काठमाडौं- नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूको आन्दोलन र उनीहरूका माग सम्बोधनका लागि नेपाल चिकित्सक संघले प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्षको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्व राज दवाडीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमार्फत प्रधानमन्त्रीसमक्ष चिकित्सकहरूका जायज माग अभिलम्ब सम्बोधन गर्न आग्रह गरिएको हो।
संघका अनुसार कलेज प्रशासनले एमडी/एमएस प्रथम वर्षका आवासीय चिकित्सकहरूविरुद्ध अनावश्यक मुद्दा लगाएको, सार्वजनिक बिदाका दिनमा समेत बिदा नदिएको, सरकारी आठौँ तह सरह पाउनुपर्ने निर्वाह भत्ता नदिएको र मानसिक दबाव दिई बिना कारण गयल गरी कारबाही गरेपछि चिकित्सकहरू आन्दोलित भएका हुन्। अहोरात्र सेवामा खटिने चिकित्सकहरूमाथि कलेज प्रशासनबाट भएको यस्तो कार्य प्रचलित कानुन र श्रम ऐनविपरीत हुनुका साथै ठूलो अन्याय भएको संघको ठहर छ।
आवासीय चिकित्सकहरूले उठाएका मागका सम्बन्धमा कलेज व्यवस्थापन पक्षसँग छलफल गर्दा समेत कुनै सम्बोधन नगरी बेवास्ता गरिएको पत्रमा उल्लेख छ। संघले चिकित्सकहरूमाथि भइरहेको अन्याय र अत्याचार अन्त्य गरी उनीहरूका जायज मागहरू तुरुन्त सम्बोधन गरेर भयरहित वातावरणमा अध्ययन पूरा गर्ने वातावरण मिलाइदिन अनुरोध गरेको छ। साथै, कलेजले माग पूरा नगरेमा चिकित्सा शिक्षा आयोगमार्फत आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनसमेत प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको छ।