काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ४३ लाख ६० हजार ९ सय रूपैयाँ सहयोग गरेका छन्।
ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीका अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
'ट्रमाका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य प्रशासनिक कर्मचारीहरूको स्वेच्छिक योगदानबाट संकलित रकम प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको सहयोगार्थ कोषको आधिकारिक खातामा जम्मा गरिएको छ,' प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मरासिनीले भने।
उनले प्रथम श्रेणीका अधिकृतहरुले १० दिनको, द्धितिय श्रेणीका अधिकृतबाट ७ दिन र तृतीय श्रेणीका अधिकृतबाट ५ दिनको र सो भन्दा तल्लो तहका कर्मचारीहरुले ३ दिनको तलव राहतकोषमा जम्मा गरिएको जानकारी दिए।
रसुवा भोटेकोशीमा गत भदौ १० मा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति गरेको छ।