डिमेन्सिया रोकथाम कहिलेदेखि सुरु गर्ने? ७० वर्षको उमेरमा, जब मानिसले भेटघाट बिर्सन थाल्छ? ६० वर्षमा, जब अवकाशको समय नजिकिन्छ? ५० वर्षमा, जब उच्च रक्तचाप वा मधुमेह देखिन थाल्छ? वा त्योभन्दा धेरै अगाडिदेखि?
लामो समयसम्म डिमेन्सियालाई मुख्यतः वृद्धावस्थामा हुने रोगका रूपमा हेरियो, जीवनको उत्तरार्धमा देखिने र त्यसअघि खासै केही गर्न नसकिने अवस्थाका रूपमा। तर अहिले यो बुझाइ तीव्र रूपमा बदलिँदै गएको छ। आधुनिक डिमेन्सिया अनुसन्धानले दिएको सबैभन्दा महत्वपूर्ण सन्देशमध्ये एक हो- 'मस्तिष्कको स्वास्थ्य जीवनभर निर्माण हुन्छ।'
जीवनभर निर्माण हुने मस्तिष्क स्वास्थ्य
७० वर्षको उमेरमा हाम्रो मस्तिष्कको अवस्था कस्तो हुन्छ भन्ने कुरा आंशिक रूपमा ३०, ४० वा ५० वर्षको उमेरमा हाम्रो शरीर, शिक्षा, रक्तचाप, सुनाइ, सामाजिक जीवन, मानसिक स्वास्थ्य र वातावरण कस्तो थियो भन्ने कुरासँग जोडिएको हुन्छ।
यसको अर्थ सबै प्रकारका डिमेन्सिया रोक्न सकिन्छ भन्ने होइन। उमेर अझै पनि डिमेन्सियाको सबैभन्दा महत्वपूर्ण जोखिम कारक हो। वंशाणुगत पक्षको पनि भूमिका हुन्छ। अत्यन्त स्वस्थ जीवनशैली अपनाएका व्यक्तिलाई समेत अल्जाइमर रोग हुन सक्छ। त्यसैले डिमेन्सिया भएका व्यक्तिलाई 'तपाईंले राम्रो जीवनशैली अपनाउनुभएन, त्यसैले रोग लाग्यो' भन्नु वैज्ञानिक र नैतिक दुवै दृष्टिले गलत हुन्छ।
तर यसको अर्को पक्ष निकै आशावादी छ।
सन् २०२४ को ल्यान्सेट कमिसनले डिमेन्सिया रोकथामसम्बन्धी आफ्नो प्रतिवेदनमा जीवनभर डिमेन्सियाको जोखिमसँग सम्बन्धित १४ वटा सम्भावित रूपमा परिवर्तन गर्न सकिने जोखिम कारक पहिचान गरेको छ। यी कारकहरू जनसंख्या तहमा डिमेन्सियाको करिब ४५ प्रतिशत जोखिमसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ।
यसको अर्थ व्यक्तिको व्यवहार मात्र होइन, स्वास्थ्य सेवा, शिक्षा, वातावरण र सामाजिक संरचनामा सुधार गरेर ठूलो संख्यामा डिमेन्सियाको जोखिम घटाउन वा कम्तीमा यसको सुरुआत केही वर्ष ढिलो गराउन सम्भव हुन सक्छ।
विश्वमा अहिले ५ करोड ७० लाखभन्दा बढी मानिस डिमेन्सियासँग बाँचिरहेका छन् र प्रत्येक वर्ष करिब १ करोड नयाँ केस थपिँदैछन्। त्यसैले यदि डिमेन्सियाको सुरुआत केही वर्ष मात्र पछाडि सार्न सकियो भने पनि त्यसले लाखौँ मानिसलाई थप वर्ष स्वतन्त्र जीवन बिताउने अवसर दिन सक्छ।
डिमेन्सियाका १४ परिवर्तनयोग्य जोखिम कारक
