काठमाडौं- संसदमा प्रस्तुत भएको ६ महिने सुत्केरी बिदाको प्रस्तावलाई अनुमोदन गरी कार्यान्वयनमा ल्याउन सरोकारवालाहरूले माग गरेका छन्।
बिहीबार काठमाडौँमा आयोजित सिडआर्ट फाउन्डेसनको न्युट्रिसन फेलोसिपको एक कार्यक्रममा सरोकारवालाहरूले संसदमा छलफलका क्रममा रहेको 'सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक २०८३' लाई अनुमोदन गर्दै कार्यान्वयन गर्न माग गरेका हुन्।
स्वास्थ्य मन्त्री निशा मेहताले संसदमा दर्ता गरेको उक्त विधेयकमा सुत्केरीलाई तलबसहितको ६ महिनासम्म प्रसूति बिदा र श्रीमान्लाई तलबसहितको ४५ दिनको बिदाको व्यवस्था हुने उल्लेख गरिएको छ।
सरोकारवालाहरूले उक्त व्यवस्था मातृशिशु अधिकार संरक्षणका लागि महत्त्वपूर्ण कदम भएको बताएका छन्। यसले आमालाई प्रसूतिपछि स्वास्थ्यलाभ गर्न, शिशुको हेरचाह गर्न र स्तनपान स्थापित गर्न आवश्यक समय र सहयोग पुग्ने बताइएको छ।
तलबसहितको प्रसूति बिदा महिलाको अधिकार र सम्मानसँग पनि जोडिएको विषय भएको उनीहरूको भनाइ छ। आमाले आफ्नो आय तथा रोजगारीको सुरक्षासँगै आफ्ना शिशुको हेरचाह गर्न पाउने वातावरण सुनिश्चित गरिनुपर्ने सरोकारवालाहरूले बताएका छन्।
यस्तै प्रस्तावित पितृत्व बिदाले पनि अभिभावकत्व साझा जिम्मेवारी हो भन्ने मान्यतालाई बलियो बनाउने र बुबालाई नवजात शिशुको हेरचाह गर्न, आमाको स्वास्थ्यलाभ तथा स्तनपानमा सहयोग गर्न र घरायसी जिम्मेवारी बाँड्न आवश्यक समय प्रदान गर्ने उनीहरूले बताएका छन्।
कार्यक्रममा सहभागीहरूले ६ महिने सुत्केरी बिदाले महिलाहरूको रोजगारी गुम्ने खतरा रहेकाले त्यसतर्फ पनि विशेष ध्यान दिन सरकारलाई सचेत गराएका छन्।
परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लिलाविक्रम थापाले उक्त विधेयक संसदबाट पास भएर कार्यान्वयनको चरणमा निर्देशिका तथा नियमावली निर्माणको क्रममा उक्त विषयलाई पनि महत्त्वका साथ समेट्ने बताए।
शिशुका लागि पहिलो ६ महिनाका लागि आवश्यक पर्ने सम्पूर्ण पोषक तत्व आमाको दूधबाट नै प्राप्त हुने पोषणविज्ञ प्रज्ञा रिमालले बताइन्। आमाको दूधमा हुने प्रतिरोधात्मक तत्वहरूले बालबालिकामा हुने रोगहरूबाट सुरक्षा प्रदान गर्नुका साथै स्वस्थ शारीरिक वृद्धि र मस्तिष्कको विकासमा सहयोग पुर्याउने रिमालले बताइन्।
विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गर्न र सुरुवाती छ महिनासम्म पूर्ण स्तनपान गराउन सिफारिस गरेको छ। पूर्ण स्तनपान भन्नाले आमाको दूधबाहेक अन्य कुनै पनि खाना वा पेय पदार्थ (पानीसमेत) नदिई स्तनपान गराउनु हो। छ महिना पुगेपछि शिशुलाई पौष्टिक पूरक आहार सुरु गर्दै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिनुपर्छ।
विभिन्न अध्ययन तथा अनुसन्धानमा उल्लेख भएअनुसार छ महिनाभन्दा कम उमेरका र आमाको दूध नपाएका शिशुमा पूर्ण स्तनपान गरेका शिशुको तुलनामा मृत्युको जोखिम करिब १४ गुणासम्म बढी पाइएको छ।
स्तनपान गरेका बालबालिकामा बढी तौल वा मोटोपन हुने सम्भावना कम हुनुका साथै आमाको स्वास्थ्यमा पनि महत्त्वपूर्ण योगदान पुर्याउने र स्तन तथा डिम्बाशयको क्यान्सरको जोखिम कम हुन्छ।
सिडआर्ट फाउन्डेसनको पहलमा सञ्चालित न्युट्रिसन फेलोसिपले विद्यार्थी तथा नयाँ पोषण तथा स्वास्थ्यकर्मीहरूलाई सिकाइ, अनुसन्धान र पैरवीका अवसरसँग जोड्दै आएको फाउन्डेसनले जनाएको छ।
उक्त कार्यक्रममा नेपालमा चार सयभन्दा बढी सदस्य आवद्ध छन्। उक्त संस्थाले तथ्याङ्क विश्लेषण, जनस्वास्थ्य र पोषणसम्बन्धी क्षमता अभिवृद्धिमार्फत फेलोसिपका विद्यार्थीहरूले विश्व स्वास्थ्य सभाले तय गरेका पोषण लक्ष्यतर्फ नेपालको प्रगतिको विश्लेषण समेत गर्दै आएका छन्।
न्युट्रिसन फेलोसिपका विद्यार्थीहरूले गरेको विश्लेषणअनुसार नेपालले पुड्कोपनसम्बन्धी लक्ष्य हासिल गरेको भए तापनि रक्तअल्पता र स्तनपानसम्बन्धी अभ्यासमा रहेका कमीहरू अझै गम्भीर चुनौतीका रूपमा रहेको देखाउँछ।
नेपाल बहुसूचक सर्वेक्षण सन् २०२४–२५ अनुसार ६ महिनाभन्दा कम उमेरका शिशुमध्ये १० मध्ये ७ जना शिशुले मात्र पूर्ण स्तनपान पाएका छन्। यस्तै १० मध्ये ४ जनाभन्दा कम शिशुले मात्र जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गरेका छन्।