काठमाडौं- नेपालमा आगामी डिसेम्बर ५ र ६ मा अन्तर्राष्ट्रिय स्तरको एसियाली फ्रैल्टी तथा सार्कोपेनिया सम्मेलन (एसिएफएस) हुने भएको छ। स्वस्थ बुढ्यौली, ज्येष्ठ नागरिकको स्वास्थ्य तथा उमेरसँगै हुने शारीरिक कमजोरी र मांसपेशी क्षयका विषयमा केन्द्रित रहेर यो सम्मेलन काठमाडौंस्थित र्याडिसन होटलमा आयोजना गरिनेछ।
नेपालिज सोसाइटी अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स र नेपाल जेरियाट्रिक्स सेन्टरको आयोजनामा डा. जगदीश क्षेत्रीको नेतृत्वमा सम्मेलन हुन लागेको हो। मूल कार्यक्रमअघि डिसेम्बर ४ मा नेपाल जेरियाट्रिक्स सेन्टरमा पूर्व सम्मेलन कार्यशाला समेत आयोजना गरिनेछ।
यसअघि मुख्यतः एसियाका उच्च आय भएका मुलुकहरूमा मात्र आयोजना हुँदै आएको एसिएफएस सम्मेलन पहिलोपटक दक्षिण एसियाली क्षेत्रमा आयोजना हुन लागेको हो। यसले नेपाललाई ज्येष्ठ नागरिकको स्वास्थ्य, स्वस्थ बुढ्यौली तथा जेरियाट्रिक चिकित्सा क्षेत्रमा अन्तर्राष्ट्रिय ज्ञान र अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
यस वर्षको सम्मेलनको मूल विषय 'स्वस्थ बुढ्यौलीका लागि वृद्धावस्थामा शक्ति र जीवन्तता निर्माणतर्फ' रहेको छ।
सम्मेलनमा १०० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा प्रतिनिधि र करिब १०० नेपाली स्वास्थ्यकर्मी तथा विज्ञ गरी करिब २०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।
सम्मेलनमा उमेरसँगै शारीरिक क्षमता र सहनशीलता घट्दै जाने अवस्था 'फ्रैल्टी' (Frailty) तथा मांसपेशीको मात्रा र कार्यक्षमता घट्ने अवस्था 'सार्कोपेनिया' (Sarcopenia) बारे विशेष छलफल हुनेछ। यी समस्याले ज्येष्ठ नागरिकहरूमा लड्ने जोखिम, अशक्तता, अस्पताल भर्ना हुनुपर्ने स्थिति र अरूमाथिको निर्भरता बढाउने भएकाले रोगको समयमै पहिचान, रोकथाम, पोषण, व्यायाम, पुनर्स्थापना र शारीरिक स्वतन्त्रता कायम राख्ने उपायहरूमा जोड दिइनेछ।
नेपालका लागि यो सम्मेलन जेरियाट्रिक चिकित्साका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने, अनुसन्धानलाई प्रोत्साहन गर्ने र नेपाली स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने एउटा ठूलो अवसर हुने विश्वास लिइएको छ।