यस विश्व अल्जाइमर दिवसमा हामीले केवल 'डिमेन्सिया भएपछि कसरी उपचार गर्ने?' भन्ने प्रश्न मात्र होइन, 'भोलि आवश्यक पर्ने मस्तिष्कलाई आजदेखि कसरी सुरक्षित राख्ने?' भन्ने प्रश्न पनि सोध्नुपर्छ।
किनकि डिमेन्सिया केवल मस्तिष्कको अलग समस्या होइन। मस्तिष्क शरीरबाट पृथक छैन। यसलाई निरन्तर अक्सिजन र पोषणका लागि स्वस्थ रक्तप्रवाह आवश्यक हुन्छ। त्यसैले मुटु, मिर्गौला र आँखाका रक्तनलीलाई क्षति पुर्याउने समस्याले मस्तिष्कका रक्तनलीमा पनि प्रभाव पार्न सक्छन्।
यही कारण उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, धूमपान, मोटोपना र शारीरिक निष्क्रियता डिमेन्सियाका महत्वपूर्ण परिवर्तनयोग्य जोखिम कारकका रूपमा स्थापित भएका छन्।
सन् २०२४ को ल्यान्सेट कमिसनले जीवनभर डिमेन्सियाको जोखिमसँग सम्बन्धित १४ वटा सम्भावित रूपमा परिवर्तन गर्न सकिने जोखिम कारक पहिचान गरेको छ। ती हुन्, कम शिक्षा, सुनाइ कमजोर हुनु, उच्च एलडीएल कोलेस्ट्रोल, डिप्रेसन, टाउकोमा गम्भीर चोट, शारीरिक निष्क्रियता, धूमपान, मधुमेह, उच्च रक्तचाप, मोटोपना, अत्यधिक मदिरा सेवन, सामाजिक अलगाव, वायु प्रदूषण तथा उपचार नगरिएको दृष्टि कमजोरी।
यी कारकहरू मिलेर जनसंख्या तहमा डिमेन्सियाको करिब ४५ प्रतिशत जोखिमसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ।
यसको अर्थ रक्तचाप नियन्त्रण गर्नु केवल हृदयाघात रोक्नु होइन; मधुमेह नियन्त्रण गर्नु केवल मिर्गौला जोगाउनु होइन; र धूमपान छोड्नु केवल फोक्सो बचाउनु मात्र होइन। यी सबै कदम भविष्यको मस्तिष्क स्वास्थ्य जोगाउने लगानी पनि हुन सक्छन्।
त्यसैले ४५ वर्षको व्यक्तिलाई रक्तचाप नियन्त्रण गर्न भन्नु भनेको आउँदो वर्षको मुटु मात्र जोगाउनु होइन; सम्भवतः ७५ वर्षको उमेरमा आवश्यक पर्ने स्मरणशक्ति र सोच्ने क्षमताको संरक्षण गर्नु पनि हो।
यस अर्थमा डिमेन्सिया रोकथाम वृद्धावस्थाबाट सुरु हुँदैन। यसको सुरुआत बाल्यकालदेखि नै हुन सक्छ।
राम्रो शिक्षाले केवल रोजगारीका लागि तयार पार्दैन, बरु मस्तिष्कमा एक किसिमको कग्निटिभ रिजर्भ विकास गर्न मद्दत पुर्याउँछ। सरल भाषामा भन्नुपर्दा, लामो समयसम्म सिकाइ, पढाइ र बौद्धिक सक्रियतामा संलग्न रहेको मस्तिष्कले उमेरसँगै हुने केही परिवर्तनको सामना गर्दा पनि आफ्नो कार्यक्षमता तुलनात्मक रूपमा लामो समयसम्म जोगाइराख्न सक्छ।
त्यसैले शिक्षा केवल शिक्षा मन्त्रालयको विषय होइन; अप्रत्यक्ष रूपमा यो मस्तिष्क स्वास्थ्यसँग पनि जोडिएको विषय हो। बालबालिकालाई गुणस्तरीय शिक्षामा टिकाइराख्नुको स्वास्थ्य लाभ ५० वा ६० वर्षपछि पनि देखिन सक्छ।
