प्राकृतिक तथा मानवसिर्जित विपत्तिहरूले समाजका सबै वर्गलाई प्रभावित गर्छन्। तर यस्ता विपत्तिको सबैभन्दा गम्भीर र दीर्घकालीन असर प्रायः बालबालिकामा पर्ने गर्दछ। बाढी, पहिरो, भूकम्प, आगलागी, महामारी, आँधीबेहरी तथा अन्य आकस्मिक घटनाले मानिसको जीवन, घरबार, शिक्षा, स्वास्थ्य र भविष्यलाई तहसनहस पार्न सक्छन्।
यी सबै परिस्थितिमा बालबालिका शारीरिक रूपमा मात्र होइन, मानसिक, सामाजिक र भावनात्मक रूपमा समेत समाजका अन्य वर्गभन्दा बढी संवेदनशील हुन्छन्। त्यसैले विपत्तिको समयमा बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, शिक्षा र मानसिक अवस्थालाई विशेष प्राथमिकता दिनु अत्यन्त आवश्यक हुन्छ।
हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित परिवार र बालबालिकाको अवस्था यसको एउटा ज्वलन्त उदाहरण हो। अकस्मात् र अप्रत्याशित रूपमा आएको प्राकृतिक विपत्तिले घरबार, सम्पत्ति र जीवनका आधारहरू बगाइदिँदा त्यसको सबैभन्दा पीडादायी असर निर्दोष बालबालिकामा परेको छ। हिजोसम्म आमाबुबाको काखमा सुरक्षित रहेका बालबालिका आज खुला आकाशमुनि, अस्थायी आश्रयमा वा भविष्यप्रति अनिश्चित भएर बस्न बाध्य भएका दृश्यहरू हृदयविदारक छन्।
बालबालिका राष्ट्रका भविष्य हुन् भन्ने कुरा हामी सबैले सुन्दै आएका छौँ। तर भविष्यका यी कर्णधारहरू सुरक्षित, स्वस्थ र शिक्षित भए मात्र कुनै पनि राष्ट्रको भविष्य उज्ज्वल बन्न सक्छ। विपत्ति आउँदा धेरै बालबालिकाले आफ्ना आमाबुबा, दाजुभाइ, दिदीबहिनी वा अन्य प्रियजन गुमाउन सक्छन्। कतिपयले आफ्नै घर, विद्यालय र खेल्ने ठाउँ गुमाउँछन्।
हिजोसम्म सुरक्षित पारिवारिक वातावरणमा हुर्किरहेका बालबालिका अचानक खुला आकाशमुनि, अस्थायी शिविरमा वा अपरिचित वातावरणमा बस्न बाध्य हुन सक्छन्। यस्तो परिवर्तन बालबालिकाका लागि अत्यन्त पीडादायी र भयावह हुन्छ। भोटेकोशीको बाढीपछिको वर्तमान अवस्था यसको ज्वलन्त उदाहरण हो।
विपत्तिको समयमा बालबालिकामा पर्ने शारीरिक असर
विपत्तिपछि सबैभन्दा पहिले देखा पर्ने समस्या भनेको सुरक्षित बसोबास र आधारभूत आवश्यकताको अभाव हो। स्वच्छ खानेपानी, पर्याप्त खाना, न्यानो कपडा, सुरक्षित आवास र सरसफाइको अभावले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
विशेषगरी नवजात शिशु, पाँच वर्षमुनिका तथा दीर्घरोग भएका बालबालिका बढी जोखिममा हुन्छन्। बाढी र पहिरोपछिको दूषित पानीका कारण झाडापखाला, हैजा तथा अन्य संक्रमण फैलिन सक्छन्। चिसो र भीडभाडयुक्त अस्थायी शिविरमा बस्नुपर्दा निमोनिया तथा अन्य श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम पनि उत्तिकै बढ्न सक्छ।
खोप सेवा अवरुद्ध हुँदा खोपबाट बचाउन सकिने रोगको जोखिम बढ्न सक्छ। पोषणयुक्त खाना नपाउँदा कुपोषणको समस्या देखा पर्न सक्छ। विशेषगरी स्तनपान गरिरहेका शिशु तथा साना बालबालिकामा यसको प्रभाव अझ गम्भीर हुन सक्छ।
