सर्लाही- सर्लाहीको पर्सा गाउँपालिका वडा नं. २ स्थित स्वास्थ्य चौकी संग्रामपुरमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अभद्र व्यवहार भएको छ।
स्वास्थ्य चौकीमा सेवा प्रवाह भइरहेका बेला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार, गालीगलौच तथा कुटपिट भएपछि स्वास्थ्य चौकी प्रशासनले दोषीहरूमाथि आवश्यक छानबिन र कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा औपचारिक पत्र पठाएको छ।
स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक राजेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित पत्र अनुसार, असोज ९ गते दिउँसो करिब १२ बजे ओपिडी सेवा तथा स्वास्थ्य संस्थाभित्रै स्वास्थ्यकर्मीहरूले बिरामीलाई सेवा दिइरहेको अवस्थामा उक्त घटना घटेको हो।
घटनामा संलग्न रहेको आरोपमा पर्सा गाउँपालिका वडा नं. २ का स्थानीय बासिन्दाहरू महेश्वर महतो, गणेश यादव, जमसेद अंसारी र अरेश्वर मण्डलमाथि आवश्यक छानबिन गरी कारबाही गर्न प्रहरीसमक्ष अनुरोध गरिएको छ।