तर सिकाइ विद्यालय सकिएसँगै रोकिनु हुँदैन। पढ्ने, लेख्ने, नयाँ सीप सिक्ने, नयाँ प्रविधि प्रयोग गर्ने, सामाजिक गतिविधिमा सहभागी हुने, जिज्ञासु रहने र नियमित रूपमा मस्तिष्क प्रयोग गर्ने बानी उपयोगी हुन्छ।
यसको अर्थ हरेक दिन चेस वा बाघचाल खेल्यो भने अल्जाइमर कहिल्यै हुँदैन भन्ने होइन। सन्देश सरल छ—'शरीरजस्तै मस्तिष्कले पनि सक्रियताबाट फाइदा पाउँछ।'
सुनाइ र दृष्टि पनि उत्तिकै महत्वपूर्ण
हामीले ज्येष्ठ नागरिकको सुनाइ कमजोर हुनुलाई पनि 'उमेर भयो' भनेर सामान्य मान्ने बानी बदल्नुपर्छ।
कुनै वृद्ध बुबा परिवारको कुराकानीमा कम सहभागी हुन थाल्नुभयो भने हामी उहाँ शान्त हुनुभयो भनेर मात्र बुझ्न सक्छौँ। जबकि वास्तविक कारण सुनाइ कमजोर हुनु पनि हुन सक्छ।
समूहमा कुरा बुझ्न कठिन हुँदा उहाँ सामाजिक कार्यक्रममा जान कम गर्नुहुन्छ, बोल्न कम गर्नुहुन्छ र अरू मानिस पनि उहाँसँग संवाद गर्न कम गर्छन्। यसरी सुनाइको कमजोरीबाट सुरु भएको समस्या विस्तारै सामाजिक अलगावमा बदलिन सक्छ।
सन् २०२४ को ल्यान्सेट कमिसनले सुनाइको कमजोरीलाई जनसंख्या तहमा करिब ७ प्रतिशत डिमेन्सिया केससँग सम्बन्धित हुन सक्ने महत्वपूर्ण जोखिम कारकका रूपमा प्रस्तुत गरेको छ।
नेपालमा वृद्धावस्थाको सुनाइ कमजोरीलाई स्वीकार गरेर बस्ने चलन अझै व्यापक छ। परिवारले उपचार गराउनुभन्दा ठूलो स्वरमा बोल्न थाल्छन्। तर सुनाइ सुधार्नु विलासिता होइन। यसले सञ्चार, स्वतन्त्रता, सामाजिक सहभागिता र सम्भवतः मस्तिष्क स्वास्थ्य जोगाउन मद्दत गर्छ।
त्यस्तै, दृष्टि पनि महत्वपूर्ण छ। उपचार नगरिएको दृष्टि कमजोरीलाई पनि डिमेन्सियाको सम्भावित परिवर्तनयोग्य जोखिम कारकका रूपमा पहिचान गरिएको छ।
चस्मा लगाउनु, मोतियाबिन्दुको शल्यक्रिया गर्नु वा आँखाको रोगको समयमै उपचार गर्नु केवल दृष्टि सुधार्नु मात्र होइन; यसले ज्येष्ठ नागरिकलाई सक्रिय, स्वतन्त्र र सामाजिक रूपमा संलग्न रहन सहयोग गर्छ।
शरीर सक्रिय राखौँ, मस्तिष्क पनि जोगाऔँ
जसरी सुनाइ र दृष्टि जोगाउनु मस्तिष्क स्वास्थ्यसँग जोडिएको छ, त्यसरी नै नियमित शारीरिक गतिविधि पनि अत्यन्त महत्वपूर्ण छ।
व्यायाम भन्नासाथ धेरैले तौल घटाउने कुरा सम्झन्छन्। तर मस्तिष्कले हामीलाई सक्रिय रहन अर्को कारण दिन्छ।
नियमित शारीरिक गतिविधिले मुटुको क्षमता सुधार्छ, रक्तचाप र रगतको चिनी नियन्त्रणमा सहयोग गर्छ, मांसपेशी बलियो राख्छ, लड्ने जोखिम कम गर्छ, निद्रा सुधार्छ र मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। शारीरिक निष्क्रियता डिमेन्सियाको जोखिमसँग सम्बन्धित छ।
