जनकपुरधामस्थित जनकपुर प्रादेशिक अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको घटनाप्रति नेपाल चिकित्सक संघले विरोध जनाएको छ। प्रसूति सेवा लिन आएकी महिलाका आफन्तले चिकित्सकमाथि कुटपिट गरेको आरोप अस्पतालले लगाएको छ।
अस्पतालका अनुसार जटिल प्रकृतिको केस भएकाले बिरामीको शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने अवस्था देखिएको थियो। शल्यक्रियाअघि चिकित्सकले बिरामीका आफन्तलाई उपचारका क्रममा हुन सक्ने सम्भावित जोखिम र जटिलताबारे विस्तृत रूपमा जानकारी गराएका थिए।
अस्पतालका सूचना अधिकारी डा. रामज्ञान यादवका अनुसार चिकित्सकले जोखिमसम्बन्धी स्वीकृतिमा हस्ताक्षर गर्न आफन्तलाई आग्रह गरेपछि विवाद भएको थियो। सोही क्रममा डा. साहमाथि कुटपिट भएको यादवले जानकारी दिएका छन्।
अस्पताल प्रशासनले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कार्यस्थलमै कुटपिट हुनु गम्भीर विषय भएको जनाएको छ। स्वास्थ्यकर्मीमाथि हुने यस्ता घटनाले उपचार सेवामा समेत प्रतिकूल प्रभाव पार्न सक्ने अस्पतालको भनाइ छ।
यसैबीच, घटनाको विरोध गर्दै चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा र सम्मान सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ। संघले कार्यस्थलमै असुरक्षित महसुस गर्नुपर्ने अवस्था अन्त्य गर्न तथा दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेको छ।
अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि यस्ता घटना पटक–पटक दोहोरिनुले उनीहरूको मनोबल कमजोर हुँदै गएको चिकित्सकहरूको भनाइ छ। स्वास्थ्य संस्थामा सुरक्षित वातावरण कायम गर्न अस्पताल प्रशासन, सुरक्षा निकाय र सम्बन्धित सरकारी निकाय गम्भीर बन्नुपर्ने आवश्यकता चिकित्सकहरूले औंल्याएका छन्।