त्यसैले विपत्तिपछि बालबालिकालाई सुरक्षित खानेपानी, पर्याप्त पोषण, आवश्यक औषधि तथा स्वास्थ्य सेवा उपलब्ध गराउनु पहिलो प्राथमिकता हुनुपर्छ। नियमित खोप सेवा, स्तनपानको निरन्तरता र बिरामी बालबालिकाको समयमै उपचारमा विशेष ध्यान दिनुपर्छ।
मानसिक तथा भावनात्मक पीडा
विपत्तिको असर शरीरमा मात्र सीमित हुँदैन। बालबालिकाको मन र मस्तिष्कमा पर्ने असर अझ दीर्घकालीन हुन सक्छ। घर भत्किएको देख्नु, बाढीमा मानिस बगेको दृश्य देख्नु, परिवारका सदस्य गुमाउनु वा लामो समयसम्म असुरक्षित वातावरणमा बस्नु बालबालिकाका लागि गहिरो मानसिक आघात बन्न सक्छ।
कतिपय बालबालिका अत्यधिक डराउने, राति निदाउन नसक्ने, बारम्बार डर लाग्ने सपना देख्ने, आमाबुबाबाट छुट्टिन नचाहने वा एक्लै बस्न डराउने हुन सक्छन्। केही बालबालिकाले पहिलेभन्दा धेरै चुप लाग्ने, रिसाउने वा अन्य असामान्य व्यवहार देखाउन सक्छन्।
साना बालबालिकामा पहिले सिकेका व्यवहारमा समेत परिवर्तन देखिन सक्छ। जस्तै, फेरि ओछ्यानमा पिसाब गर्नु वा अत्यधिक रुने जस्ता व्यवहार देखा पर्न सक्छन्।
यस्तो अवस्थामा बालबालिकालाई ‘नरोऊ’ वा ‘डराउनु पर्दैन’ भनेर मात्र सम्झाउनु पर्याप्त हुँदैन। उनीहरूको भावना सुन्नुपर्छ, माया र सुरक्षा दिनुपर्छ तथा आफू सुरक्षित भएको अनुभूति गराउनुपर्छ।
अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी र समुदायका सदस्यले बालबालिकासँग धैर्यपूर्वक व्यवहार गर्नुपर्छ। आवश्यक परे मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्शको सहयोग लिनुपर्छ।
अभिभावक गुमाएका बालबालिकाको पीडा
विपत्तिको सबैभन्दा हृदयविदारक पक्षमध्ये एक हो- बालबालिकाले आफ्ना आमाबुबा गुमाउनु।
कल्पना गरौँ, एउटा बालक बाढीबाट त बच्यो, तर उसका आमाबुबा रहेनन्। ऊ जिउँदो छ, तर अब उसको भविष्य कसको जिम्मामा छ? ऊ कहाँ बस्ने? कसले खाना खुवाउने? कसले विद्यालय पठाउने? बिरामी हुँदा कसले अस्पताल लैजाने?
यस्ता बालबालिकाको जीवन अत्यन्त कठिन बन्न सक्छ। उनीहरू हिंसा, शोषण, बालश्रम तथा बेचबिखनको जोखिममा पर्न सक्छन्। त्यसैले विपत्तिपछि परिवारबाट छुट्टिएका वा अभिभावक गुमाएका बालबालिकाको पहिचान गरी उनीहरूको संरक्षण गर्नु राज्य र समाजको प्रमुख दायित्व हो।
सम्भव भएसम्म बालबालिकालाई आफ्ना नजिकका आफन्त वा सुरक्षित पारिवारिक वातावरणमा राख्नुपर्छ। बालबालिकालाई अनावश्यक रूपमा संस्थागत आश्रयमा राख्नुको सट्टा परिवार तथा समुदायमा आधारित संरक्षणलाई प्राथमिकता दिनुपर्छ।
शिक्षा गुमाउने खतरा
विपत्तिका कारण धेरै विद्यालय भवनहरू क्षतिग्रस्त हुन सक्छन्। कतिपय विद्यालय अस्थायी राहत शिविरका रूपमा प्रयोग हुन सक्छन्, जसले गर्दा बालबालिकाको पढाइ लामो समयसम्म प्रभावित हुन सक्छ।
विशेषगरी गरिब तथा विपन्न परिवारका बालबालिका विद्यालय छोडेर श्रम गर्न बाध्य हुन सक्छन्। शिक्षा केवल किताब पढ्नु मात्र होइन। विद्यालय बालबालिकाका लागि सुरक्षित स्थान, साथीभाइसँग भेटघाट गर्ने ठाउँ र सामान्य जीवनमा फर्कने माध्यम पनि हो।