यसका लागि महँगो जिम आवश्यक छैन। छिटो हिँड्नु, सिँढी चढ्नु, सुरक्षित ठाउँमा साइकल चलाउनु, खेतबारी वा बगैँचामा काम गर्नु, घरका सक्रिय काम गर्नु र आफ्नो क्षमताअनुसार व्यायाम गर्नु पर्याप्त हुन सक्छ।
सबैभन्दा राम्रो व्यायाम योजना सबैभन्दा जटिल योजना होइन; निरन्तर गर्न सकिने योजना नै सबैभन्दा उपयोगी योजना हो।
सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्य
विशेषगरी ज्येष्ठ नागरिकमा शरीरको सक्रियता सामाजिक र मानसिक सक्रियतासँग पनि जोडिएको हुन्छ।
शरीर कमजोर हुँदै गएपछि मानिस घरबाट बाहिर कम निस्कन्छ, साथीभाइसँग भेटघाट कम हुन्छ र दिनभरि एक्लै बस्ने समय बढ्छ। त्यसैले दिनभरि निष्क्रिय रहँदा केवल मांसपेशी कमजोर हुँदैन, व्यक्तिको संसार पनि क्रमशः सानो हुँदै जान्छ।
यही कारण सामाजिक अलगावलाई पनि मस्तिष्क स्वास्थ्यको विषयका रूपमा बुझ्नुपर्छ।
हाम्रो समाजको सामाजिक संरचना पनि बदलिँदै छ। छोराछोरी विदेश जान्छन्, वृद्ध बुबाआमा गाउँ वा सहरमा एक्लै बस्छन्, अवकाशपछि कार्यस्थलको नियमित सामाजिक सम्पर्क टुट्छ, जीवनसाथीको मृत्यु भएपछि जीवन अचानक खाली हुन्छ, र सुनाइ वा हिँडडुलको समस्या भएपछि बाहिर निस्कने अवसर घट्छ।
कुनै वृद्ध व्यक्तिसँग खानाको व्यवस्था हुन सक्छ, औषधि हुन सक्छ, सुरक्षित घर हुन सक्छ, तर दिनको अधिकांश समय बोल्ने साथी नहुन सक्छ। यस्तो अवस्था स्वस्थ वृद्धावस्थाको पूर्ण तस्वीर होइन।
एउटा फोन कल, छिमेकीसँगको हिँडाइ, साथीभाइसँगको भेटघाट, धार्मिक वा सांस्कृतिक कार्यक्रममा सहभागिता, स्वयंसेवा वा परिवारसँगको नियमित संवाद, यी सबै मस्तिष्क स्वास्थ्यका लागि अर्थपूर्ण हुन सक्छन्।
मानिस सामाजिक प्राणी हो; मस्तिष्क एक्लै विकसित हुँदैन, एक्लै काम गर्दैन र एक्लै वृद्ध पनि हुँदैन।
टाउकोको चोटदेखि वायु प्रदूषणसम्म
डिमेन्सिया रोकथामका केही उपाय अत्यन्त सरल छन्। उदाहरणका लागि, हेल्मेट लगाउनुहोस्।
टाउकोमा गम्भीर चोट भविष्यमा बढ्न सक्ने डिमेन्सिया जोखिमसँग सम्बन्धित छ। नेपालमा मोटरसाइकल दैनिक यातायातको प्रमुख साधन बनेको अवस्थामा यसको विशेष महत्व छ।
हेल्मेट केवल दुर्घटनामा ज्यान जोगाउने साधन होइन; मस्तिष्कमा चोट लाग्नबाट बचाउनुको प्रभाव दशकौँसम्म रहन सक्छ। कार्यस्थल सुरक्षा, सडक सुरक्षा र वृद्ध व्यक्तिमा लड्ने जोखिम कम गर्नु पनि यही कारणले महत्वपूर्ण हुन्छ।
तर डिमेन्सिया रोकथामलाई केवल व्यक्तिको जिम्मेवारी बनाउनु पनि गलत हुन्छ।
