काठमाडौं– स्वास्थ्य सेवा विभागले 'सुरक्षित उपचार र निरन्तर हेरचाह, नसर्ने रोग व्यवस्थापनको बलियो आधार' भन्ने मूल नाराका साथ ‘विश्व बिरामी सुरक्षा दिवस २०२६’ मनाएको छ। तीव्र रूपमा बढिरहेका नसर्ने रोगहरूको व्यवस्थापनमा बिरामीको सुरक्षा सुनिश्चित गर्न र उपचारजन्य त्रुटिहरू न्यूनीकरण गर्न सुरक्षित चिकित्सा प्रणाली एवं निरन्तर निगरानीको अपरिहार्यतालाई विभागले जोड दिएको छ।
विभागद्वारा जारी विज्ञप्तिअनुसार संसारभर हुने कुल मृत्युको ७५ प्रतिशत र नेपालमा कुल मृत्युको ७१ प्रतिशतभन्दा बढी हिस्सा मुटुरोग, क्यान्सर, दम र मधुमेहजस्ता नसर्ने दीर्घ रोगका कारण हुने गरेको छ। बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, मानसिक तनाव, बढ्दो सहरीकरण, प्रदूषण तथा सुर्तीजन्य र मदिराको सेवन यसका मुख्य कारण रहेको जनाइएको छ।
विशेष गरी गत भाद्र १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवा तथा नुवाकोट लगायतका जिल्लाहरूमा स्वास्थ्य पूर्वाधार र सेवा प्रवाहमा गम्भीर अवरोध सिर्जना भएको सन्दर्भलाई उल्लेख गर्दै विभागले आपत्कालीन अवस्थामा पनि बिरामीको सुरक्षा र निरन्तर उपचार सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। यस्तो विषम परिस्थितिमा औषधिको निरन्तर उपलब्धता, सही निदान, सुरक्षित उपचार, संक्रमण रोकथाम र सुरक्षित प्रेषण प्रणाली सुनिश्चित गर्न सरकार लागिपरेको विज्ञप्तिमा उल्लेख छ।
स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशकद्वारा जारी विज्ञप्तिमा सम्पूर्ण स्वास्थ्यकर्मी, बिरामी, स्थानीय तह र साझेदार संस्थाहरूलाई 'सुरक्षित स्वास्थ्य सेवा, सबैको साझा जिम्मेवारी' भन्ने भावनाका साथ बिरामी सुरक्षालाई उच्च प्राथमिकतामा राख्न आह्वान गरिएको छ।