काठमाडौं- ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ सेन्टरमा नाबालिगको डिम्ब निकालिएको घटनामा आरोपित प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्माले प्रहरीसमक्ष बयान दिएकी छिन्। उनले प्रहरीसँगको बयानमा आफ्नो बचाउ गर्दै आफूलाई किशोरी नाबालिग भएको विषयमा कुनै जानकारी नभएको दाबी गरेकी छन्।
वैदेशिक भ्रमणबाट फर्किएलगत्तै जिल्ला प्रहरी परिसर, ललितपुर र सरकारी वकिलको कार्यालयमा आफैँ उपस्थित भएर बयान दिएकी डा. शर्माले उपचार र प्रक्रियागत पाटोमा आफ्नो तर्फबाट कुनै गलत नियत नरहेको जिकिर गरेकी हुन्।
प्रहरी स्रोतका अनुसार बयानका क्रममा डा. शर्माले अस्पतालमा आउने बिरामी वा डिम्ब दाताको उमेर, परिचयपत्र र कानुनी कागजात प्रमाणीकरण गर्ने काम प्रशासनिक कर्मचारी (फ्रन्ट डेस्क स्टाफ) को भएको बताएकी छन्। 'उमेर लगायतका कानुनी विषय हेर्ने जिम्मेवारी अरू स्टाफको हो, डाक्टरको काम विशुद्ध चिकित्सकीय परीक्षण र उपचार गर्नु मात्र हो,' बयानमा उनको भनाइ उद्धृत गर्दै अनुसन्धान अधिकृतले भने, 'कागजातमा उमेर पुगेको देखिएपछि नै मैले प्रक्रिया अगाडि बढाएकी हुँ, उनी नाबालिग हुन् भन्ने मलाई थाहै थिएन।'
यस्तै, अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको बिचौलिया भनिएकी २१ वर्षीया राधिका गोतामेसँगको बैंकिङ कारोबारबारे पनि डा. शर्माले स्पष्टीकरण दिएकी छन्। डा. शर्माले गोतामेलाई पटक-पटक ५०-५० हजार रुपैयाँ पठाएको देखिएको विषयमा बोल्दै उनले आईभीएफ प्रक्रियामा दातालाई दिइने यातायात, पौष्टिक आहार र औषधोपचार खर्चबापत पारदर्शी रूपमा बैंकिङ च्यानलबाटै रकम पठाइएको दाबी गरेकी छन्। यदि गैरकानुनी काम गर्ने नियत हुन्थ्यो भने बैंकबाट कारोबार नगरी नगद लेनदेन गरिने तर्क डाक्टर पक्षको छ।
यसअघि प्रहरीले बोलाउँदा अनुपस्थित हुनुको कारणबारे खुलाउँदै डा. शर्माले आफू पूर्वपेसागत कार्यक्रमका सिलसिलामा फिलिपिन्स गएकाले समयमै आउन नसकेको र स्वदेश फर्किएलगत्तै अनुसन्धानमा सहयोग गर्न आफैँ उपस्थित भएको बताएकी छन्। कानुनी रूपमा अदालतबाट पक्राउ पुर्जी जारी नभएको र डाक्टर स्वयं उपस्थित भएर अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएपछि सरकारी वकिलको कार्यालयले उनलाई हाजिर जमानतमा छाडेको छ।
जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार डा. शर्मा र गोतामे दुवै हाजिर जमानतमा रिहा भए पनि मानव अंग बेचबिखनसँग सम्बन्धित कसुरमा अनुसन्धान भने निरन्तर जारी छ। प्रहरीले अस्पतालका कागजात, डिजिटल प्रमाण र प्राविधिक टोलीको सहयोगमा थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।