यसको एउटा राम्रो उदाहरण वायु प्रदूषण हो। कसैले 'आज म प्रदूषित हावा सास फेर्दिनँ' भनेर व्यक्तिगत निर्णय गरेर समस्या समाधान गर्न सक्दैन।
वायु प्रदूषणलाई अहिले डिमेन्सियाको सम्भावित परिवर्तनयोग्य जोखिम कारकका रूपमा स्वीकार गरिएको छ। यो नेपालका लागि विशेष महत्वको विषय हो, जहाँ तीव्र शहरीकरण, सवारीसाधनको धुवाँ, धुलो, निर्माण गतिविधि र कमजोर वायु गुणस्तर दैनिक जीवनकै हिस्सा बनेका छन्।
यदि वायु प्रदूषणले डिमेन्सियाको जोखिम बढाउँछ भने मस्तिष्क स्वास्थ्य यातायात नीति, शहरी योजना, स्वच्छ ऊर्जा र वातावरणीय नियमनसँग पनि जोडिन्छ।
यदि शिक्षा महत्वपूर्ण छ भने डिमेन्सिया रोकथाम शिक्षा नीतिसँग जोडिन्छ। यदि सामाजिक अलगाव महत्वपूर्ण छ भने उमेरमैत्री समुदाय, खुला सार्वजनिक स्थान र सामाजिक सहभागिताका अवसरसँग जोडिन्छ।
यदि उच्च रक्तचाप र मधुमेह महत्वपूर्ण छन् भने पहुँचयोग्य प्राथमिक स्वास्थ्य सेवा, नियमित जाँच र आवश्यक औषधिमा पहुँच पनि डिमेन्सिया रोकथामकै हिस्सा हुन्।
त्यसैले मानिसलाई केवल 'स्वस्थ जीवनशैली अपनाउनुहोस्' भनेर जिम्मेवारी दिएर राज्य मुक्त हुन सक्दैन; स्वस्थ विकल्प रोज्न सकिने वातावरण पनि निर्माण गर्नुपर्छ।
‘ब्रेन बुस्टर’ होइन, प्रमाणित उपाय
डिमेन्सिया रोकथामको चर्चा बढेपछि अर्को समस्या पनि देखा पर्छ, 'चमत्कारी औषधि' र 'ब्रेन बुस्टर' को बजार।
सामाजिक सञ्जालको विस्तारका कारण कुनै भिटामिन, कुनै सप्लिमेन्ट, कुनै जडीबुटी, कुनै एन्टिअक्सिडेन्ट वा महँगो उत्पादनले स्मरणशक्ति जोगाइदिन्छ भन्ने दाबी सजिलै फैलिन्छ।
तर वर्तमान प्रमाणले डिमेन्सिया रोकथाम एउटा क्याप्सुलबाट हुने देखाउँदैन। विश्व स्वास्थ्य संगठनका हालका मार्गदर्शनले प्रमाणित कमी नभएका व्यक्तिले केवल डिमेन्सिया रोकथामका लागि भिटामिन बी, भिटामिन ई, ओमेगा–३ वा मल्टिभिटामिन/मिनरल सप्लिमेन्ट सेवन गर्नुपर्छ भन्ने पर्याप्त प्रमाण नभएको स्पष्ट गरेको छ।
महँगो 'मेमोरी सप्लिमेन्ट' भन्दा रक्तचाप नियन्त्रण गर्नु, धूमपान छोड्नु, नियमित व्यायाम गर्नु, मधुमेह र कोलेस्ट्रोल व्यवस्थापन गर्नु, हानिकारक मदिरा सेवन कम गर्नु, सुनाइ र दृष्टिको उपचार गर्नु तथा सामाजिक रूपमा सक्रिय रहनुका पक्षमा धेरै बलियो प्रमाण उपलब्ध छन्।
मस्तिष्कलाई चमत्कारी उत्पादन चाहिँदैन; मस्तिष्कलाई दशकौँसम्म राम्रो स्वास्थ्य चाहिन्छ।
४० वर्षदेखि सुरु गर्ने मस्तिष्क सुरक्षा
यसैले मस्तिष्क स्वास्थ्यबारे ७० वर्षमा होइन, ४० वर्ष वा त्यसभन्दा अगाडिदेखि नै सोच्न सुरु गर्नुपर्छ।
