काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेर उद्धार गरिएका दुईजनामध्ये कविर महर्जनलाई माइल्ड हाइपोथर्मिया देखिएको छ। अर्का उद्धार गरिएका व्यक्ति सञ्जय शाह भने जोखिममुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
प्रारम्भिक उपचारपछि उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गरेको दुवै जनाको अहिले आर्मी अस्पताल छाउनीमा उपचार भइरहेको छ।
बाढी आएको १० दिनपछि उनीहरुको उद्धार भएको हो। लामो समयसम्म चिसो पानी र वातावरणको सम्पर्कमा रहँदा शरीरको तापक्रम घट्न गई हाइपोथर्मिया हुन सक्छ। सामान्य अवस्थामा मानव शरीरको तापक्रम करिब ९८.६ डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियस) वरिपरि हुन्छ। शरीरको तापक्रम ९५ डिग्री फरेनहाइट (३५ डिग्री सेल्सियस) भन्दा कम भएमा हाइपोथर्मिया भएको मानिन्छ।
मानव शरीरले मस्तिष्कको नियन्त्रणमा विभिन्न अंगमार्फत निरन्तर ताप उत्पादन गरिरहेको हुन्छ। सामान्य अवस्थामा शरीरले उत्पादन गरेको ताप र वातावरणमा गुम्ने तापबीच सन्तुलन कायम हुन्छ। तर चिसो वातावरणमा लामो समय रहँदा, विशेषगरी चिसो पानीसँग शरीरको प्रत्यक्ष सम्पर्क हुँदा, शरीरबाट ताप गुम्ने दर तीव्र हुन्छ। यसले शरीरको तापक्रम घटाउँदै लैजान सक्छ।
हाइपोथर्मियाले सुरुमा शरीरमा चिसो महसुस हुने र कम्पन हुने जस्ता लक्षण देखाउन सक्छ। चिसो बढ्दै गएमा हातखुट्टा झमझम गर्ने, रिंगटा लाग्ने, वाकवाकी हुने, छिटो–छिटो श्वास फेर्ने, अंगहरू निदाएको महसुस हुने तथा शरीरका अंगबीचको समन्वय कमजोर हुनेजस्ता लक्षण देखिन सक्छन्।
लामो समयसम्म चिसो पानी र वातावरणको सम्पर्कमा रहँदा शरीरको तापक्रम घट्न गई हाइपोथर्मिया हुन सक्छ। सामान्य अवस्थामा मानव शरीरको तापक्रम करिब ९८.६ डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियस) वरिपरि हुन्छ। शरीरको तापक्रम ९५ डिग्री फरेनहाइट (३५ डिग्री सेल्सियस) भन्दा कम भएमा हाइपोथर्मिया भएको मानिन्छ।