काठमाडौं- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमालेख नवीकरण तथा केवाईसी विवरण अद्यावधिक गर्न सकिने विद्युतीय प्रणाली एचआईबी ई-पोर्टल औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
बोर्डका अनुसार आज (२०८३ साउन २९) देखि https://eportal.hib.gov.np मार्फत स्वास्थ्य बीमासम्बन्धी विभिन्न सेवा अनलाइनबाटै लिन सकिने भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा मन्त्री निशा मेहताको उपस्थितिमा साउन २२ गते प्रणालीको अन्तिम तयारी तथा कार्यान्वयनसम्बन्धी काम सम्पन्न गरिएको बोर्डले जनाएको छ। बोर्डको अध्यक्षका रुपमा केही समयअघि मात्रै डा सुवास प्याकुरेल नियुक्त भएका हुन्।
‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरण सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम सञ्चालनमा ल्याइएको प्रणाली राष्ट्रिय परिचयपत्र (एनआईडी)सँग अन्तरआवद्ध गरिएको छ। एनआईडी नभएका परिवारका सदस्यले भने म्यानुअल रूपमा डिजिटल विवरण पेश गर्न सक्ने व्यवस्था गरिएको छ।
बोर्डका अनुसार अब स्वास्थ्य बीमाको प्रिमियम इसेवा, खल्ती र कनेक्टआइपीएस मार्फत भुक्तानी गर्न सकिनेछ। व्यक्ति स्वयं वा दर्ता सहयोगीमार्फत परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध गर्न तथा बीमालेख नवीकरण गर्न सकिनेछ।
यसअघि नै स्वास्थ्य बीमा गरिसकेका परिवारले परिवारमूलीको स्वास्थ्य बीमा नम्बर प्रयोग गरी प्रणालीमा जोडिएर केवाईसी अपडेट तथा नवीकरण गर्न सक्नेछन्। कार्यालय वा संगठित क्षेत्रबाट एकैपटक धेरै परिवारको बल्क इनरोलमेन्ट र ब्लक रिन्युल गर्न सकिने व्यवस्था पनि गरिएको छ।
यस्तै, जिल्ला तथा प्रदेश तहबाट प्रमाणीकरण तथा स्वीकृतिको व्यवस्था गरिएको र स्वीकृति भएपछि डिजिटल स्वास्थ्य बीमा कार्ड जारी हुने बोर्डले जनाएको छ।
बोर्डका अनुसार अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि स्वास्थ्य बीमामा आबद्धता र नवीकरणको प्रक्रिया सहज हुनुका साथै सेवाग्राहीको समय बचत र सेवा प्रवाहमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ। केवाईसी अपडेट मार्फत् बीमितका पुराना विवरण अद्यावधिक गर्नुका साथै तथ्याङ्कको शुद्धता बढाउनसमेत सहयोग पुग्ने बोर्डको विश्वास छ।
नेपाल सरकारले अघि सारेको डिजिटल सुशासनको अवधारणाअनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई क्रमशः पूर्ण रूपमा डिजिटल बनाउने प्रक्रियामा एचआईबी ई-पोर्टल महत्वपूर्ण कदम हुने बोर्डका प्रवक्ता डा. पवन कुमार साहले बताएका छन्।