काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई सरुवा गर्दै वीर अस्पताल पठाउने निर्णय गरेको छ।
डा. उपाध्यायको सरुवासँगै परिवार कल्याण महाशाखा प्रमुखको जिम्मेवारी डा. ओम अर्यालले पाएका छन्। डा. अर्याल भरतपुर अस्पतालमा कार्यरत थिए।
मन्त्रालयका सहसचिव दिवश आचार्यले उपाध्याय र अर्यालको सरुवाको पत्र बनिसकेको जानकारी दिए।
यस्तै, मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको प्रमुखमा डा. हेमन्त ओझालाई ल्याएको छ। डा. ओझा स्वास्थ्य सेवा विभागअन्तर्गतको उपचारात्मक महाशाखामा कार्यरत थिए।
यसैगरी, मन्त्रालयको सूचना अधिकारी भक्त बहादुर केसीको पनि स्वास्थ्य तालिम केन्द्रमा सरुवा भएको छ। मन्त्रालयको नयाँ संगठन संरचनामा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासकको दरबन्दी नै नभएपछि केसीलाई तालिम केन्द्रमा पठाइएको हो।