काठमाडौं- सोसाइटी फर कार्डियोभास्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सन्स (एससिएआई)को आयोजनामा ‘एससिएआई नेपाल सिम्पोजियम २०२६’ काठमाडौंमा सम्पन्न भएको छ। नेपालमा जटिल कोरोनरी उपचारसम्बन्धी ज्ञान र अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यले आयोजित यस वैज्ञानिक सम्मेलनमा नेपाल तथा विदेशका गरी करिब १०० जना हृदयरोग विशेषज्ञ तथा इन्टरभेन्सनल कार्डियोलोजिस्टहरूको सहभागिता रहेको थियो।
एससिएआई नेपालका संयोजक प्रा. डा. अरुण मास्केको नेतृत्वमा आयोजित यस सिम्पोजियममा आधुनिक कार्डियाक क्याथेटराइजेसन ल्याबमा प्रयोग भइरहेका नवीनतम प्रविधि, जटिल कोरोनरी रोगको उपचार तथा उच्च जोखिमयुक्त पर्क्युटेनियस कोरोनरी इन्टरभेन्सनका विषयमा गहन वैज्ञानिक छलफल गरिएको थियो।
सिम्पोजियममा अमेरिकाका प्रा. चौधरी एच. अहसान र प्रा. नासेर खान, भारतका प्रा. ऋषि सेठी र डा. सरिता राव, थाइल्यान्डका डा. नाराथिप चुनहामानेवाट तथा बंगलादेशका डा. कैसर नसरुल्लाह खान लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय विशेषज्ञहरूले आफ्ना अनुभव र नवीनतम वैज्ञानिक जानकारी प्रस्तुत गरेका थिए।
मुख्य रूपमा 'कम्प्लेक्स एन्ड हाई रिस्क पिसिआई' मा केन्द्रित रहेको यस कार्यक्रममा सहभागीहरूले वास्तविक क्लिनिकल केसमा आधारित प्रस्तुति, अन्तरक्रियात्मक प्यानल तथा विशेषज्ञ छलफलमार्फत जटिल कोरोनरी इन्टरभेन्सनका चुनौती र समाधानबारे अनुभव आदानप्रदान गरे।
जटिल तथा अत्यधिक क्याल्सिफाइड कोरोनरी लेजन, उच्च जोखिमयुक्त पिसिआई, क्याल्सियम मोडिफिकेसन प्रविधि, Rotational Atherectomy, Intravascular Lithotripsy, IVUS, OCT, complex lesion crossing र complication management जस्ता विषयमा व्यावहारिक तथा वैज्ञानिक छलफल भएको थियो।
आधुनिक इन्टरभेन्सनल कार्डियोलोजीमा प्रविधिको विकाससँगै जटिल कोरोनरी रोग भएका बिरामीको उपचार थप चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यस सिम्पोजियमले विश्वस्तरीय वैज्ञानिक ज्ञानलाई नेपालको स्थानीय अभ्याससँग जोड्ने महत्वपूर्ण मञ्चका रूपमा काम गरेको छ। कार्यक्रमले नेपाली इन्टरभेन्सनल कार्डियोलोजिस्टहरूलाई अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग प्रत्यक्ष छलफल गर्ने, जटिल केसहरूबारे अनुभव आदानप्रदान गर्ने र आधुनिक उपचार प्रविधिका व्यावहारिक पक्षहरू बुझ्ने अवसर प्रदान गरेको छ।
यस्ता अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यक्रमको आयोजनाले देशभित्र आधुनिक हृदय उपचारसम्बन्धी विशेषज्ञता विस्तार गर्नुका साथै दक्षिण एसियाली मुलुकहरूबीच वैज्ञानिक तथा व्यावसायिक सहकार्यलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। एससिआई नेपालले आगामी दिनमा पनि निरन्तर चिकित्सा शिक्षा, वैज्ञानिक अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य तथा आधुनिक इन्टरभेन्सनल कार्डियोलोजीको विकासलाई प्राथमिकता दिने लक्ष्य राखेको छ। यस सिम्पोजियमले काठमाडौँलाई दक्षिण एसियामा आधुनिक इन्टरभेन्सनल कार्डियोलोजीसम्बन्धी ज्ञान र अनुभव आदानप्रदानको एक महत्वपूर्ण केन्द्रका रूपमा प्रस्तुत गर्दै उन्नत हृदय उपचार सेवाको विकासतर्फ ठूलो योगदान पुर्याएको डा मास्केले जानकारी दिए।