जनकपुरधाम- मधेश प्रदेश सरकारले स्वास्थ्य सेवा सञ्चालनमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
प्रदेशको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणको काम टुंगो नलागेसम्म स्वास्थ्य सेवामा जनशक्तिको अभाव हुन नदिन अस्थायी दरबन्दी कायम गर्ने निर्णय गरिएको हो।
प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज भट्टराईका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।
उनका अनुसार स्वास्थ्य सेवा अत्यावश्यक र संवेदनशील क्षेत्र भएकाले आवश्यक जनशक्ति व्यवस्थापन गरी सेवा निरन्तर सञ्चालन गर्न अस्थायी दरबन्दीको व्यवस्था गरिएको हो।
ओएण्डएम सर्वेक्षण सम्पन्न भई स्थायी संगठन संरचना तथा दरबन्दी टुंगो लागेपछि सोहीअनुसार जनशक्ति व्यवस्थापन गरिने अपेक्षा गरिएको छ।