प्राकृतिक विपद् जस्तै बाढी, पहिरो, भूकम्प, अतिवृष्टि वा आँधीबेहरीले जनधनको क्षति मात्र गर्दैन, यसले मानिसको सोच्ने, बुझ्ने र अनुभव गर्ने क्षमतामा समेत गहिरो असर पार्छ। साथै, यसले मानिसको मानसिक तथा भावनात्मक स्वास्थ्यमा पनि गम्भीर प्रभाव पार्न सक्छ।
विपद्का बेला भौतिक पुनर्निर्माण र शारीरिक उपचारमा सबैको ध्यान तुरुन्तै जान्छ, तर मानिसको मनभित्र परेको गहिरो चोट र मानसिक असर प्रायः ओझेलमा पर्छ। विपद्को असर भौतिक सम्पत्ति र संरचनामा मात्र सीमित नरही व्यक्ति, परिवार र सम्पूर्ण समुदायको मानसिक स्वास्थ्यमा दीर्घकालीन रूपमा रहन सक्छ।
त्यसैले प्राकृतिक विपद्पश्चात् देखा पर्ने मानसिक समस्याहरूलाई पहिचान गरी त्यसबाट जोगिनु र समयमै व्यवस्थापन गर्नु अत्यन्तै आवश्यक हुन्छ।
विपद्पश्चात् देखिने मुख्य मानसिक स्वास्थ्य समस्या
विपद्को सामना गरेपछि वा आफ्ना आफन्त तथा सम्पत्ति गुमाएपछि मानिसमा विभिन्न प्रकारका मानसिक तथा भावनात्मक प्रतिक्रियाहरू देखिन सक्छन्। यस्ता समस्या अल्पकालीनदेखि दीर्घकालीनसम्म हुन सक्छन्।
१. तीव्र तनाव र आघात :
विपद्लगत्तै व्यक्ति स्तब्ध हुने, केही सोच्न नसक्ने, टोलाउने वा चेतनाशून्यजस्तो हुने अवस्था आउन सक्छ। यसलाई घटनाप्रतिको तत्कालीन प्रतिक्रियाका रूपमा लिन सकिन्छ।
२. विपद्पश्चात्को मानसिक आघात :
विपद् सकिएपछि पनि सोही डरलाग्दो घटनाका दृश्य वा सम्झनाहरू बारम्बार मनमा आइरहनु, डर लाग्नु तथा विपद् सम्झाउने ठाउँ वा घटनाबाट टाढा भाग्न खोज्नु यसका प्रमुख लक्षण हुन्।
३. अत्यधिक चिन्ता र डर :
भविष्यप्रतिको अनिश्चितता, फेरि उस्तै विपद् दोहोरिने डर र सुरक्षाको अनुभूति नहुनुले मानिसमा मुटुको धड्कन बढ्ने, पसिना आउने र अत्यधिक घबराहट हुनेजस्ता समस्याहरू देखिन सक्छन्।
४. निराशा र उदासीनता :
धनजनको क्षति, आफन्तको वियोग वा आवास तथा रोजगारी गुमेपछि उत्पन्न हुने निराशाले मानिसलाई मानसिक रूपमा कमजोर बनाउन सक्छ। यसले जीवनप्रति वितृष्णा जाग्ने र कुनै काम गर्न मन नलाग्नेजस्ता समस्या निम्त्याउन सक्छ।
५. निद्रासम्बन्धी समस्या :
नराम्रो सपना देख्ने, राति झस्केर ब्युँझिने वा रातभर निद्रा नपर्ने समस्या विपद्पश्चात् सामान्य रूपमा देखिन सक्छ।
६. व्यवहारिक तथा शारीरिक परिवर्तन :
बालबालिकामा धेरै रुने, आमाबुबालाई छाड्नै नमान्ने तथा वयस्कहरूमा टोलाउने, छिटो रिसाउने वा तनाव कम गर्न मद्यपान तथा लागूपदार्थको सहारा लिनेजस्ता नकारात्मक व्यवहार देखिन सक्छन्।
मानसिक स्वास्थ्य समस्याबाट जोगिने र सजगता अपनाउने उपाय
प्राकृतिक विपद्बाट उत्पन्न मानसिक आघातलाई सही समयमा व्यवस्थापन गर्न सकियो भने गम्भीर मानसिक समस्याबाट बच्न सकिन्छ। मानसिक रूपमा पुनः सबल बन्न व्यक्तिगत, पारिवारिक तथा सामुदायिक स्तरमा निम्न उपाय अपनाउनुपर्छ।
प्राकृतिक विपद्पछि प्रभावित क्षेत्रमा उद्धार, सहयोग तथा समस्याको समाधानका लागि मुख्यतः तीनवटा कुरामा विशेष ध्यान दिनुपर्छ—हेर्ने, सुन्ने र सहकार्यमा जोडिने। यही सिद्धान्तका आधारमा प्रभावित क्षेत्रमा काम गर्न सकियो भने मानसिक स्वास्थ्यमा देखिन सक्ने थप जटिलताबाट जोगाउन सकिन्छ।