४० वर्षको उमेरमा आफ्नो रक्तचाप थाहा पाउनुहोस्। रगतको चिनी र कोलेस्ट्रोल जाँच्नुहोस्। धूमपान गर्नुहुन्छ भने छोड्नुहोस्। नियमित शारीरिक गतिविधि गर्नुहोस्। स्वस्थ तौल कायम राख्नुहोस्। सुनाइ र दृष्टि जोगाउनुहोस्। टाउकोमा चोट लाग्नबाट बच्नुहोस्। डिप्रेसनको उपचार गर्नुहोस्। सामाजिक तथा बौद्धिक रूपमा सक्रिय रहनुहोस्।
अनि यी काम ५०, ६०, ७० वर्ष र त्यसपछि पनि जारी राख्नुहोस्।
सन् २०२४ को ल्यान्सेट कमिसनले मध्यम उमेरमा हुने उच्च एलडीएल कोलेस्ट्रोललाई समेत नयाँ महत्वपूर्ण जोखिम कारकका रूपमा समावेश गरेको छ।
यसको अर्थ मस्तिष्क स्वास्थ्यको चर्चा जेरियाट्रिक वा न्युरोलोजी क्लिनिकमा मात्र सीमित हुनु हुँदैन। उच्च रक्तचाप, मधुमेह, आँखा, कान, मानसिक स्वास्थ्य र प्राथमिक स्वास्थ्य सेवामा पनि मस्तिष्क स्वास्थ्यको चर्चा हुनुपर्छ।
तर यहाँ एउटा महत्वपूर्ण सावधानी आवश्यक छ।
हामीले डिमेन्सियाको जोखिमको ठूलो हिस्सा परिवर्तनयोग्य कारकसँग सम्बन्धित हुन सक्छ भनेका आधारमा डिमेन्सिया भएका व्यक्तिलाई दोष दिनु हुँदैन।
'डिमेन्सिया हुनु भनेको आफ्नो स्वास्थ्य राम्रोसँग जोगाउन नसक्नु हो' भन्ने निष्कर्ष वैज्ञानिक रूपमा गलत र नैतिक रूपमा अस्वीकार्य हुन्छ।
जोखिम भनेको सम्भावना हो, नियति होइन।
कसैले नियमित व्यायाम गर्न सक्छ, धूमपान नगर्न सक्छ, रक्तचाप राम्रो नियन्त्रणमा राख्न सक्छ, सामाजिक रूपमा सक्रिय रहन सक्छ र त्यसपछि पनि अल्जाइमर रोग हुन सक्छ। अर्कोतर्फ, धेरै जोखिम कारक भएका व्यक्तिमा डिमेन्सिया नहुन पनि सक्छ।
उमेर, वंशाणु र अझै पूर्ण रूपमा नबुझिएका जैविक प्रक्रियाको भूमिका महत्वपूर्ण छ।
त्यसैले डिमेन्सिया रोकथामको उद्देश्य व्यक्तिलाई दोष दिनु होइन, सम्पूर्ण जनसंख्यामा जोखिमको सम्भावना स्वस्थ दिशातर्फ सार्नु हो।
यदि डिमेन्सियाको सुरुआत केही वर्ष मात्रै ढिलो गर्न सकियो भने पनि यसको अर्थ एक व्यक्तिका लागि थप केही वर्ष स्वतन्त्र जीवन, परिवारका लागि गम्भीर परनिर्भरताअघि थप समय, र समाजका लागि एकै समयमा डिमेन्सियासँग बाँच्ने मानिसको संख्यामा महत्वपूर्ण कमी हुन सक्छ।
नेपालका लागि साझा जिम्मेवारी
नेपालका लागि मस्तिष्क स्वास्थ्यको सन्देश त्यसैले स्पष्ट छ।
व्यक्तिले सिकिरहनुपर्छ, सक्रिय रहनुपर्छ, धूमपानबाट बच्नुपर्छ, हानिकारक मदिरा सेवन कम गर्नुपर्छ, रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रण गर्नुपर्छ, सुनाइ र दृष्टि जोगाउनुपर्छ, डिप्रेसनको उपचार गर्नुपर्छ, टाउको जोगाउनुपर्छ र सामाजिक रूपमा जोडिइरहनुपर्छ।
