मेरो स्कुल पढ्दाको साथीसँग लगभग १० वर्षपछि भेट हुँदा मैले सोधेँ, ‘तपाईंलाई कस्तो छ? सञ्चै हुनुहुन्छ नि?’ उहाँको जवाफ थियो, ‘मलाई ठिक छैन, म निकै थाकेको छु।’ निकै लामो समयपछि भेटेको साथीको यस्तो जवाफ सुन्दा मलाई पनि राम्रो लागेन। हामी एकआपसमा केहीबेर कुरा गरी त्यहाँबाट छुट्टियौँ।
स्कुल पढ्दाको साथीलाई भेटेको लगभग एक महिनापछि कामको सिलसिलामा विराटनगर जाँदा क्याम्पस पढ्दाको साथीलाई भेटेँ। भेटमा सामान्य भलाकुसारी हुँदा उहाँलाई पनि ‘तपाईंलाई कस्तो छ?’ भनेर सोधेँ। जवाफमा उहाँले भन्नुभयो, ‘म ठिक छु। खासै धेरै प्रगति गर्न सकिएको छैन, तर पनि नराम्रो केही छैन। बाँचिएकै छ।’
केही समयअघि गाउँकै साथीको छोराको विवाहमा काठमाडौंमा मेरो एकजना सिनियर दाइसँग भेट भयो। भेटघाट हुँदा सामान्य शिष्टाचारस्वरूप मैले दाइलाई नमस्कार गर्दै ‘दाइ, कस्तो हुनुहुन्छ?’ भनेर सोधेँ। दाइले हँसिलो मुहारमा भन्नुभयो, ‘मेरो त हालखबर अद्भुत छ, भाइ।’ दाइको यो जवाफले ममा पनि उत्साह थपिएको महसुस भयो।
नेपाली समाजमा अझै पनि खुलेर आफ्नो मनको कुरा गर्ने चलन छैन। सामान्यतया ‘म सञ्चै छु’, ‘ठिकै छु’ भन्ने जवाफ धेरै सुनिन्छ। सोध्नेले पनि ‘तपाईंलाई कस्तो छ?’ भन्दा ‘तपाईंको मन कस्तो छ?’ भनेर अझै पनि कमै सोध्छन्। सोधिहाले पनि आफ्नो मनको भावना सजिलै व्यक्त गर्ने चलन छैन। यसको कारण धेरै व्यक्ति मनभित्रका अप्ठ्यारा, पीडा र गुनासा बोकेर जीवन बाँचिरहेका हुन्छन्। तर केही व्यक्ति, समुदाय वा कार्यालयमा ‘तपाईंलाई कस्तो छ?’ भनेर सोध्ने चलन नेपाली समाजमा पनि विस्तारै बढ्दै गएको छ।
‘तपाईंलाई कस्तो छ?’ भन्ने प्रश्नको उत्तरमा माथि उल्लेख गरिएका तीनवटा फरक-फरक प्रतिक्रिया हामीले प्रायः सुन्ने वा अनुभव गर्ने गरेका छौँ। सामान्यतया यस प्रश्नको जवाफमा नकारात्मक, औसत र सकारात्मक गरी तीन प्रकारका प्रतिक्रिया पाइन्छन्। यस्ता जवाफ वा प्रतिक्रियाले व्यक्तिको मनोदशा र भावनाबारे धेरै कुरा बताउँछन्।
जुन व्यक्तिले ‘मेरो हालखबर ठिक छैन’ वा ‘बस्, मेरो बारेमा केही नसोध्नु’ भन्छ, त्यसबाट त्यो व्यक्ति कुनै न कुनै समस्यामा रहेको सहजै बुझ्न सकिन्छ। यस्तो जवाफ सुन्दा कहिलेकाहीँ मैले किन उसको बारेमा सोधेँ भन्ने पश्चातापको भावना पनि आउँछ। यस्ता नकारात्मक कथन वा विचारले सुन्ने व्यक्तिको मनोभावमा पनि नकारात्मक असर पार्न सक्छ।
यदि कसैलाई ‘तपाईंलाई कस्तो छ?’ भनेर सोध्दा उसले ‘म थाकेको छु, अब धेरै काम गर्न सक्ने अवस्थामा छैन’ भन्यो भने उसले आफ्नो मनमा आफू थकित भएको सोच गहिरोसँग बसालेर राखेको छ भन्ने बुझ्नुपर्छ। यस्तो सोचले व्यक्तिलाई झन् बढी थकान महसुस गराउँछ। यस्तो अवस्थामा व्यक्तिले राम्रोसँग कार्यसम्पादन गर्न सक्दैन र अन्य व्यक्तिसँगको सम्बन्धमा पनि खटपट हुन सक्छ। यस्तो भावले अरूलाई पनि निराश बनाउँछ।