आफ्ना भावनाहरू व्यक्त गर्न लगाउने
मनमा गुम्सिएर रहेका डर, चिन्ता वा शोकलाई दबाएर राख्नुको सट्टा आफ्ना नजिकका साथीभाइ वा परिवारका सदस्यसँग व्यक्त गर्न प्रोत्साहित गर्नुपर्छ। कुराकानी गर्दा मनको भार हलुका हुन्छ।
नियमित र स्वस्थ दिनचर्यामा फर्किने
विपद्पछि जति सक्दो छिटो आफ्नो दैनिक जीवनलाई सामान्य बनाउने प्रयास गर्नुपर्छ। पर्याप्त निद्रा, सन्तुलित आहार र पर्याप्त पानीको सेवनले शारीरिक तथा मानसिक स्वास्थ्यलाई मजबुत बनाउन मद्दत गर्छ।
सकारात्मक सोच र ध्यान
दैनिक केही समय योग, प्राणायाम वा गहिरो सास फेर्ने अभ्यास गर्नाले मनलाई शान्त राख्न र तनाव घटाउन मद्दत पुग्छ।
पुष्टि नभएका खबर र अफवाहबाट टाढा रहने
विपद्का बेला सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा आउने डरलाग्दा तथा गलत समाचारले चिन्ता अझ बढाउन सक्छ। त्यसैले आधिकारिक स्रोतबाट मात्र सूचना लिनुपर्छ।
मनोवैज्ञानिक प्राथमिक उपचार
विपद्बाट प्रभावित व्यक्तिलाई तत्काल भौतिक सहायतासँगै भावनात्मक सहयोगको पनि आवश्यकता हुन्छ। प्रभावित व्यक्तिको कुरा ध्यानपूर्वक सुनिदिने, सहानुभूति देखाउने र उनीहरू सुरक्षित छन् भन्ने विश्वास दिलाउने काम समुदायले गर्नुपर्छ।
बालबालिका, महिला र ज्येष्ठ नागरिकको विशेष हेरचाह
बालबालिका र ज्येष्ठ नागरिक विपद्बाट बढी प्रभावित हुन सक्छन्। बालबालिकालाई खेलकुद, चित्रकला तथा अन्य रचनात्मक गतिविधिमा सहभागी गराउनुपर्छ। ज्येष्ठ नागरिकसँग निरन्तर कुराकानी गरी उनीहरूको मनोबल बढाउनुपर्छ। महिला तथा अन्य संवेदनशील समूहको आवश्यकता र सुरक्षामा पनि विशेष ध्यान दिनुपर्छ।
पारस्परिक सहयोग र सामाजिक सम्बन्ध
छिमेकी तथा समुदायका मानिसहरू एकआपसमा मिलेर काम गर्दा एक्लोपन र डरको भावना कम हुन्छ। सामाजिक पुनःस्थापनाका काममा सबै मिलेर लाग्दा समुदायमा आशाको भावना जागृत हुन्छ।
मनोपरामर्श
यदि तनाव वा चिन्ता दुई–तीन हप्ताभन्दा बढी समयसम्म रहिरह्यो र दैनिक काममा बाधा पुर्याउन थाल्यो भने दक्ष मनोपरामर्शदाता वा मनोविद्सँग परामर्श लिनुपर्छ।
चिकित्सकीय उपचार
उदासीनता वा दीर्घकालीन मानसिक असर देखिएमा चिकित्सक वा मनोरोग विशेषज्ञको सल्लाहअनुसार औषधि तथा मनोचिकित्सकीय उपचार लिनु आवश्यक हुन सक्छ।
प्राकृतिक विपद्लाई रोक्न नसकिए पनि यसले पार्ने मानसिक असरलाई सही ज्ञान, सजगता र सहयोगमार्फत न्यून गर्न सकिन्छ। मनको चोट देखिँदैन, तर यसको असर गहिरो हुन्छ।
त्यसैले विपद् व्यवस्थापन गर्दा राहत सामग्री वितरण र आवास निर्माणमा मात्र ध्यान नदिई प्रभावितहरूको मानसिक स्वास्थ्य पुनःस्थापनालाई पनि प्राथमिकतामा राख्नुपर्छ। शारीरिक स्वास्थ्यजत्तिकै मानसिक स्वास्थ्य पनि महत्त्वपूर्ण छ भन्ने कुरा बुझेर एकअर्कालाई भावनात्मक साथ दिनु नै विपद्पछिको पुनर्निर्माणको पहिलो र महत्त्वपूर्ण पक्ष हो।