परिवारले ज्येष्ठ नागरिकलाई निष्क्रिय वा अनावश्यक रूपमा परनिर्भर बनाउनुको सट्टा उनीहरूको स्वतन्त्रता, सामाजिक सहभागिता र निर्णय क्षमतालाई सकेसम्म लामो समय जोगाउन सहयोग गर्नुपर्छ।
स्वास्थ्यकर्मीले पनि रोगलाई अलग-अलग टुक्रामा मात्र नहेरी जीवनभरको स्वास्थ्यको दृष्टिले हेर्नुपर्छ।
४५ वर्षको व्यक्तिको उच्च रक्तचाप उपचार गर्दा, ५० वर्षको मधुमेह नियन्त्रण गर्दा वा ६५ वर्षको सुनाइ समस्या समाधान गर्दा हामी सम्भवतः भविष्यको मस्तिष्क पनि जोगाइरहेका हुन्छौँ।
सरकारका लागि पनि सन्देश उत्तिकै स्पष्ट छ।
गुणस्तरीय शिक्षा, स्वच्छ हावा, सडक सुरक्षा, सुर्तीजन्य पदार्थ नियन्त्रण, स्वस्थ सहर, पहुँचयोग्य प्राथमिक स्वास्थ्य सेवा, नसर्ने रोगको रोकथाम, सुनाइ तथा दृष्टि सेवा र उमेरमैत्री समुदायमा गरिएको लगानी मस्तिष्क स्वास्थ्यमा गरिएको लगानी हो।
यी कार्यक्रमको नाम 'अल्जाइमर कार्यक्रम' नहुन पनि सक्छ, तर यी सबै डिमेन्सिया रोकथाम एवं मस्तिष्क स्वास्थ्यका महत्वपूर्ण हिस्सा हुन्।
अन्त्यमा
सेप्टेम्बर २१ मा विश्व अल्जाइमर दिवस मनाउँदा डिमेन्सियासँग अहिले बाँचिरहेका व्यक्तिहरू र उनीहरूको हेरचाह गरिरहेका परिवारबारे हामीले अवश्य कुरा गर्नुपर्छ।
तर हामीले ३० वर्षका मानिससँग पनि कुरा गर्नुपर्छ, ४० वर्षका मानिससँग पनि, ५० वर्षका मानिससँग पनि।
किनकि ७० वर्षको मस्तिष्क अचानक नयाँ भएर जन्मिँदैन। त्यो हामीले जीवनभर बोकेको यही मस्तिष्क हो।
हामी आफ्नो उमेर बदल्न सक्दैनौँ। हामीले पाएका सबै जिन छान्न सक्दैनौँ। तर व्यक्तिगत र सामूहिक रूपमा धेरै कुरा परिवर्तन गर्न सक्छौँ।
त्यसैले आधुनिक डिमेन्सिया विज्ञानले दिएको सबैभन्दा आशावादी सन्देश यो होइन कि अल्जाइमर रोग अब पूर्ण रूपमा रोक्न सकिन्छ। अहिले पनि सकिँदैन।
तर यसले दिएको अझ यथार्थपरक र शक्तिशाली सन्देश यस्तो छ:
डिमेन्सिया वृद्धावस्थाको अनिवार्य परिणाम होइन।
जीवनभर हामीले अपनाउने व्यवहार, स्वास्थ्यसम्बन्धी निर्णय र सामाजिक नीतिले यसको जोखिम कम गर्न र मस्तिष्क स्वास्थ्य जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
मस्तिष्क जोगाउने सबैभन्दा राम्रो समय सायद वर्षौँअघि थियो। तर सुरु गर्ने अर्को सबैभन्दा राम्रो समय आज हो।
(डा कंडेल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ज्येष्ठ नागरिक स्वास्थ्य विशेषज्ञ, एवं जेरियाट्रिक सोसाइटी अफ नेपाल कार्यकारी सदस्य हुन्)