त्यसैले विपत्तिपछि सकेसम्म छिटो अस्थायी सिकाइ केन्द्र सञ्चालन गर्नुपर्छ। बालबालिकालाई पुनः विद्यालयमा फर्काउने वातावरण बनाउनुपर्छ। ‘विपत्ति आयो, पढाइ रोकियो’ भन्ने अवस्था लामो समयसम्म रहनु हुँदैन।
शिक्षाको निरन्तरता बालबालिकाको मानसिक पुनर्स्थापनाका लागि पनि महत्त्वपूर्ण हुन्छ।
बालबालिकाको सुरक्षा सबैको जिम्मेवारी
विपत्तिको समयमा बालबालिकाको सुरक्षा केवल सरकारको मात्र जिम्मेवारी होइन। परिवार, समुदाय, विद्यालय, स्वास्थ्य संस्था, सामाजिक संघसंस्था र सम्पूर्ण नागरिकको साझा दायित्व हो।
राहत वितरण गर्दा बालबालिकाको विशेष आवश्यकता बुझ्नुपर्छ। शिशुका लागि आवश्यक पोषण, स्तनपानको संरक्षण, न्यानो कपडा, सुरक्षित पानी, सरसफाइ सामग्री तथा आवश्यक औषधिको व्यवस्था गर्नुपर्छ। किशोरीहरूको विशेष आवश्यकता पनि सम्बोधन गर्नुपर्छ।
विपद् प्रभावित क्षेत्रमा बालबालिकालाई एक्लै छोड्नु हुँदैन। राहत शिविरमा बालबालिकाका लागि सुरक्षित स्थानको व्यवस्था हुनुपर्छ। अपरिचित व्यक्तिबाट हुने हिंसा, शोषण तथा बेचबिखनबाट जोगाउन विशेष निगरानी आवश्यक हुन्छ।
बाल चिकित्सक र स्वास्थ्यकर्मीको भूमिका
विपत्तिको समयमा बाल चिकित्सक तथा स्वास्थ्यकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। उनीहरूले बालबालिकाको स्वास्थ्य परीक्षण, संक्रमणको रोकथाम, कुपोषणको पहिचान र उपचार, खोप सेवाको निरन्तरता तथा मानसिक स्वास्थ्यसम्बन्धी प्रारम्भिक सहयोग प्रदान गर्न सक्छन्।
विशेषगरी पाँच वर्षमुनिका बालबालिका, नवजात शिशु, दीर्घरोग भएका बालबालिका तथा अपांगता भएका बालबालिकालाई प्राथमिकतामा राख्नुपर्छ।
स्तनपानलाई निरन्तरता दिन आमाहरूलाई सहयोग गर्नुपर्छ। अनावश्यक रूपमा स्तनदूधको विकल्प वितरण गर्नुको सट्टा सुरक्षित र निरन्तर स्तनपानलाई प्रोत्साहन गर्नुपर्छ।
निष्कर्ष
विपत्ति आउँदा घर भत्किन सक्छ, सडक बग्न सक्छ, विद्यालय ध्वस्त हुन सक्छ। तर सबैभन्दा ठूलो क्षति तब हुन्छ, जब एउटा बालबालिकाको भविष्य अन्धकारमा हराउन थाल्छ।
बाढीबाट एउटा बालकलाई बचाउनु मात्र पर्याप्त छैन। उसलाई खाना, कपडा र आश्रय मात्र दिएर पनि हाम्रो दायित्व पूरा हुँदैन। उसलाई माया चाहिन्छ, सुरक्षा चाहिन्छ, शिक्षा चाहिन्छ र भविष्यप्रतिको आशा चाहिन्छ।
आमाबुबा गुमाएको बालकलाई केवल राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसर चाहिन्छ।
त्यसैले विपत्तिको समयमा हामीले सबैभन्दा पहिले सम्झनुपर्ने कुरा यही हो, बालबालिका केवल सबैभन्दा संवेदनशील समूह मात्र होइनन्, उनीहरू हाम्रो भविष्य हुन्। आज उनीहरूलाई सुरक्षित राख्न सकेनौँ भने भोलिको समाज पनि सुरक्षित हुन सक्दैन।
रोया छन् कि रोगी, चराए कि घाउ,
हे बन्धुबान्धव हो, मलम लगाऊ।
परोपकारी हुनुपर्दो रहेछ,
मरेर लानु पो कहाँ के नै छ।
(लेखक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक तथा प्रमुख बालरोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ।)