‘म ठिक छु’, ‘खासै धेरै प्रगति गर्न सकिएको छैन’, ‘बाँचिएकै छ’ भन्ने भाव व्यक्त गर्ने मानिसहरू तुलनात्मक रूपमा नकारात्मक प्रतिक्रिया दिनेभन्दा राम्रो भए पनि उनीहरू आफ्नो कर्ममा रमाउन नसकेको, आफैंमा खुसी, उत्साहित र आनन्दित हुन नसकेको अनुभूति हुन्छ।
तर ‘मेरो त हालखबर अद्भुत छ’, ‘म खुसीका साथ आनन्दित जीवन बाँचिरहेको छु’ भन्ने जस्ता सकारात्मक शब्द प्रयोग गर्ने व्यक्तिहरूको मुहारमा खुसी झल्किएको हुन्छ र व्यवहारमा पनि उत्साह देखिन्छ। त्यस्ता व्यक्तिसँगको भेटघाट र संगतले तपाईंलाई पनि राम्रो महसुस गराउँछ। उनीहरूको सकारात्मक भावले तपाईंलाई ऊर्जा दिन्छ र उत्साहित बनाउँछ।
नकारात्मक शब्द र विचारले नकारात्मक भावना सिर्जना गर्छन्। यस्ता भावले नकारात्मक परिणाम पनि निम्त्याउने भएकाले यसले व्यक्तिलाई थप उदास वा निराश बनाउँछ। तर यसको विपरीत, यदि तपाईंले ‘म धेरै राम्रो छु’, ‘म अत्यन्त खुसी र आनन्दित छु’ भन्ने जस्ता सकारात्मक भाव व्यक्त गर्नुभयो भने तपाईंको सकारात्मक सोच र ऊर्जाले अरू मानिसलाई पनि आकर्षित गर्छ।
हामी कस्तो महसुस गर्छौँ भन्ने कुरा प्रायः व्यक्तिपरक हुन्छ। एउटै प्रश्न वा अवस्थालाई फरक व्यक्तिले फरक रूपमा महसुस गर्ने, फरक प्रतिक्रिया दिने वा फरक भाव व्यक्त गर्ने गर्छन्। यदि हामी आफैंलाई ‘म थकित छु’ भन्छौँ भने हामी वास्तवमै थकित महसुस गर्न थाल्छौँ। यदि हामी आफूलाई खुसी र रमाइलो महसुस गरिरहेका छौँ भन्ने स्वीकार गर्छौँ भने हामी भावनात्मक रूपमा पनि खुसी, आनन्दित र ऊर्जावान महसुस गर्छौँ।
वास्तवमा मानिस जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दै जान्छ। राम्रो विचार र कर्मले कहिल्यै नराम्रो परिणाम दिँदैन, र खराब विचार तथा कर्मले कहिल्यै राम्रो परिणाम दिँदैन। ‘हामी जे सोच्छौँ, त्यही बन्छौँ’ भन्ने सन्देशलाई व्यवहारमा उतार्न कसैले ‘तपाईंलाई कस्तो छ?’ भनेर सोध्यो भने तपाईंले मुस्कानका साथ ‘मेरो हालखबर अद्भुत छ’ भनेर सकारात्मक भावका साथ जवाफ दिनुभयो भने साँच्चिकै तपाईं चाँडै अझ सकारात्मक बन्नुहुनेछ। यसले तपाईंको जीवनमा खुसी, प्रसन्नता, स्वास्थ्य र समृद्धि हासिल गर्न पनि सहयोग पुर्याउनेछ।
हामी सबैले मनन गर्नुपर्ने कुरा के हो भने मानसिक स्वास्थ्य अब प्राथमिकताको विषय बन्नैपर्छ। यो अत्यन्तै आवश्यक छ। जसरी रक्तदान र अंगदानलाई प्राथमिकता दिइँदै आएको छ, त्यसैगरी ‘तपाईंलाई कस्तो छ?’ भनेर सोधी कसैका लागि आफ्नो समय दान गर्ने व्यक्ति तयार गर्नु, वा हामी आफैं पनि कसैका निम्ति समय दिन सक्ने सामर्थ्य विकास गर्नु उत्तिकै महत्त्वपूर्ण छ। यस विषयमा सबैमा सचेतना बढाउन जरुरी छ।
([email protected])