काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको टोली आज नुवाकोट जाने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको निरन्तरता र आवश्यकताअनुसार थप सेवा उपलब्ध गराउने निर्णयबमोजिम परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोली पठाउन लागेको हो।
यसअघि नै प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बालबालिका तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवाको थप आवश्यकता देखिएकाले नयाँ टोली पठाउन लागिएको मन्त्रालयले जनाएको छ।
टोलीमा कान्ति बाल अस्पतालकी ११औँ तहकी बालरोग विशेषज्ञ डा. बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. हरिकुमार श्रेष्ठ, डा. श्रीराम खड्का र डा. धनबहादुर रहेका छन्।
उक्त टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकताअनुसार मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ। टोलीसँगै आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाइने मन्त्रालयले जनाएको छ।
बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा स्वास्थ्य सेवामा पर्न सक्ने अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यकता पहिचान गरी थप विशेषज्ञ जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री परिचालन गर्दै आएको छ।