रिय भर्चुअल तालिममा नेपाल, अस्ट्रेलिया, बेलायत, थाइल्यान्ड, घाना र तान्जानियाका चिकित्सक, फार्मासिस्ट, फार्मेसी सहायक, नर्स, अनुसन्धानकर्ता, स्वास्थ्य विज्ञानका विद्यार्थी, सार्वजनिक स्वास्थ्यकर्मी, स्वास्थ्य सेवा व्यवस्थापक तथा नीति निर्माताहरूको उत्साहजनक सहभागिता रहने भएको छ। तालिममा सहभागी विभिन्न देशका स्वास्थ्यकर्मीहरूबीच ज्येष्ठ नागरिकको औषधि सुरक्षासम्बन्धी अनुभव, चुनौती र उत्कृष्ट अभ्यासहरू साझा गरिने अपेक्षा गरिएको छ।
तीन दिने यस तालिममा ज्येष्ठ नागरिकमा औषधि सुरक्षा, उमेरसँग सम्बन्धित शारीरिक परिवर्तन र जेरियाट्रिक फार्माकोथेरापी, पोलिफार्मेसी व्यवस्थापन, Regimen Simplification तथा Deprescribing, प्यालियटिभ केयरमा सुरक्षित औषधि प्रयोग, घर तथा वृद्धाश्रममा औषधि व्यवस्थापन, स्वास्थ्य सेवा प्रणाली र Transitions of Care मा औषधि सुरक्षा तथा वास्तविक क्लिनिकल केसमा आधारित अन्तरक्रियात्मक सिकाइजस्ता प्रमुख विषयहरू समावेश गरिएका छन्।
तालिममा Prof Lisa G. Pont (अस्ट्रेलिया), Prof Chris Alderman (अस्ट्रेलिया), Prof Vibhu Paudyal (बेलायत), Prof Weerasak Muangpaisan (थाइल्यान्ड), Dr Shakti Shrestha, Dr Jagadish Kumar Chhetri, Dr Ananta Aryal, Prof Bishnu Datta Poudel तथा Dr Ramesh Sharma Poudel लगायत जेरियाट्रिक चिकित्सा, क्लिनिकल फार्मेसी, औषधि सुरक्षा, प्यालियटिभ केयर र स्वास्थ्य सेवा अनुसन्धानका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूले अनुभव र प्रमाणमा आधारित ज्ञान आदानप्रदान गर्नेछन्।
आयोजकका अनुसार तालिम सफलतापूर्वक पूरा गर्ने सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ भने सहभागिता शुल्क रु. २,००० निर्धारण गरिएको छ। औषधि सुरक्षा, जेरियाट्रिक स्वास्थ्य सेवा तथा वृद्धजनमैत्री स्वास्थ्य प्रणालीप्रति रुचि भएका सबै स्वास्थ्यकर्मी तथा विद्यार्थीहरूलाई समयमै दर्ता गर्न आग्रह गर्दै थप जानकारी तथा दर्ताका लागि कन्सल्टेन्ट जेरियाट्रिक फार्मासिस्ट तथा मेडिकेसन सेफ्टी स्पेसलिस्ट डा. रमेश शर्मा पौडेल (फोन: +९७७ ९८४३०८९५८२, इमेल: [email protected]) सँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।