काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका ३९ वटा रक्तसञ्चार केन्द्रलाई आफ्नो केन्द्रमा मौज्दात रहेको रगत तथा रक्त तत्वको विवरण ब्लड ट्र्याकिङ एन्ड डोनर म्यानेजमेन्ट सिस्टम (बीटीडीएमएस) मा अनिवार्य रूपमा प्रविष्टि तथा अध्यावधिक गर्न निर्देशन दिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सञ्चालनमा रहेको Bबीटीडीएमएसमा आबद्ध भई तालिम सम्पन्न गरेका ३९ रक्तसञ्चार केन्द्रले आफ्नो मौज्दातको विवरण रियल टाइममा प्रणालीमा अपडेट गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
नागरिक एपबाटै रगतको उपलब्धता हेर्न सकिने
बीटीडीएमएसमा प्रविष्ट गरिएको रगत तथा रक्त तत्वको विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध हुने व्यवस्था गरिएको छ। नागरिकले कुन रक्तसञ्चार केन्द्रमा आफूलाई आवश्यक रक्त समूह वा रक्त तत्व उपलब्ध छ र मौज्दात कति छ भन्ने जानकारी अनलाइनबाटै प्राप्त गर्न सक्ने मन्त्रालयले जनाएको छ।
यस व्यवस्थाले रक्तसञ्चार सेवालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ।
गलत विवरण राखे जिम्मेवार कर्मचारीले सुनिश्चित गर्नुपर्ने
केही रक्तसञ्चार केन्द्रले आफ्नो केन्द्रमा रहेको रगत तथा रक्त तत्वको सही विवरण BTDMS मा प्रविष्ट तथा अध्यावधिक नगरेको गुनासो प्राप्त भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
मन्त्रालयले ३९ वटै रक्तसञ्चार केन्द्रलाई उपलब्ध रगत तथा रक्त तत्वको मौज्दात परिमाण, प्रकारलगायत आवश्यक विवरण तत्काल प्रविष्ट गरी नियमित रूपमा अध्यावधिक गर्न आग्रह गरेको छ।
सम्बन्धित रक्तसञ्चार केन्द्रका प्रमुख तथा जिम्मेवार कर्मचारीले प्रणालीमा प्रविष्ट गरिने विवरणको शुद्धता, पूर्णता र समयमै अध्यावधिक हुने सुनिश्चित गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
बीटीडीएमएसमा विवरण प्रविष्टि तथा अध्यावधिक गर्ने कार्यलाई नियमित संस्थागत जिम्मेवारीका रूपमा कार्यान्वयन गर्नसमेत मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशित गरेको छ।
प्राविधिक सहयोग तथा आवश्यक सहजीकरणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा ०१–५३५२४२१ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
