काठमाडौं- नेपाली फिजियोथेरापिस्ट सुरज भुसाल अन्तर्राष्ट्रिय ‘डिस्टिंग्विश्ड सर्भिस अवार्ड’बाट सम्मानित भएका छन्। वर्ल्ड फिजियोथेरापी एसिया वेस्टर्न प्यासिफिक रिजनको अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा उनलाई यो सम्मान प्रदान गरिएको हो।
भारतको नयाँ दिल्लीमा सेप्टेम्बर २७, २०२६ मा आयोजित एक विशेष अन्तर्राष्ट्रिय सम्मेलनमा भुसाललाई उक्त सम्मान प्रदान गरिएको हो। अन्तर्राष्ट्रिय स्तरको यस प्रतिष्ठित सम्मानले फिजियोथेरापी तथा पुनर्स्थापना सेवाको क्षेत्रमा उनले पुर्याएको समर्पण, प्रतिबद्धता, योगदान र नेतृत्वको उच्च कदर गरेको छ।
विगत १३ वर्षदेखि खेलकुद फिजियोथेरापी तथा पुनर्स्थापनाको क्षेत्रमा विभिन्न खेलाडी, खेलकुद व्यक्तित्व तथा अन्य सेवाग्राहीहरूसँग निरन्तर काम गर्दै उनले नेपालको फिजियोथेरापी पेसा र पुनर्स्थापना सेवाको विकास तथा रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।