काठमाडौं — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा ४७ वर्षीया महिलाको जटिल मस्तिष्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालका न्युरोसर्जनहरूले एउटै शल्यक्रियात्मक पहुँचबाट दुवै मस्तिष्कतर्फ रहेका छ वटा एन्युरिज्ममा क्लिप लगाउन सफल भएका हुन्।
मस्तिष्कमा रक्तस्राव भएपछि अस्पताल ल्याइएकी ती महिलाको परीक्षणका क्रममा दुवै पक्षमा गरी सातवटा एन्युरिज्म रहेको पत्ता लागेको थियो। बिरामीको बायाँतर्फ तीन, अगाडिका दुई प्रमुख रक्तनली जोडिने स्थानमा दुई तथा दायाँतर्फ दुई एन्युरिज्म पहिचान भएको अस्पतालले जनाएको छ।
सामान्यतया दुवै पक्षमा रहेका एन्युरिज्मको उपचारका लागि छुट्टाछुट्टै शल्यक्रियात्मक पहुँच आवश्यक पर्ने भए पनि वीर अस्पतालका न्युरोसर्जनहरूले बायाँतर्फबाट एउटै पहुँच बनाएर दुवै पक्षका छ वटा एन्युरिज्ममा सफलतापूर्वक क्लिप लगाएका हुन्। विशेषगरी दायाँतर्फका एन्युरिज्ममा समेत बायाँतर्फबाटै पुगेर क्लिप लगाउनु शल्यक्रियाको प्रमुख विशेषता रहेको अस्पतालले जनाएको छ।
करिब सात घण्टा चलेको शल्यक्रियाको नेतृत्व प्रा. डा. राजीव झाले गरेका थिए। टोलीमा डा. नम्रता खड्का र डा. योगेन्द्र देवकोटा सहभागी थिए।
बाँकी रहेको सातौँ एन्युरिज्मको उपचार भने रक्तनलीभित्रबाट गरिने विधिमार्फत गर्ने योजना रहेको अस्पतालले जनाएको छ।
एन्युरिज्म फुटेर मस्तिष्कमा रक्तस्राव हुनु गम्भीर चिकित्सकीय अवस्था हो। यस्तो अवस्थामा मृत्यु तथा दीर्घकालीन स्नायुसम्बन्धी अशक्तताको जोखिम उच्च हुने चिकित्सकहरू बताउँछन्।
शल्यक्रियापछि बिरामी पूर्ण रूपमा होसमा रहेको र हाल कुनै स्नायुसम्बन्धी कमजोरी नदेखिएको अस्पतालले जनाएको छ।
बेहोस बनाउने तथा शल्यक्रियामा सहयोग गर्ने चिकित्सक टोलीमा डा. अजय चौधरी, डा. तिलक देवकोटा, डा. मनोज बिष्ट, डा. ल्हाक्पा त्सेरिङ शेर्पा, डा. आर्यन यादव, डा. ऋतु प्रधान, डा. सन्दिप किरण प्रधान र डा. गौरव रत्न बज्राचार्य सहभागी थिए। नर्सिङ टोलीमा सिन्धु गौतम, अस्मी मगर र यज्जु मानन्धर सहभागी थिए।
वीर अस्पतालको टोलीले यसअघि पनि यही प्रविधिबाट नौ जना बिरामीमा सफलतापूर्वक एन्युरिज्म क्लिपिङ गरिसकेको अस्पतालले जनाएको छ।
एउटै शल्यक्रियात्मक पहुँचबाट छ वटा एन्युरिज्मको सफल क्लिपिङलाई नेपालको जटिल मस्तिष्क तथा रक्तनलीसम्बन्धी शल्यचिकित्साको क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।