काठमाडौं- कानुनमन्त्री सोविता गौतमले आमालाई कम्तीमा ६ महिना र बुवालाई ४२ दिनसम्म तलबसहितको प्रसूति तथा स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरिएको बताएकी छन्।
स्वास्थ्य मन्त्री निशा मेहतासँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै मन्त्री गौतमले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार गरिएको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको जानकारी दिएकी हुन्।
उनका अनुसार विधेयक अब मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने तयारी भइरहेको छ। प्रस्तावित व्यवस्थाअनुसार आमाले कम्तीमा ६ महिनासम्म तलबसहितको प्रसूति बिदा पाउनेछन् भने बुवालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ।
मन्त्री गौतमले बदलिँदो जीवनशैली र कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका बेला नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन अभिभावकलाई अवसर उपलब्ध गराउनु राज्यको जिम्मेवारी भएको बताएकी छन्।
‘बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन,’ उनले भनेकी छन्। उनका अनुसार अभिभावकत्व आमाबुवा दुवैको साझा जिम्मेवारी हो।
प्रस्तावित कानुनी व्यवस्थाले मातृत्वसँगै पितृत्व र नवजात शिशुको प्रारम्भिक हेरचाहमा बुवाको सहभागितालाई समेत नीतिगत रूपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि संसदमा पेस हुनेछ। संसदबाट पारित भई कार्यान्वयनमा आएपछि प्रस्तावित बिदासम्बन्धी व्यवस्था लागू हुनेछ।